खोटाङः बिरामीलाई बेहोस गराउने स्वास्थ्यकर्मी बिरामी भएर उपचारका लागि गएपछि जिल्ला अस्पतालले सार्वजनिक सूचना टाँस गरी प्रसूति र अप्रेशन सेवा बन्द गराएको छ ।

अस्पतालबाट प्रवाह हुने सेवा बन्द भएपछि बिरामीले सास्ती खेप्नु परेको छ । दरबन्दीका एक जना चिकित्सक रहेको र चिकित्सक आँफै विरामी भएर उपचारका लागि जिल्लाबाहिर जाँदा जनशक्ति अभावमा सेवा नै बन्द गर्नु परेको अस्पताल प्रशासनले जनाएको छ ।

जनशक्ति अभावमा जिल्ला अस्पतालबाट प्रवाह हुने अप्रेशन र प्रसूति सेवाका लागि बिरामीले जिल्ला बाहिर जानुपर्ने अवस्था आएको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर चतुरानन्द यादवले बताए।

स्वास्थयकर्मी एनेस्थेसिया अस्पताल व्यवस्थापनलाई जानकारी गराएर उपचारका लागि जिल्ला बाहिर गएपनि जनशक्ति अभावमा सेवा बन्द गर्नु परेको जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल विकास समितिका सहायक प्रमुख सनवहादुर राईले बताए ।

जिल्ला अस्पतालमा बेहास बनाउने अर्को जनशक्ति व्यवस्थापन गर्न नसक्दा चिकित्सक अभावमा सेवा नै बन्द गर्नु परेको डाक्टर चतुरानन्द यादवको भनाइ छ ।

जिल्ला अस्पतालबाट प्रवाह हुने अप्रेशनका बिरामी मासिक आठ जना र प्रसूतिका मासिक ३१ जनाले सेवा लिने गरेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

एनेस्थेसिया सहायकको व्यवस्थापनका लागि पहल गरेको भएपनि सम्भव नभएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।

जिल्ला अस्पतालमा जनशक्ति अभाव भएको र सो पूर्तिका लागि ०८० भदौ महिनामा स्वास्थ्य मन्त्रालयमा डेलिगेशन गएपनि सरकारले आफ्ना मागलाई सम्बोधन नगरेको मेयर भट्टराईले बताए ।

जिल्ला अस्पतालमा एउटा निजी संस्थाले एक जना एनेस्थेसिया सहायक उपलब्ध गराए पनि डेलिभरीको अप्रेसन गर्ने दरबन्दी नहुँदा जिल्लाको स्वास्थ्य अवस्थाको स्थिति थाहा हुने समाजसेवी दुर्गाप्रसाद घिमिरेले बताए ।

जिल्ला अस्पतालमा बेहास बनाउने चिकित्सक नहुँदा सेवा नै बन्द गर्नुपर्ने अवस्था रहेको नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष दीलिप खत्रीले बताए ।

मानव अधिकार आयोग, खोटाङ कार्यालय प्रमुख गीता दाहालले चिकित्सक अभावमा सेवा नै बन्द गर्नुपर्ने अवस्था हुनु अस्पताल व्यवस्थापन समितिको कमजोरी रहेको बताइन ।