काठमाडौँः नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले विश्व शक्ति राष्ट्र बन्ने होडमा रहेको भारतलाई संविधान बनाएर झापड हानेको टिप्पणी गरेका छन । 

महासचिव भुसालले यहि असोज १४ गतेदेखि जारी समाजवादी जागरण अभियान २०८० को १३औं दिनमा सुदुरपश्चिमको धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै उक्त टिप्पणी गरेका हुन।  

उनले भने, ‘हामीले एउटा संकल्प गर्यौं। हाम्रो संविधान हामी बनाउँछौं। हाम्रो संकल्प पूरा गर्दा भारत रिसायो। दुत पठायो । हामीले मानेनौं। हामीले संविधान जारी गरेर देखायौं। विश्व महाशक्ति राष्ट्र बन्ने होडमा रहेको भारतलाई यसअर्थमा झापड हानेके हो। त्यसको बदलामा हामीलाई नाकाबन्दी गरेर घाटी च्यापेर मार्ने प्रयास भारतले गर्यो। आज फेरी हाम्रो कालापानी क्षेत्रमा भारतको प्रधानमन्त्री हेलिकोप्टर लिएर घुम्दैछ। यो अर्को विषय हो।’ 

महासचिव भुसालले अगाडि भने,‘हाम्राबीचमा धेरै अलमल थिए। ति अलमल तोडेर संविधान बनायौं। २०७४ को आम निर्वाचन सम्पन्न गर्यौं। राजनीतिक र मुद्धाका हिसाबले हामीले ति अलमल तोडर अगाडि बढ्यौं। मुलुकले अब असाधारण सफलता हात पार्छ भन्नेमा पुग्यौं। तर, त्यो अधारण जनमतलाई खण्डित गर्ने सबै प्रकारका राम्रा पक्षहरू सर्वसत्तावादी व्यक्तिका कारण सुरक्षित हुन सकेनन्। केपी ओलीका कारण फेरी अलमल सुरु भयो।’ 

महासचिव भुसालले केपी ओलीले संविधान बनाउन कुनै जोड नगरेको खुलासा गरे। उनले भने, ‘हामीले सत्यका बारेमा बोल्नैपर्छ। मैले भन्न खोजेको कुरा साउन तिरको हो। २०७२ बैशाखमा भुकम्प गएको थियो। साउनमा स्थायि कमिटीमा एउटा प्रस्ताव आयो। अहिले कांग्रेसलाई हटाएर केपी ओलीलाई प्रधानमन्त्री बनाउने। त्यो बेला वामदेव गौतम गृहमन्त्री हुनुहुन्थ्यो। उहाँकै घरमा बसेको स्थायी कमिटीको बैठकमा त्यो तारतम्य गरिएको थियो।२३ जना मध्ये ओलीसहित पाँच जना बाहेकले त्यसको विपक्षमा राय राख्नुभयो। भुकम्प, नाकाबन्दीबीच यस्तो खेल हुन्न भन्यौं।ु 

महासचिव भुसालले भने, ‘संविधान बनाउँछौं भन्ने शक्तिसँग विश्वास घात गर्न हुँदैन भनेर हामीले त्योबेला महत्वपूर्ण अडान लिएका थियौं। पछि केपी ओलीले संविधान जारीगर्न  खुब भूमिका खेलेका थिए भनेर भनियो। यस्ता अलमल उहाँले त्यो बेला पनि गर्नु भएको थियो। हामीले अलमल सोझ्याउँदै आएका हौं। आज पनि मुलुक उकुस मुकुस छ। कांग्रेस अलमलमा छ। एमालेको भाग्यमा चलखेलमा छ। केपी ओलीको नेतृत्व रहेसम्म एमाले ओरालो लाग्ने बाहेक अरू केही हुनेवाला छैन। माओवादी हामीले सोचे जस्तो स्पष्ट हुन सकेको छैन। यस्तो बेला मुलुकले झेलिरहेको उकुसमुकुस विरुद्ध कोही न कोही बाहिर निस्किन पथ्र्यो। यो संकट, सन्नाटालाई नटार्ने हो भने मुलुकले असाधारण मूल्य चुकाउनु पर्नेछ। यहि हाम्रो अलमलका कारण भारतीय प्रधामन्त्री नसोधि हाम्रो भूमिमा आएको हो।  नेतृत्वको कमजोरी हो। राजनीतिक नेतृत्वको कमजोरी हो। हाम्रो अलमल हो।’   

संविधानले जनतालाई अधिकार दिएपनि लागु हुन नसकेको बताउँदै महासचिव भुसालले भने, ‘आधारभुत रुपमा अधिकारहरू जनतालाई दिन नसक्दा गणतन्त्र टिक्दैन। आज गणतन्त्र नटिके के हुन्छरु हिजोभन्दा यो मुलक डरलाग्दो भासमा फँस्छ। मुलक बहुआयामिक द्वन्द्वमा फस्छ। हिजोको जस्तै अवस्थामा भारत छैन। हिजोकै जस्तो अवस्थामा चिन छैन। ठूलो जनसंख्याबीच हाम्रो मुलक, हाम्रो राजनीति, राष्ट्रियता, सबै खतरामा पर्छ। त्यस कारण रोजगारी, सुशासन र समृद्धिको मुद्धा लिएर यो अभियान सञ्चालन गर्नेमा पुगेका हौं। यो काम पाँच सात वर्ष लाग्छ। हामीले उठाएको मुद्धा राष्ट्रको एजेण्डा हो। आजै यो काम गर्छौं भन्यौं भने केपी ओलीको जस्तो हावा कुरा हुन्छ।’