काठमाडौंः फर्जी कागजातका आधारमा नेपाली युवालाई भिजिट भिसामा विदेश पठाउने धन्दामा अध्यागमन कार्यालयकै कर्मचारी संलग्न रहेको सूचनापछि प्रहरी उच्च निगरानीमा थियो । यही क्रममा कार्यालयका शाखा अधिकृत नरवीर खड्का मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुटुक्क बाहिरिए । गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनलाई पछ्यायो । ३८ वर्षीय खड्का सिनामंगलस्थित सेकुवा कर्नरमा छिरे । जहाँ उनलाई कुरिरहेका थिए, इन होलिडे ट्राभलका कर्मचारी पदम लामा । दुईबीच केहीबेर गफ चल्यो । खाजा खाए । यही क्रममा लामाले झोलाबाट खामबन्दी पोका झिके र खड्कालाई दिए । त्यसपछि लामा बिदा भए । 

केही क्षणपछि खड्का पनि कर्नरबाट बाहिरिए । उनी कार्यालयतर्फ अघि बढ्दै थिए, पछ्याइरहेको प्रहरीले उनलाई पक्राउ गर्‍यो । झस्किएका खड्काले पोका हत्तपत्त च्याते । र, खामभित्र रहेको रकम लुकाउन खोजे । खल्तीमा अरू पनि कागजात थिए । झिकेर धमाधम चपाउन थाले । खड्का प्रमाण नष्ट गर्नतर्फ उद्यत देखिएपछि प्रहरीले कागजात र खामभित्रको रकम नियन्त्रण गर्न खोज्यो । तर, उनले बलियोसँग समातिरहे । यही क्रममा केही रकम च्यातियो । सडकमै गतिविधि अस्वाभाविक देखिएपछि प्रहरीले उनलाई कार्यालय लिएर गयो । र, खामभित्र रहेको रकम गणना गर्दा दुई लाख रुपैयाँ रहेको खुल्यो । प्रहरीका अनुसार उक्त रकम फर्जी कागजातका आधारमा नेपाली युवालाई विदेश पठाउन सघाएबापत लिएको घुस थियो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले फर्जी कागजातका आधारमा नेपाली युवालाई विदेश पठाउन सघाउने अध्यागमन कार्यालयका अधिकृत खड्का दुई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेको जानकारी दिए । ‘फर्जी कागजातका आधारमा नेपाली युवालाई विदेश पठाउने धन्दामा संलग्नविरुद्ध प्रहरीले अप्रेसन चलाइरहेको थियो । यही क्रममा अध्यागमनका कर्मचारी पनि संलग्न रहेको सूचनापछि प्रहरी निगरानीमा थियो । मंगलबार अध्यागमनका कर्मचारीको गतिविधि शंकास्पद देखियो । पछ्याइरहेको प्रहरीले दुई लाख रुपैयाँ घुससहित उनलाई रंगेहात पक्राउ गर्‍यो,’ उनले भने । खड्काले इन होलिडे ट्राभलबाट मात्रै यसअघि पटक–पटक गरी चार लाख रुपैयाँ बुझेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनलाई ट्राभलका सञ्चालक सरोज यादवले उक्त रकम उपलब्ध गराएका थिए । मंगलबार पनि उनैले लामामार्फत दुई लाख रुपैयाँ पठाइदिएका थिए । 

फर्जी कागजातका आधारमा नेपाली युवालाई विदेश पठाउन सघाउने धन्दामा नेपाल वायुसेवा निगमका कर्मचारी पनि संलग्न रहेको खुलेको छ । धन्दामा संलग्न रहेको पाइएपछि प्रहरीले निगमका अधिकृत ४२ वर्षीय होमनाथ पोखरेल र सुब्बा अरवीन्द्र यादवलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पोखरेलले रोलेक्स ट्राभलका कर्मचारी सञ्जय तामाङ र राजकिशोर साहबाट १८ लाख रुपैयाँ घुस बुझेका थिए । उक्त रकम रोलेक्सका सञ्चालक देवराज खनालले उपलब्ध गराएका थिए ।निगमका सुब्बा यादवले अन्ट्राट्रिप ट्राभलका सञ्चालक मनुराजचौधरीबाट १२ लाख रुपैयाँ घुस बुझेका थिए । अनुसन्धानमा संलग्न कार्यालयका डिएसपी गोविन्द पन्थीले निगमका अधिकृत पोखरेलले १८ लाख र सुब्बा यादवले १२ लाख रुपैयाँ घुस बुझेको अनुसन्धानबाट देखिने बताए । ‘फर्जी कागजात बनाएर नेपाली युवालाई भिजिट भिसामा विदेश पठाउने धन्दामा नेपाल वायुसेवा निगमका कर्मचारी पनि संलग्न रहेको सूचनापछि प्रहरी निगरानीमा थियो । यही क्रममा अधिकृत पोखरेल र सुब्बा यादव पक्राउ परे । उनीहरूले ट्राभल एजेन्टसँग घुसबापतको रकम बुझेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।

