काठमाडौँः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले संविधान राम्रो बनेको भएपनि कार्यान्वयनको पाटो फितलो बनेका कारण जनतामा निराशा उत्पन्न भएको बताएका छन । 

यहि असोज १४ गते झापाको काँकरभिट्टाबाट सुरू गरिएको समाजवादी जागरण अभियानको १४औं दिन धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन। 

उनले भने, ‘हामीले समाजवादी जागरण अभियानका क्रममा समाजवादबारे बुझाउने काम भएका छन्। हाम्रो संविधानबारे जनतालाई जानकारी गराउने काम गरिरहेका छौं। हाम्रो संविधान राम्रो छ। संविधान राम्रो भएर मात्रै भएन। यसको कार्यान्वयन फितलो छ। संविधान कार्यान्वयन नहुँदा देशमा भ्रष्टाचार बढ्दो रहेछ। अनेकन समस्या सिर्जना हुँदा रहेछन्। राज्य सञ्चालन गर्ने व्यक्तिमा इच्छाशक्ति, इमान्दारिता चाहिन्छ। अठोट, आत्मसात, भिजन हुनुपर्छ। संकल्प र दृढता चाहिन्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौतौहरू हुन्छन्। ति चुनौतीको समाधान गर्ने नेतृत्वमा क्षमता चाहिन्छ।’ 

 अध्यक्ष नेपालले अगाडि भने, ‘आज मुलुक अफ्ट्यारो अवस्थामा छ। यतिबेला हाम्रो दायित्व भनेको मुलुकलाई सहजतातर्फ लैजाने हो। वर्तमान व्यवस्थालाई सुधार्दै लैजाने र समाजवादी व्यवस्था स्थापना गर्ने हो। त्यसैले यो अभियान सञ्चालन गरिएको हो। पहिलो चरणमा पूर्व पश्चिम राजमार्ग, दोस्रो चरणमा हुलाकी, तेस्रो चरणमा लोकमार्गलाई आधार बनाएर यस्ता अभियान सञ्चालन गर्नेछौं। यहाँ अरूलाई जे होस्, आफूमात्रै भन्ने भावना दलाल पूँजीवादी प्रवृत्ति हो।’