काठमाडौंः यस वर्ष डेंगुको जोखिम दसैं–तिहारसम्म रहने स्वास्थ्यविज्ञले बताएका छन् । जनस्वास्थ्यविज्ञ दिपक खनालका अनुसार यो वर्षको डेंगु कात्तिक अन्तिमसम्म रहने छ । वर्षा रोकिएपछि हाल डेंगुको संक्रमण फैलिरहेको छ, खनालले भने, यो क्रम कात्तिक अन्तिमसम्म रहन्छ ।

डेंगुको संक्रमण सबैभन्दा बढी कोशी प्रदेशअन्तर्गत सुनसरी जिल्लामा देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा ७ हजार ८९ जना डेंगुबाट संक्रमित छन् । साथै, मोरङमा १ हजार ५ सय ९१, धादिङमा १ हजार २ सय दुई, झापामा ८ सय ९६, कास्कीमा २ सय ४७, धनकुटामा २ सय ३६, काठमाडौंमा १ सय ९६, दार्चुलामा १ सय ९४, संखुवासभामा १ सय ५६ तथा चितवनमा ९० जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यो वर्ष हालसम्म मुलुकभर देखिएको कुल संक्रमणको ५४ दशमलव २५ प्रतिशत सुनसरीमा देखिएको छ । कोशी प्रदेशमा मात्रै ७६ दशमलव १० प्रतिशत संक्रमण फैलिएको छ । ७५ जिल्लामा देखिएको डेंगुका कारण १३ जनाको मृत्यु रेकर्ड गरिएकामा १० जना धरानका मात्रै छन् । यो वर्ष सुनसरीपछि कुल संक्रमणको १० दशमलव ९ प्रतिशत मोरङमा, १० प्रतिशत धादिङमा, ६ दशमलव ४ प्रतिशत झापामा देखिएको छ ।

गत वर्ष अगस्टमा देशभरमा ३ हजार ७ सय ८ जनामा संक्रमण देखिएकोमा यस वर्षको अगस्ट २९ सम्म १२ हजार ७ सय ९६ मा संक्रमण देखिएको छ । गत वर्ष सबैभन्दा बढी सेप्टेम्बरमा २७ हजार ५ सय २९ संक्रमण देखिएर क्रमशः कम हुँदै डिसेम्बरमा ४ सय ८३ केसमा पुगेको थियो । २०२२ मा जम्मा ५४ हजार ७ सय ८४ मा संक्रमण देखिँदा ८८ जनाको ज्यान गएको थियो ।

नेपालमा पहिलोपटक डेंगुमा संक्रमण सन् २००४ मा चितवनमा फेलापरेको थियो । त्यसपछि बर्सेनि नेपालमा डेंगुका समस्या देखिँदै आएको छ । सन् २००६ मा तराईका नौ जिल्लामा फैलिइसकेको थियो । सन् २००६ मा ३२ जनामा संक्रमण देखिएको थियो भने सन् २००७ मा २७ जना, सन् २००८ मा १० जनामा संक्रमण देखिएको थियो । सन् २००९ मा डेगु सार्ने लामखुट्टेको पहिचान काठमाडौंमा भएको थियो । जसको एक वर्षपछि राजधानीमा एक जनामा डेंगु संक्रमण देखिएको थियो । त्यसपछि सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिएको थियो भने सन् २०२० मा ५ सय ३०, सन् २०२१ मा ५ सय ४० जनामा संक्रमण देखिएको थियो । त्यस्तै, सन् २०२२ मा ५४ हजार ७ सय ८४ जनामा डेंगुको संक्रमण देखिएको थियो ।

गत वर्ष मुलुकभर कुल डेंगुको ५५ प्रतिशत काठमाडौं उपत्यका र २५ दशमलव ७७ प्रतिशत काठमाडौं जिल्लामा देखिएको थियो भने यसपटक यहाँ फाट्टफुट्ट संक्रमण देखिएको छ । हालसम्म काठमाडौं उपत्यकामा देशभर देखिएको कुल संक्रमणको ३ दशमलव ५५ प्रतिशत र काठमाडौंमा मात्रै २ दशमलव शून्य ५ प्रतिशत देखिएको हो । यो वर्ष हालसम्म काठमाडौंमा ४ सय २५, ललितपुरमा १ सय ७४ र भक्तपुरमा १ सय ३४ मा संक्रमण देखिएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।