आवश्यक सबै कागजात ट्राभल एजेन्सीले नै बनाइदिन्छन्

ट्राभल एजेन्सीले विदेश जान चाहने युवाको खोजी गर्थ्यो । सम्पर्कमा आएका युवाको नक्कली भिसा, नक्कली प्रहरी रिपोर्ट, १२ कक्षा पास गरेको नक्कली शैक्षिक प्रमाणपत्र, नक्कली बैंक स्टेटमेन्ट आफैँ बनाइदिन्थ्यो । यसका लागि उनीहरूले कारखाना नै खोलेका थिए । कागजात तयारपछि उनीहरूले युवालाई उपलब्ध गराइदिन्थे । उनीहरूलाई विमानको टिकट दिइन्थ्यो । र, उनीहरूको नामावली विमानस्थलमा कार्यरत सम्बन्धित एयरलाइन्स र अध्यागमन कार्यालयको कर्मचारीलाई उपलब्ध गराइदिन्थे ।

कागजातसहित टिकट लिएर युवा सम्बन्धित एयरलाइन्सको चेकिङ प्वाइन्टमा पुग्थे । कर्मचारीलाई कागजात देखाउँथे । कर्मचारीले युवाको नामावलीसँगै रहेको सूचीमा भए–नभएको रुजु गर्थे । र, सूचीमा नामावली भएको युवालाई सजिलै पास दिन्थे । त्यसपछि युवाहरू अध्यागमको चेकिङ कक्ष पुग्थे । त्यहाँ पनि कागजात पेस गर्थे । चेकिङमा रहेका कर्मचारीले कागजात परीक्षण गर्थे । कागजातमा कैफियत देखिएको युवाको नामावलीसँगै रहेको सूचमा रहे–नरहेको परीक्षण गर्थे । र, सूचीमा नामावली रहेका युवालाई सजिलै विदेश भिजिटको अनुमति दिन्थे । 

प्रहरीका अनुसार यसका लागि ट्राभल एजेन्टले प्रतियुवा दुई लाख रुपैयाँ असुल्ने गरेका छन् । त्यसमध्ये अध्यागमका कर्मचारीलाई प्रतियुवा ४० देखि ५५ हजार रुपैयाँ बुझाउँथे । एयरलाइन्सका कर्मचारीले प्रतियुवा १० हजारदेखि १५ हजार रुपैयाँ बुझाउँथे । विमानस्थलस्थित कार्यरत प्रहरीलाई भने उनीहरूले प्रतिव्यक्ति १० हजार रुपैयाँ बुझाउँथे । यसरी सेटिङबाट प्रत्येक दिन पाँचवटा एयरलाइन्सबाट कम्तीमा दुई सय ५० युवा फर्जी कागजातमा विदेश जाने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार तस्कर समूहले विमानस्थलमा ‘सेटिङ’का लागि मात्रै प्रतिदिन दुई करोड रुपैयाँ खर्च गर्दै आएका थिए ।

‘सेटिङबापत दैनिक विमानस्थलका कर्मचारीका लागि मात्रै दुई करोड रुपैयाँ खर्च हुने गरेको देखिएको छ । यसका लागि अध्यागमनका कर्मचारीले कम्तीमा प्रतियुवा ४० हजारदेखि ५५ हजार र एयरलाइन्सका कर्मचारीले १० हजारदेखि १५ हजार रुपैयाँ बुझ्दै आएको देखिन्छ,’ अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रेग्मीले भने । प्रहरीका अनुसार यस धन्दामा विशेषगरी नेपाल वायुसेवा निगमसहित हिमालयन एयरलाइन्स, अलजजिरा, फ्लाई दुबई र एयर अरबियाका कर्मचारी संलग्न रहेको अनुसन्धानबाट देखिएको छ ।  

तस्करीमा संलग्न ३२ पक्राउ 

प्रहरीले फर्जी कागजात बनाई भिजिट भिसामा मानव तस्करी गर्ने धन्दामा संलग्न ३२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अध्यागमनको शाखा अधिकृत खड्का, वायुसेवा निगमका अधिकृत पोखरेल र सुब्बा यादवसहित मनुराज चौधरी, रामप्रसाद भण्डारी, दिनेश ज्ञवाली, सरोजकुमार यादव, देवराज खनाल, गणेश पाण्डे, सञ्जय तामाङ, राजकिशोर साह, रविन अर्याल छन् । त्यसबाहेक साइरस विशंखे, अजित फेवानी, विपिन ढकाल, जयराम श्रेष्ठ, रमेश भनिने भक्तबहादुर थापा, दीपक केसी, बलबहादुर रावत, भक्त विष्ट, अनिश अमात्य, सागर चापागाईँ, पशुपति मैनाली, गोपाल रिजाल, आशिष श्रेष्ठ, जीवन तामाङ, नारायणमान गुरुङ, मनीष खड्का, ज्ञानेन्द्र खड्का, गीता शाह, अरुण दहाल, नवीन अर्याललाई पनि प्रहरीले पक्राउ गरेको छ । जसमध्ये आठजना धरौटीमा छाडिएका छन् । बाँकीविरुद्ध अनुसन्धान जारी छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ ।