इटहरीः राजस्व रकम हिनामिना मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका तत्कालिन प्रमुख नयराज नेपाल सहित पाँच जना पुर्वकर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्यालय प्रमुखसँगै तत्कालिन कार्यालय लोखापाल मणिराज दाहाल,  कुमारबहादुर कटुवाल, टिकाराम अधिकारी र देवराज नेपाललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसी रन्जन कुमार दाहालले जानकारी दिए । विशेष अदालत काठमाण्डौले २०७९ चैत ८ गते उनीहरुलाई भ्रष्टाचार (राजश्व रकम हिनामिना) कसूरमा दोषी ठहर गरि पक्राउ गर्न आदेश गरेको थियो ।

अदालतले कार्यालय प्रमुख नेपालललाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ जरिवाना, दाहाललाई ७ बर्ष ११महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ जरिवानाको फैसला सुनाएको थियो । यस्तै,  कटुवालललाई ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८१२ जरिवाना, अधिकारीलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रुपैयाँ जरिवाना र देवराज नेपाललाई ८ बर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

पक्राउ परेकाहरुबाट ३९ वर्ष ५ महिना २३ दिन कैद र ६८ करोड ३२ लाख २२ हजार ३०८ रुपैयाँ असुल गर्न बाँकी थियो । यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीले आर्थिक वर्ष २०६९÷०७० र २०७०÷०७१ मा भएको ८ करोड ९६ लाख १७ हजार ६२ रुपैयाँ राजस्व हिनामिना र आ।व। २०७१÷०७२, २०७२÷०७३ र २०७३÷०७४ फागुन मसान्तसम्ममा भएको ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ राजस्व हिनामिनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई मुद्दा विशेष अदालतमा दायर गरेको थियो ।

राजस्व रकम हिनामिना मुद्दामा यातायात व्यवस्था कार्यालय सवारी, कोशीका चार जना उपसचिवसहित ११ जना कर्मचारीलाई विशेष अदालतले कैद सजाय सुनाएको थियो । कैद सजाय भएपछि उनीहरु फरार थिए ।

मोरङ प्रहरीले उनीहरुलाई विराटनगरबाट सोमबार साँझमा पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी दाहालले जानकारी दिए । अदालत उपस्थित गराएर कैद सजाय भुक्तानको लागि मोरङ कारागार चलान गरिएको दाहालले जानकारी दिएका छन  ।