धरानः पछिल्लो समयमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आन्दोलनले यहाँको स्वास्थ्य उपचार र शैक्षिक कार्यक्रम अलपत्र परेको भन्दैं सुनसरी जिल्लाबाट निर्वाचित नेकपा एमाले सम्बद्ध प्रदेशसभा सदस्यहरुले कोशी प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । 

आइतबार मुख्यमन्त्री केदार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउदैं यहाँ भएको आन्तरिक समस्या सुल्झाउन संघीय सरकार र पदाधिकारीसँग आवश्यक समन्वय र सहजिकरण गर्न आग्रह गरेका हुन । 

स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्च शिक्षा अध्ययन अध्यापन अनुसन्धान तथा स्वास्थ्य उपाचारको लागि धेरै महत्त्वपूर्ण संस्था हुँदाहुँदै पनि सो संस्था विभिन्न कारणले क्रमश धरासायी बन्दै गईरहेकोप्रति उनीहरुले प्रदेश सरकारलाई गम्भीर बन्न सुझाएका हुन । 

'केही महिना यता सो संस्थाका चिकित्सक तथा कर्मचारीले स्वाभाविक रुपमा हुनुपर्ने आ(आफ्नो पद तहको बढुवा तथा स्तरोन्नतीको माग राखी आन्दोलन गरीरहेको कारण विध्यार्थीको पढाइ तथा नागरीकको उपाचार लगायतका सेवा प्राय ठप्प भैरहेको कारण ठूलो समस्या उत्पन्न भएको छ ।'- 'ध्यानाकर्षण पत्रमा भनिएको छ तपाई यस प्रदेशको मुख्यमन्त्री तथा स्वास्थ्यमन्त्री समेत भएकाले सम्बन्धित प्रतिष्ठानका पदाधिकरी र संघीय सरकारसँग आवश्यक समन्वय र सहजीकरण गरी समस्याको तत्काल निराकरण गर्न अति आवश्यक भएकाले हामि सुनसरी जिल्लाका तत्काल उपलब्ध प्रदेश सभा सदस्यहरुले यो ध्यानाकर्षण माननीय मुख्यमन्त्रीज्यू समक्ष प्रस्तुत गरेका छौं ।'

ध्यानाकर्षण बुझाउन प्रदेश सभा सदस्यहरु विजयकुमार राई, रमेश कुमार बस्नेत, रेवतीरमण भण्डारी, रामप्रसाद महतो, रोहितबहादुर कार्की, रामदेव यादव, मीना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।  प्रतिष्ठानमा लामो समयदेखि आन्तरिक बढुवा नभए पछि चिकित्सक, कर्मचारी र शिक्षकहरुले आन्दोलन गर्दा यहाँको शैक्षिक कार्यक्रम, स्वास्थ्य उपचार सेवा प्रभावित हुदैं आएको छ । यहाँको समस्या सुल्झाउन संघीय सरकार जिम्मेवार नहुदा समस्या झनझन बढ्दैं गएको छ ।