इटहरीः इटहरी उपमहानगरपालिका क्षेत्रका विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ । उपमहानगरपालिकाले यहाँका विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई कार्वाही गर्ने भएको छ। बुधबार  बजार अनुगमन गर्दै ठुलो मात्रामा बिक्रिको लागि राखिएको सुर्तिजन्य पदार्थ उपमहानगरले जफत पनि गरेको छ । 

पछिल्लो समय उपमहानगरपालिकाले विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ निषेध क्षेत्र बनाउन लागि परेको छ। इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले विद्यार्थीहरुलाई सुर्तीजन्य र मादक पदार्थको लतबाट टाढै राख्नका लागि उक्त अभियानको थालनी गरेको बताए । 

विद्यालय वरपर खुलेआम सुर्तीजन्य र मादक पदार्थको बिक्री वितरण हुन थालेको गुनासो बढेपछि उपमहानगरपालिकाले उक्त अभियानको शुरुआत गरेको हो। विद्यालय वरपर रहेका पसलहरुमा सुर्तीजन्य पदार्थ भएरनभएका बारेमा उपमहानगरपालिकाका कर्मचारीले निरन्तर अनुगमन गर्ने भएको छ ।

 विद्यालय क्षेत्र आसपासमा सञ्चालनमा रहेका होटल तथा किराना पसलमा सुर्तीजन्य पदार्थ तथा मदिरा नराख्न  उपमहानगरपालिकाले सबैमा आग्रह गरेको छ।

381768542_6582540558500724_677951603111137381_n

  उपमहानगरपालिकाको आग्रहलाई अटेर गरी मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्नेलाई कानूनी दायरामा ल्याइने नगर प्रमुख पौडेलले बताए। उनले भने, “हामीले पहिलो चरणमा विद्यालय वरपर मदिरा तथा सुर्तीजन्य पदार्थ नराख्न आग्रह गरेका छौँ, हाम्रो आग्रहलाई बेवास्ता गर्नेलाई कानूनी दायरामा ल्याउनेछौँ।”

विद्यालय वरपरका केही पसलमा अनुगमनका क्रममा भेटिएका चुरोट, सुर्ती, गुट्खालगायतका सुर्तीजन्य पदार्थ अनुगमन समितिले नियन्त्रणमा लिनुका साथै मादक पदार्थ बिक्री वितरण नगर्न निर्देशन जारी गरिएको अनुगमन टोलीले जनाएको छ।

सुर्तीजन्य पदार्थ सामग्रीको प्रयोगले स(साना विद्यार्थीमा लत बस्ने र भविष्यमा गम्भीर असर पार्ने हुँदा विद्यालय क्षेत्रको करिब १०० मिटर वरपर बेचबिखन नगर्न सचेत गराइएको   छ ।

 मेयर पौडेलले भने, “सुर्तीजन्य पदार्थको प्रयोगले ससाना विद्यार्थीमा नराम्रो असर पर्छ, त्यसैले विद्यालय वरपर उक्त पदार्थ बेच्ने नगरौँ, अभिभावक पनि सचेत हुनु जरुरी छ।” सुर्तीजन्य र मदिराजन्य पदार्थ १८ वर्षभन्दा मुनिका बालबालिकालाई बिक्री वितरण नगर्न समेत आग्रह गरिएको छ ।