काठमाडौंः गृह मन्त्रालयकै संलग्नतामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको संगठित ठगी घटनामा प्रहरीले गुपचुप दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ । पहिलो चरणको अनुसन्धान सकिएपछि परेका जाहेरीलाई आधार बनाएर जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान थालेको हो । 

परिसरले पुर्पक्षका लागि थुनामा रहेका बिचौलियाहरूलाई झिकाएर बयान गर्न थालेको छ । यति संवेदनशील अपराधमा प्रहरीले गुपचुप रूपमा अनुसन्धान सकाएर मुद्दा बुझाउने तयारी गरेपछि निष्पक्षताका साथ अनुसन्धान हुनेमा आशंका बढेको छ । 

काठमाडौं परिसरले यसै साता सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मालगायतको बयान सुरु गरेको छ । साउनको अन्तिम साता १८ जना पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढाएको हो । 

किटानी जाहेरीमा नाम उल्लेख गरिएका बिचौलियाले नै सर्वसाधारणसँग पैसा उठाएर गृह मन्त्रालयका अधिकारीलगायत उच्चपदस्थलाई आर्थिक प्रभावमा पारी आफूअनुकूल काम गराउने प्रयास गरेका थिए । पहिलो चरणको अनुसन्धानमा उनीहरूले यो कुरा बयानमा मात्र बताएनन्, त्यसको प्रमाणसमेत दिएका थिए । तर, यसपटक उनीहरूको बयान फेरिएको छ । यसपटकको बयानमा उनीहरूले उच्चपदस्थहरूको नाम लिएका छैनन् । साथै, बयान पनि इन्कारी दिएका छन् । जसकारण अनुसन्धान प्रभावित भएको पीडितहरूको आशंका छ । 

यसअघि उनीहरूकै बयानका आधारमा कांग्रेस नेता बालकृष्ण खाण, एमाले नेता टोपबहादुर रायमाझीलगायतका उच्चपदस्थ पक्राउ परेका थिए । हाल उनीहरू पनि पुर्पक्षका लागि जेलमा छन् । तर, दोस्रो चरणमा उच्चपदस्थहरूमाथिको अनुसन्धानमा प्रहरीले पनि चासो राखेको छैन । 

जिल्ला प्रहरी परिसर काठमाडौंले जेलमा रहेका पाँचजनालाई झिकाएर बयान गराएको स्रोत बताउँछ । निकै गोप्य रूपमा प्रहरीले उनीहरूको बयान गरेको छ । 

यसअघि संगठित अपराध, राज्यविरुद्धको कसुर, ठगी र लिखत किर्ते मुद्दा दायर भएको थियो । अहिले सामान्य ठगी मात्र चलाउनुपर्ने दबाब प्रहरीमाथि परेको छ । दोस्रो चरणको अनुसन्धानबारे जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकारी औपचारिक रूपमा बोल्न मानेनन् । 

केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायत भने दोस्रो चरणमा पनि प्रहरीले सूक्ष्म रूपमै अनुसन्धान गरिरहेको दाबी गरे । ‘नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरी अधिकारी फेरिँदैमा कुनै असर पर्दैन,’ उनले भने, ‘दोस्रो चरणमा पनि विस्तृतमै अनुसन्धान भइरहेको छ ।’ 

यसअघि अनुसन्धान प्रभावित गर्ने उद्देश्यले नै सरकारले काठमाडौंका उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखलाई हटाएको थियो । हाल अनुकूल प्रहरी अधिकृत खटाएर गुमचुपमा दोस्रो चरणको अनुसन्धान सकाएर अदालतमा मुद्दा लैजाने तयारी छ । ‘केही बिचौलिया मात्र दोस्रो चरणको अनुसन्धानमा तानिने सम्भावना छ,’ प्रहरी स्रोतले भन्यो, ‘सेटिङकै आधारमा अनुसन्धान चलिरहेको छ ।’ 

पहिलो चरणमा दायर भएको मुद्दालाई पनि प्रभावित पार्ने गरी दोस्रो चरणको अनुसन्धान भइरहेको स्रोत बताउँछ । ‘थुनामा रहेका आरोपीहरू उच्च अदालतबाट छुट्ने प्रयासमा छन्,’ स्रोत भन्छ, ‘त्यसका लागि उच्चपदस्थलाई जोगाएर दोस्रो चरणको अनुसन्धानमा बयान फेराइएको छ ।’ कारागार स्रोतका अनुसार बिचौलियाहरू केशव दुलाल र सानु भण्डारीसँग जेलमा रहेका उच्चपदस्थहरूले सहयोगीमार्फत बयानअघि कुराकानी गरेका थिए । 

थुनामा रहेका पूर्वमन्त्रीहरू खाण र रायमाझीसहित १६ जना हाल थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका छन् । गत २५ असोजमा उच्च अदालतले सो मुद्दामा लगाउको आदेश दिएपूर्वमन्त्रीद्वय खाण र रायमाझीका साथै पूर्वगृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ थुनामा छन् । खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई जेलमै छन् । उनीहरू जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् । 

