दोहाः रोजगारीका लागि साउदी अरब पुगेर विभिन्न समयमा कम्पनी छोडेर भागेका ११ हजार १ सय २६ नेपाली अवैध रूपमा त्यहाँ कार्यरत रहेका पाइएको छ ।

रियादस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति रियादको सहकार्यमा आयोजित श्रमिक समस्या समाधानमा नेपाली दूतावास र नेपाली सामुदायिक संस्थाहरूको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा दूतावासले ११ हजार १ सय २६ नेपाली अवैध रूपमा रहेको जानकारी दिएको हो ।

दूतावासका अनुसार साउदीमा करिब ४ लाखको संख्यामा नेपाली कामदार रहेकामा ४ हजार १ सय ७९ महिला, घरेलु कामदारको संख्या २ हजार ७ सय ९४, महिला घरेलु कामदार १ हजार १२ जना र पुरुष घरेलु कामदारको संख्या १ हजार ७ सय ९२ जना रहेको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरि धरपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपालीहरू पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको छ । जेल अवधि समाप्त गरेपछि आवश्य कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ ।

उता, साउदीमा गैरकानुनी रूपमा रहेका १ सय ४५ जना नेपालीले एक्जिट भिसा प्राप्त गरेका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार बहिर्गमन भिसा ९एक्जिट भिसा०को प्रक्रिया गरिएकामध्ये १ सय ४५ जनाको एक्जिट भिसा प्राप्त भएकाले चाँडोभन्दा चाँडो नेपाल फर्कन अनुरोध गरेको छ ।

गैरकानुनी तथा अलपत्र नेपालीहरूले आफ्नो मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दूतावासमा आएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जान दूतावासले अनुरोध गरेको छ । एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा आइसकेको छ भने विमानस्थलमा त्यही म्यासेज देखाउँदा हुन्छ । एक्जिट पेपर लिनका लागि दूतावासमा आइरहनु नपर्ने दूतावासले जनाएको छ ।

एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुनेछ । यसबापत एक हलाला पनि कहीँ कतै बुझाउनुपर्दैन । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ ।

एक्जिट भिसा प्रोसेसिङका सम्बन्धमा जानकारी चाहिएमा दूतावासको फेसबुक पेजमा राखिएको जानकारीमूलक सूचना हेर्न पनि दूतावासले अनुरोध गरेको छ ।

साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र ९इकामा० नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

कानुन उल्लंघन गर्ने झन्डै १७ हजार पक्राउ

साउदी अरेबियाको सुरक्षा बलले राज्यका विभिन्न क्षेत्रमा आवास, श्रम कानुन र सीमा सुरक्षासम्बन्धी उल्लंघन गरेको आरोपमा १६ हजार ७ सय ९० व्यक्तिलाई पक्राउ गरेको छ ।

गत ५ देखि ११ अक्टोबरसम्म सघन अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको गृह मन्त्रालयले जनाएको छ । पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लंघन गर्ने १० हजार १ सय ७७, सीमा सुरक्षा नियम उल्लंघन गर्ने ४ हजार ५ सय २३ र श्रम कानुन उल्लंघन गर्ने २ हजार ९० जना रहेका छन् ।

राज्यमा सीमा पार गर्न खोज्दा ७ सय ९ जना पक्राउ परेका थिए । ६३ प्रतिशत यमनी, ३४ प्रतिशत इथियोपियाली र ३ प्रतिशत अन्य राष्ट्रियताका थिए भने ८६ उल्लंघनकारीहरू साउदी अरेबियाबाट बाहिर जानका लागि सीमा पार गर्न खोज्दा पक्राउ परेका थिए ।

यीमध्ये कानुन उल्लंघन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने १५ जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको मन्त्रालयलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ । यी सबैलाई सजाय तथा कानुनी प्रक्रिया पु¥याएर देश निकाला गरिने जनाइएको छ ।

घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिमानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।