प्रकाश नेपाल

संसारमा घुमफिर गर्न नचाहाने मानिसहरु शायद कमै होलान् । समय मिलाएर आफुलाई मनपर्ने गन्तव्यसम्म जाने कोशिष सबैको हुने गर्दछ । त्यसमाथि नेपालमा त घुम्ने ठाउँहरु प्रकृतिले हामीलाई स्वतह प्रदान गरेको छ । मात्रै हामीले यस्ता ठाउँहरुलाई प्रबद्र्धन गर्न सके पर्यटनबाट देशलाई समृद्ध बनाउन सकिन्छ । तपाई हाम्रा वरिपरी यस्ता थुप्रै प्राकृतिक सम्पदा र पर्यटकीय गन्तव्यहरु छन् । यस्तै पर्यटकीय गन्तव्यहरु मध्येको एक भेडेटारको बारेमा हामी प्राय सबैलाई थाहैछ । एकै छिनमा पानी पर्ने र एकै छिनमा घाम लाग्ने विशेषताका कारण पर्यटकहरु माझ भेडेटार परिचित छ । यहाँबाट नजिकै पर्ने नाम्जे बजार सिएनएनले विश्वभरीका घुम्नैपर्ने २० वटा ठाउँहरुमध्ये छनौट गरेको ठाउँ हो । धेरै पटक घुमेर पानी पधेरो नै बनाइसक्नु भएका साथीहरुलाई थप जानकारी प्रदान गर्ने र पुग्न छुट्नु भएका पर्यटकहरुलाई पनि प्रेरित गर्ने उद्देश्यले निर्माण गरिएको यो भिडियो सहितको सामाग्री पस्किएको छ ।  

394023923_1411942206340439_3404070602029039210_n

पूर्वको सुन्दर शहर धरान लगभग १०४ बर्ग किलोमटरमा फैलिएको छ । तपाई हामीले घोपा क्याम्प भनेर चिन्ने गरेको र धेरै साथीहरु उपचारका लागि पुगिसकेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै छ । अहिले त नेपाल लगायत अन्य देशले समेत सामाजिक सञ्जालहरुमा हर्केको गाउँ पनि भन्ने गरेका छन् । 

२०७९ सालको स्थानीय तह निर्वाचनमा धरानको खानेपानीको समस्यालाई मुख्य मुद्दा बनाएर स्वतन्त्र उमेद्वार हर्क साङपाङले मेयरमा जिते । अहिले पनि बेला बेलामा धरानको चर्चा मेयरकै कारणले भइरहन्छ । पहाडको फेदमा अवस्थित यो शहर आफैमा एउटा पर्यटकीय हब हो ।

 साच्चै नै समय दिएर धरान घुम्ने हो भने वरीपरी रहेका सम्पूर्ण ठाउँहरु घुम्न हप्ताभर लाग्छ । धरानको मुख्य चौकबाट पूर्व उत्तरमा पर्ने विजयपुर डाँडाँमा मात्रै दर्जनौ बढी मठ मन्दिरहरु रहेका छन् । विष्णुपादुका, चिण्डेडाडा, धरान भ्यू पोइन्ट, ओसो पार्क, बगरकोट, शिवजट्टा लगायत थुप्रै ठाउँहरु यहाँका पर्यटकीय गन्तव्यहरु हुन् ।

387488611_996942304743282_3988173130416049602_n

हामी पुग्दा धरान बजार व्यस्त देखिन्थ्यो । बटुवाहरु बाटो छोट्याउदै थिए, सार्वजनिक गाडीका सहचालकहरु प्यासेन्जर खोज्दै थिए अनि ब्यापारीहरु ग्राहक ।

बजारको बिचैमा छ, धरानको पहिचान घण्टाघर । पहिले पहिले घण्टाको फरकमा ट्वाङ्ग आवाज दिने घण्टाघर अहिले शान्त छ । बाटोबाटै घण्टाघरको घडीलाई नियाल्दै हामी अगाडी बढ्यौ ।

बजारको बीचबाट गएको कोशी राजमार्गले धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर लगायत पहाडी जिल्लाहरु पु¥याउँछ । केही किलोमिटरको दुरीमा धरान भ्यू पोइन्ट पुगिन्छ । मौसम खुलेको बेला पुरै धरान शहर मज्जाले अवलोकन गर्न सकिने यस ठाउँमा रातीसम्मै होटलहरु चल्छन ।  धरानबाट भेडेटारको दुरी जम्मा १६ किलोमिटर हो । भ्यू पोइन्टबाट उकालो लागेपछी चिसो शुरु हुन थाल्छ । तराईको गर्मीले बोइल भएको शरीरलाई चिसो हावाले स्पर्श गर्दा भेडेटार पुग्न लागेको भान हुन्छ ।