यो मुद्दामा पक्राउ परेकामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए । ३० जनालाई प्रतिवादी बनाइएकोमा अन्य ११ जना अझै फरार छन् । मुद्दा दायर भएको पाँच महिनासम्म पनि १२ मध्ये एकजना पनि पक्राउ परेका छैनन् । जसमा प्रतीक थापा, अशोक पोखरेल, धीरेन राई, नीरज राई, दीपा हुमागाईं, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता लिम्बू, निरञ्जनकुमार खरेल, सुनील बुढाथोकी छन् । उनीहरूमध्ये प्रतीक, नीरज र अशोक मुख्य व्यक्ति हुन् । उनीहरू अनुसन्धान सुरु भएलगत्तै विदेश भागेका थिए । 

गृह मन्त्रालयमा प्रतिवेदन नै नक्कली बनाएकोलगायतका प्रमाणलाई आधार बनाई उनीहरूलाई थुनामा पठाइएको थियो । शरणार्थी समस्या समाधानका लागि बनेको अध्ययन प्रतिवेदन नै किर्ते गरी नेपालीको नाम राखेर अमेरिका लैजाने प्रयास भएको थियो । बालकृष्ण खाण गृहमन्त्री र टेकनारायण पाण्डे गृहसचिव हुँदा यस्तो किर्ते भएको प्रहरीको दाबी छ । 

रामबहादुर थापा र बालकृष्ण खाण गृहमन्त्री हुँदा बिचौलियाहरूले सिंगो मन्त्रालयलाई नै आफ्नो प्रभावमा पारेर नेपालीलाई भुटानी शरणार्थीको सूचीमा राखेर अमेरिका लैजाने प्रयास गरेका थिए । त्यसका लागि सुरुमा दर्तामा छुटेका शरणार्थीको विषयमा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा समिति बनाइएको थियो । 

सोही समितिको प्रतिवेदनमा नेपालीको नाम थपेर करोडौँ उठाइएको थियो । जुन पैसा गृह मन्त्रालयका अधिकारीलाई बुझाएर आफ्नै नागरिकलाई शरणार्थी बनाएर अमेरिका लैजान पटक–पटक प्रयास भयो । तर, पाँच वर्षसम्म पनि सफल नभएपछि पीडितहरूले उजुरी गर्न थालेका थिए । खाण गृहमन्त्री हुँदासम्म प्रहरीले नै अनुसन्धान रोकेकोमा पछिल्लो समय अनुसन्धान सुरु भएको थियो । पहिलो चरणको अनुसन्धानमा प्रहरीले सरकारको पनि साथ पाएकोमा हाल जसरी हुन्छ यो अनुसन्धान कमजोर बनाउन दबाब परेको प्रहरी अधिकारीहरू बताउँछन् ।

थप व्यक्तिमाथि अनुसन्धान नै भएन 

यो प्रकरणमा मुख्य पात्र बिचौलिया बेचन झा अझै अनुसन्धानको दायरामा तानिएका छैनन् । जब कि तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेलाई ठगी गिरोहसँग भेट गराइदिने व्यक्ति झा हुन् । सचिव पाण्डेले त लिखित बयानमै सो कुरा बताएका छन् । उनको बयानमा भनिएको छ, ‘मन्त्रालयमा राजनीतिक रूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ ।’ झाले सत्तागठबन्धनमै आफ्नो भूमिका रहेको भनेर सचिव पाण्डेलाई बताएका थिए । 

कांग्रेसका उच्च तहका नेतामार्फत नै झा खाण र पाण्डेलाई भेट्न गृह मन्त्रालय गएका थिए । खाणले बिचौलियाहरूसँग भेट्दा सो पैसा आफूले विभिन्न व्यक्तिहरूलाई बुझाउनुपर्ने पनि बताएका थिए । प्रस्ट ठेगाना खुल्न नसकेपछि प्रहरीले झालाई त्यतिवेला प्रतिवादी बनाउन सकेन । झाको नेपाल र भारत दुवैतिर नागरिकता रहेको प्रहरी अधिकारी बताउँछन् । काठमाडौंको बानेश्वरमा घर भएका उनी ठूला ठेक्कापट्टामा संलग्न रहेको उनको चिनजानका व्यक्तिहरू बताउँछन् । 

पक्राउ परेका प्रतिवादीले नाम लिएका, तर अन्य प्रमाण नभेटिएका आठजनामाथि पनि प्रहरीबाट थप अनुसन्धान हुन सकेको छैन । जसमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’, सांसदसमेत रहेकी उनकी पत्नी नैनकला थापा, एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वप्रदेश सांसदसमेत रहेका एमालेकै नेता अजयक्रान्ति शाक्य, पूर्वगृहसचिव महेश्वर न्यौपाने, एमालेमै आबद्ध राजेश्वर स्थापितलगायत छन् । त्यस्तै, यसअघि मुद्दा दायर भएकामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि थप छानबिन गर्न प्रहरीले पत्राचार गरेको थियो । दुवै निकायले सामान्य सोधपुछबाहेक गम्भीर अनुसन्धान गर्न सकेका छैनन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ ।