धरानः धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्राडा प्रह्लाद कार्कीलाई कार्यकक्षमै मोसो दल्न  खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीन राज भण्डारीले भने, ‘मंगलबार दिउँसो कामु उपकुलपति कार्कीलाई कार्यालय परिसरमा  मोसो दल्ने प्रयास गर्ने ३ जनालाई पक्राउ गरिएको छ ।’

पक्राउ पर्नेहरूमा मोहन वैद्य किरण नेतृत्वको भातृ संगठन निकट भीम बहादुर सार्की, शेरबहादुर कटुवाल, खेम थापा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

उनीहरुले उपकुलपतिको कार्यकक्षमा प्रबेश गरेर मोविल दल्ने प्रयास गरेको बताइएको छ । सुरक्षा गार्ड र प्रहरीले उनीहरुलाई रोकेका थिए । प्रहरीले नियन्त्रणमा लिए पछि नारावाजी गदैं प्रहरीको भ्यानमा चढेका छन् । 

दिउसो १ बजे उपकुलपतिको कार्यकक्षमा प्रवेश गरेका तीन मध्यले एक जनाले मोविल प्रहार गर्ने प्रयास गरेको र त्यहाँ सुरक्षाका लागि खटिएका प्रहरीले रोकेको सुनसरी प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए । 

क्रान्तिकारी युवा संगठनले अध्यक्ष हरिस भट्टले फेसबुक स्ट्याटसमा ‘प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएको, कर्मचारीहरूको बढुवा रोकेको, औषधि, मेशिन खरिद लगायतका खरिद प्रक्रियामा करोडौँ अनियमितता गरेको, निर्दोष कर्मचारीलाई षड्यन्त्र पूर्वक झुटा मुद्दा लगाएकाले   मोसो दलेको’ भनेर लेखेका छन । 

प्रतिष्ठानमा केही समययता शिक्षक तथा कर्मचारीहरूले बढुवा माग गर्दै आन्दोलन गरिरहेका छन्। उनीहरूले कामु उपकुलपति कार्की आफ्नो माग पूरा गराउन बाधक बनेको आरोप लगाउदैं आएका छन् । बाहिर आन्दोलन भइरहेको बेला भित्र मोसो दल्ने प्रयास भएको हो । 

घटनाबारे शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले सयुक्त विज्ञप्ति जारी गरि भत्सर्ना गरेको छ । आन्दोलनसँग असम्बन्धित व्यक्तिहरुबाट भएको घटनाप्रति गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।