सुनसरी र धनकुटा जिल्लाको सिमानामा पर्ने भेडेटार समुन्द्री सतहबाट १ हजार ४ सय २० मिटरको उपचारमा अवस्थित रहेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उप महानगरपालिकाको बोर्डर हो भेडेटार । मौसम सफा भएको बेला यहाँबाट मकालु हिमाल र सगरमाथा लगायतका हिमशृङखलाहरु समेत अवलोकन गर्न सकिन्छ । पहिले संखुवासभा, भोजपुर, ताप्लेजुङ्ग लगायतका जिल्लाहरुबाट भेडाहरु बिक्रीका लागि ल्याइन्थ्यो । अहिले बजारको रुपमा परिणत भएको टाहारमा त्यसबेला भेडाहरु राखिन्थ्यो । भेडा राख्ने टाहार भएकाले पछी यस ठाउँको नाम भेडेटार भन्न थालियो । 

387494005_1443214219954146_163058451933028739_n

एकै छिनमा धाम लाग्ने अनि एकै छिनमा पानी पर्ने साथै बाह्रै महिना चिसो मौसम भइरहनु भेडेटारको विशेषता हो । घाम र कुहिरोको लुकामारी चलिरहने यस ठाउँले पर्यटकहरुलाई पटक पटक आइराख्न लोभ्याउँछ । नेपाल लगायत भारतको विहार, बंगाल तथा अन्य ठाउँहरुबाट दैनिक सयौंको संख्यामा पर्यटकहरु आउने गर्दछन् । 

यहाँ विशेषगरी अंग्रेजी नयाँ बर्ष डिसेम्बर जनवरी अनि नेपाली नयाँ बर्ष बैशाख महिनामा पर्यटकहरुको अत्याधिक चाँप हुने गर्दछ । कहिलेकाही धरानदेखि भेडेटारसम्मै ट्राफिक जाम समेत हुन्छ । नयाँ बर्ष अनि विभिन्न चाडहरुमा मेला लाग्ने, कन्सर्ट तथा प्रदर्शनीहरु सञ्चालन भइरहन्छन् । यस्ता कार्यक्रमले पर्यटन प्रबद्र्धनमा थप टेवा पुगेको छ । भेडेटारमा हाल सुविधासम्पन्न होटल तथा लजहरु प्रसस्तै छन् । हाल सञ्चालनमा रहेका होटलहरुले एक दिनमा एक हजारदेखि १५ सयसम्म पर्यटकहरुलाई खाने र बस्ने सुविधा प्रदान गर्न सक्छन् ।

गर्मी महिनामा चिसो मौसमसँगै धराने कालो बंगुरको सेकुवा, कानजिब्रो, तोङ्वा लगायतका अन्य अग्र्यानिक परिकारहरुको स्वाद लिन सकिन्छ । भने जाडो महिनामा पिकनिक खान र रमाईलो गर्न मानिसहरु आउने गर्दछन् । 

धनकुटा लगायतका पूर्व पहाडी जिल्लाहरुमा उत्पादित अग्र्यानिक तरकारी र फलफुल बजारको छेऊमै बिक्रीका लागि राखिएको छ । पर्यटकहरुले घुमफिर गरिसकेपछी घर फर्किदा पहाडको चिनो तरकारी फुलफुल, छुर्पी, धनकुटे विस्कुट, पुष्टकारी, कुराउनी, चकलेट आदि लिएर फर्किन्छन् । भेडेटारको पर्यटन प्रबद्र्धनले नजिकैका गाउँठाउँका उत्पादनलाई बजारीकरण गर्न सहज भएको छ । 

393081141_234343086208246_8789525216861891527_n

सानो पाथिभरा मन्दिर, नमस्ते झरना, भ्युटावर, होम स्टे सहितको नाम्जे बजार, आत्माघर, तमोर नदीको पुल अर्थात मुलघाट लगायतका ठाउँहरु भेडेटारबाट नजिकै रहेका पर्यटकीय गन्तव्यहरु हुन् । एक दिनको समय छुट्याएर आउँदा यी सम्पूर्ण ठाउँहरु घुमेर फर्किन सकिन्छ । २०७२ सालको भुकम्पले जीर्ण बनाएको चाल्स भ्यू टावर पुर्ननिर्माण गर्ने काम भइरहेको छ । बजारको दक्षिणतर्फ चिटिक्क परेको शंख पार्क पनि छ । पर्यटकहरु यहाँ निकैबेर रोकिन्छन् । यहाँबाट चिसो मौसमको आनन्द लिँदै धरान तर्फबाट आउने नागबेली बाटो नियाल्न सकिन्छ । डाँडाँकाडालाई ब्याकग्राउण्डमा राखेर फोटो तथा सेल्फी खिच्ने, टिकटक रील बनाउने र फलैचामा एकैछिन बसेर आनन्द लिन सकिन्छ ।