काठमाडौंः   परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलको आक्रमणमा परी १२ जना नेपाली विद्यार्थीहरू सम्पर्क विहीन भएका बताएका छन ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री साउदले दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा रहेर अध्ययनरत १२ जना नेपाली विद्यार्थीहरू सम्पर्कविहीन भएका बताएका हुन। सो स्थानमा १७ जना विद्यार्थीहरू रहेकामा दुई जना सकुशल अवस्थामा रहेका, तीन जना घाइते भई स्थानीय अस्पतालमा उपचार भइरहेको र १२ जना सम्पर्क विहीन भएकाले उनीहरूको अवस्थाको यकिन गर्न नसकिएको जानकारी उनले दिए ।उनीहरूको अवस्था यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको उनले बताए ।

मन्त्री साउदले आइतबार नै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकायहरू सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको र सो संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कार्यहरू गर्ने जानकारी दिए ।

उनले इजरायलमा हाल चार हजार पाँच सय नेपालीहरू केयर गिभरको रूपमा कार्यरत रहेका बताए । यस्तै, २६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत गएकामध्ये कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना रहेका उल्लेख गरे । सम्पर्क विहीन हुनेहरूमा सुदूरपश्चिम विश्वविद्यालयबाट गएकाहरू रहेको उनको भनाइ छ ।

‘‘इजरायलमा हाल चार हजार पाँच सय नेपालीहरू केयर गिभरको रूपमा कार्यरत रहेका छन् । इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत गएका थिए । यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । यी मध्ये सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरू दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका थिए । नेपाली राजदूतावासबाट प्राप्त अपडेट अनुसार यो स्थान गाजा क्षेत्र नजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भीर आक्रमण भएकाले उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीमध्ये दुई जना सकुशल रहेको, तीन जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको, केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।,’’मन्त्री साउदले भने, ‘‘इजरायलमा भएको यस दुःखद घटनालाई नेपाल सरकारले गम्भीरतासाथ लिएको छ । आजै बिहान प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बसी परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकायहरू सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको छ । यस संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कार्यहरू गर्नेछ ।’’

मन्त्री साउदले उनीहरूको सुरक्षाको प्रत्याभूति गर्न परराष्ट्र मन्त्रालयले आफ्नो संयन्त्र एवम् सम्पर्क परिचालन गरेको बताए। परराष्ट्र मन्त्रालयले नेपाली राजदूतावासलाई नेपालीहरूको उद्धार गर्न, त्यहाँको वस्तुस्थितिको जानकारी गराइ सुरक्षित रूपमा रहन इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्नको लागि नेपालीहरूलाई जानकारी गराउन निर्देशन दिइसकिएको उनले बताए । उनले नेपाली राजदूतावासले इजरायलमा रहेका नेपालीहरूलाई आवश्यक जानकारी सम्प्रेषण गर्ने इजरायल सरकार सँग समन्वय गरी आवश्यक उद्धार र घाइते नेपाली नागरिकको उपचारका लागि पहल कदमी लिइरहेको स्पष्ट पारे ।

‘‘त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था बुझ्न एवम् उनीहरूको सुरक्षाको प्रत्याभूति गर्न परराष्ट्र मन्त्रालयले आफ्नो संयन्त्र एवं सम्पर्क परिचालन गरेको छ । परराष्ट्र मन्त्रालयले नेपाली राजदूतावासलाई नेपालीहरूको उद्धार गर्न, त्यहाँको वस्तुस्थितिको जानकारी गराइ सुरक्षित रूपमा रहन इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्नका लागि नेपालीहरूलाई जानकारी गराउन निर्देशन दिइसकिएको छ ।,’’ मन्त्री साउदले भने, ‘‘नेपाली राजदूतावासले इजरायलमा रहेका नेपालीहरूलाई आवश्यक जानकारी सम्प्रेषण गर्ने इजरायल सरकारसँग समन्वय गरी आवश्यक उद्धार र घाइते नेपाली नागरिकको उपचारका लागि पहलकदमी लिइरहेको छ । साथै इजरायलमा रहेका नेपालीहरूको वास्तविक स्थितिको पहिचान गर्न नेपालीहरूलाई सुरक्षित तवरले रहने प्रबन्ध गर्न उद्धार र सहयोग गर्न इजरायल सरकार सँग आवश्यक समन्वय र सहजीकरणको कार्य भइरहेको छ ।’’

मन्त्री साउदले इजरायलको सुरक्षा वातावरण केही समयसम्म जटिल र संवेदनशील रहने देखिएको भन्दै सरकार इजरायलमा रहेका नेपालीलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्नका लागि पूर्ण प्रतिबद्ध रहेको बताए ।