खोटाङः  जिल्ला अस्पताल खोटाङ मा जीवन जल नभएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ ।

व्यवसाय तथा उपभोक्ता अधिकारको विषयमा राष्ट्रिय मानव अधिकार आयोगबाट अनुगमन गर्न आएको आयोगका सदस्य मिहिर ठाकुर नेतृत्वको टोलीले जिल्ला अस्पतालमा जीवन जल नभएको विषयमा आश्चर्यसहित चासो व्यक्त गरेको हो ।

जिल्ला अस्पतालको अनुगमनपछि आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका सदस्य मिहिर ठाकुरले जिल्ला अस्पतालमा जीवन जलसमेत नहुनुले नागरिकको आधारभूत स्वास्थ्य अधिकारप्रति राज्यको जिम्मेवारी कति हो ? भन्ने प्रश्न उब्जिएको बताए । उनले भने–जिल्ला अस्पतालमा जीवन जलसमेत नहुनुले स्वास्थ्यप्रति राज्यको जिम्मेवारी र दायित्व के हो छर्लङ्ग भएको छ ।

होटलको कोठा चिसो भएको र आफूलाई पाचनसम्बन्धी समस्या आएर जिल्ला अस्पतालमा गएर जीवन जल माग्दा आकस्मिक कक्ष र स्टोरमा समेत जीवन जल नभएको जानकारी दिएपछि अस्पतालको अवस्था बुझियो ठाकुरले पत्रकार सम्मेलनमा भने ।

जिल्ला अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नभएको विषयमा समेत आयोगले चासोले चासो व्यक्त गरेको छ । १५ वेड क्षमताको अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नभएको अनुगमन टोलीको भनाइ छ ।

जिल्ला अस्पतालका डाक्टर चतुरानन्द यादवले आयोगले ०८० असोज २३ गते अनुगमन गर्दा जीवन जल नपाएको भएपनि असोज २६ गतेदेखि अस्पतालमा जीवन जल स्टक गरिएको बताए । उनले आयोगको टोली आउँदा जीवन जल नभएकै हो, तर आफुहरुले जीवन जल अभावको समस्या समाधान गरिसकेको दावी गरे । 

पत्रकार सम्मेलनमा राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश शाखा कार्यालय खोटाङ प्रमुख गीतादेवी दाहालले स्वास्थ्य, शिक्षालगायतका विषयमा जिल्लाको अवस्था कमजोर रहेको जानकारी गराएको जिल्लाका इन्सेक प्रतिनिधि तारानाथ फुयलले जानकारी दिए ।