काठमाडौंः प्यालेस्टिनस्थित हमास समूहको नियन्त्रणमा रहेको आशंकापछि सरकारले नेपाली विद्यार्थी विपिन जोशीको खोजी तथा रिहाइका लागि मध्यपूर्वमा कूटनीतिक पहल थालेको छ । २० असोजमा इजरायलमा हमास समूहको आक्रमणमा परेर बाँचेका नेपालीले जोशीलाई हमासले लिएर गएको बताएपछि सरकारले उनको खोजी गर्न थालेको हो ।

सोही सिलसिलामा परराष्ट्रमन्त्री एनपी साउदले सोमबार कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज बिन सलेह अल खुलैफीसँग टेलिफोन कुराकानी गरेका छन् । प्यालेस्टिन क्षेत्र तथा इजरायलको पछिल्लो परिस्थिति र दुई देशबीच सहकार्यका विषयमा छलफल भएको कतारी समाचार संस्था द पेनिन्सुला कतारले उल्लेख गरेको छ । 

मध्यपूर्वको इरान, इजिप्ट, साउदी अरेबिया, कतारसँग हमास समूहको राम्रो सम्बन्ध छ । सरकारले मध्यपूर्वका यीलगायतका मुलुकसँग नेपाली विद्यार्थीको खोजीका लागि प्रयास गरेको हो । परराष्ट्रमन्त्री साउदले सोमबार नेपालमा रहेका अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधिसँगको भेटमा नेपाली विद्यार्थी रिहाइका लागि प्रयास गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका थिए । 

इजरायल र प्यालेस्टिनमा हिंसा बढिरहेकोमा कतारका राज्यमन्त्रीले चासो राखेका थिए । उनले हिंसा भड्किन नदिन र तनाव कम गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रयास हुनुपर्नेमा जोड दिएका थिए । परराष्ट्रमन्त्री साउदले सुदूरपश्चिमका पत्रकारहरूको कार्यक्रममा सोमबार हमाससँग नजिक रहेका मुलुकहरूसँग पनि नेपाली विद्यार्थी जोशी पत्ता लगाउन छलफल भइरहेको बताए । तर, उनले विस्तृतमा बताएनन् ।

इजरायल सरकारले त्यहाँ निधन भएका दशजना नेपाली विद्यार्थीमध्ये पाँचजनाको शव आइतबार तेलअभिभस्थित नेपाली दूतावासलाई उपलब्ध गराएको छ । नेपाली राजदूत कान्ता रिजालले बाँकी शव प्राप्त हुने क्रममा रहेको र बेपत्ता अवस्थाका नेपाली विद्यार्थीको खोजी कार्य जारी रहेको जानकारी दिइन् । सेडोट नेगेभ एग्रिकल्चर सेन्टरअन्तर्गत किबेज अलुमिममा उनीहरूमाथि २० असोजमा हतियारधारी हमास समूहले आक्रमण गरेका थिए । 

नेपाली राजदूतावासका अनुसार कैलाली घोडाघोडी नगरपालिका– ४ का नारायणप्रसाद न्यौपाने, दार्चुलाको मल्लिकार्जुन नगरपालिका– ४का लोकेन्द्रसिंह धामी, बझाङको जयपृथ्वी नगरपालिका– ६ का गणेशकुमार नेपाली, दार्चुलाको लेकम गाउँपालिका– ५ दीपेशराज विष्ट र कैलाली बौनियाँका आशिष चौधरीको शव प्राप्त भएको छ । डोटीको पचनलीका राजन फुलारा, डोटीकै लामिखालका पदम थापा, सल्यानको शारदा नगरपालिका– ३ का प्रवेश भण्डारी, धनुषाको सपहीका आनन्द साह र सुनसरीको मधुवनका राजेशकुमार स्वर्णकारको शव प्राप्त हुन बाँकी छ । 

आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका (१ जना नेपाल पुगिसकेका र १ जना दूतावासको हेरचाहमा रहेका) छन् । दुईजनाको उपचार भइरहेको छ । इजरायलमा रहेका विद्यार्थीहरूमध्ये २५३ जनाको शुक्रबार उद्धार भएको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ ।