इलामः सूर्योदय नगरपालिकाले ०७८ चैत १५ गते तामझामका साथ स्थानीय पाठ्यपुस्तक ‘हाम्रो सूर्योदय’ लोकार्पण गर्यो । नगरले कक्षा एक देखि आठसम्मको पाठ्यक्रम ०७७ सालमै सार्वजनिक गरेको थियो ।

सोही आधारमा तयार गरेर कक्षा पाँचसम्मको पुस्तक सार्वजनिक गरिएको दुई वर्ष पुग्न लाग्यो । तर, विद्यार्थीले यस शैक्षिक सत्रको ०८० असोज अन्त्यसम्म पनि पुस्तक पाउन सकेका छैनन् ।

पहिलो त्रैमासिक परीक्षा सकिएको एक महिना भयो । कतिपय विद्यालयले त अर्ध वार्षिक परीक्षा नै दशैँ अघि गरिरहेका छन् । तर, विद्यार्थीले पुस्तक नै नपढी के परीक्षा लेख्छन् ? अविभावकको गुनासो छ ।

चन्द्रकला आधारभूत विद्यालय सूर्योदय नगरपालिका(१ मा अध्ययनरत ६ वर्षीया बालिका सुवेक्षा सापकोटाका ४० वर्षीय सुवास सापकोटा भने ‘बुक भएको भए घरमा पनि पढाउँथ्यौँ । स्कुलमा पुस्तक बिना पढाएको भरमा यी अबोध बालबालिकाले परीक्षामा के लेखे होला र  !’

नगरपालिकाले पठाएको पीडीएफ डाउनलोड गरेर सोही आधारमा शिक्षकहरूले अध्यापन गराइरहेको हिमालय माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक नित्यानन्द सापकोटाले बताए । ‘विद्यार्थीहरूको साथमा पुस्तक नहुँदा पठनपाठनमा समस्या भएको छ ।’ उनले भने, ‘बालबालिकालाई त नक्सा देखाएर, बुझाएर पढाउनुपर्छ त्यो पाइएको छैन । अविभावकले घरमा गृहकार्य गराउन सकेका छैनन् ।’

भाग्योदय आधारभूत विदालय सूर्योदय नगरपालिका ७ मा अध्ययनरत छात्रा प्रशंसा भट्टराईले भने ‘पोहोर नयाँ किताब पाएका थियौँ, यस वर्ष पाएनौँ । चियाबारी, कन्याम, अन्तु सबैतिरको कति राम्रो नक्सा थियो । दशैँको छुट्टीपछि चैँ दिनुहुन्छ रे ।’

नगरपालिकाका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले पुस्तक छपाइको काम अन्तिम चरणमा पुगेको बताए। गत वर्ष नगरपालिकाले ५ हजारप्रति पुस्तक निशुल्क बाँडेको थियो, यस वर्ष प्राविधिक कारणले ढिलाइ हो, दशैँलगत्तै १२ हजारप्रति पुस्तक निशुल्क बाँड्ने योजना छ ।

‘पोहोर कक्षा एकदेखि कक्षा पाँचसम्मको लागि मात्र थियो । यस वर्ष कक्षा ६ देखि आठसम्मको पाठ्यपुस्तक समेत छापिएर एकैसाथ आउन लागेको छ ।’ शिक्षा शाखा प्रमुख भट्टराइले भने, ‘कक्षा पाँचसम्मका पुस्तकमा केही परिमार्जन गर्नुपर्ने र कक्षा ६ र आठसम्मको नयाँ लेखन गर्नुपर्ने भएकाले समय लागेको हो ।’ एकैपटक पुस्तक छपाउँदा कम खर्चिलो हुने भएकाले परिमार्जन र पुनः लेखन गरेर कक्षा एकदेखि आठसम्मको पुस्तक एकैपटक छपाउन लागिएको सूर्योदयन नगरपालिकाका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईको भनाइ छ ।

करिव तीन वर्ष लगाएर विज्ञहरूको समूहले विभिन्न चरणमा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षा सम्बद्ध सरोकारवालालगायतसँग छलफल गरी तयार गरेको पाठ्यक्रममा आधारित रहेर पुस्तक लेखिएको थियो ।

पुस्तकमा सूर्योदय नगरपालिकाको चिनारी, स्थानीय धार्मिक स्थल, विविध जातजाति, स्थानीय चाडपर्व, स्थानीय भाषा, स्थानीय खानेकुरा, स्थानीय पर्यटन, श्रोत तथा साधन लगायतका विषय समेटिएका छन् ।

पुस्तकमा बालबालिकाले विद्यालयको आधारभूत तहमा स्थानीय जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारका नीतिगत व्यवस्थादेखि नगरपालिकालाई समृद्ध बनाउने सम्मका विषयसमेत समेटिएका छन् ।

आधारभूत तहको ८ सय पूर्णाङ्कमध्ये १ सय पूर्णाङ्कको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउने प्रावधान अनुसार नगरपालिकाले पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार पारेको हो ।

पहिलो वर्ष जसोतसो पुस्तक पुगेको थियो, तर यस वर्ष विद्यार्थीले पुस्तक समयमा नपाउँदा असहज भएको सूर्योदय नगरपालिकाका सामाजिक विकास समिति संयोजक डिक बम्जनले बताए । पुस्तक छपाइ ढिलाइ हुँदा विद्यार्र्थीलाई समस्या परेको विषयले आफूहरु चिन्तित भएको बम्जनको भनाइ छ ।

स्थानीय पाठ्यपुस्तकले विद्यार्थीहरूलाई नगरपालिकाको भौगोलिक, सांस्कृतिक र ऐतिहासिक जानकारी दिनुका साथै उनीहरूलाई स्थानीय भाषा,शैली र परम्परासँग परिचित गराउने र थप व्यवहारिक शिक्षासमेत प्रदान गर्ने विश्वास राखिएको नगरप्रमुख रणबहादुर राईले बताए । नगरपालिकाले शुरू गरेको नगरको इच्छा छोरी बुहारीलाई शिक्षा, गणितसँग खेलौँ गणितीय धारणा बसाऔँ जस्ता शिक्षा सम्बद्ध कार्यक्रमहरूले नगरपालिकाको सञ्चालन गरेको छ ।

सूर्योदय नगरपालिकामा ६६ ओटा सामुदायिक र ३१ ओटा संस्थागत गरी ९७ ओटा विद्यालयमा ११ हजार विद्यार्थी अध्ययनरत छन् । ती मध्ये सामुदायिक १४ ओटा मावि र ५२ ओटा आधारभूत विद्यालय रहेको इन्सेक इलामका प्रतिनिधि मनोज अधिकारीले जानकारी दिएका छन ।