सुनिल उलाक
२०७६ सालमा भर्खर भर्खर लकडाउन शुरु भएको थियो । हरेक परिवार भित्र कोरोनाको त्रास सलबलाइरहेको थियो । पृथ्वीमा मानव सभ्यतामा नै कोरोनाले केही असर गर्ने आशंका समेत केहीले बनाउन थालिसकेका थिए । आखिर यसको असर कस्तो हुनेछ भन्ने हरेक ब्यक्तिको तर्क आ-आफ्नै किसिमको हुन थालेको थियो । यसरी शंका उपशंकाहरु बनिरहेका थिए ।
यस्तैमा २०७६ सालको चैतको १३ गते राती सवा ८ बजे तिर पोखराको आकाशमा उज्यालो वस्तु देखियो । पूर्वबाट पश्चिम तर्फ उडेको देखिएको त्यो वस्तु बलिरहेको आगोको डल्लो जस्तो थियो । हेर्दा त्रासपूर्ण देखिन्थ्यो तर के हो भन्ने थाहा पाउन सकिएन । केही समय मात्र देखिएको यो बलेको आगोको डल्लो केही बेरमा नै हरायो । सौभाग्यवश यो बल्दै गरेको आगोको डल्लो मैले पनि देखे । झर्दा झर्दै खरानी भएको त्यो आगोको डल्लो केही साथीले भने अन्तमा पड्केको थियो पनि भने । तर मलाई लाग्दैन यसबाट कुनै आवाज आएको थियो । किनकी हामीले नजिकै देखेको जस्तो लाग्ने यो वस्तु पृथ्वी देखी ३०-४० किलोमीटर माथि आकाशमा नै बिलाउने गर्दछ । यो तारा वा आकाशिय पिण्ड खसेको होला भन्ने अनुमान गरियो । यो दृश्य देख्नेहरुको लागी भने निकै अनौठो र अविश्वसनिय थियो ।
यस घटनाको ठिक ५२ वर्ष अगाडी उहि समयमा २०२४ साल चैत्र १२ गते रातीको सवा ८ बजे पोखराको उत्तरी भागको आकाशमा अनौठो उज्यालो वस्तु देखिएको थियो । त्यो वस्तु पनि उत्तर पूर्वबाट उत्तर पश्चिम अर्थात भलाम डाँडा र काहुँडाडाको नजिकैबाट पश्चिम तर्फ उड्दै गरेको थियो । त्यति बेला बजार क्षेत्रबाट देख्ने केहीले समय समयमा देखिरहने पुच्छ्रेतारा होला भन्ने अनुमान गरे । रातको समय पनि निकै उज्यालो देखिएको हुँदा अनौठो भने सबैले माने । केही दिन यसको चर्चा पनि पोखरेली माझ चल्यो । के होला भन्ने खुलदुली सबैमा रहे पनि पछि खासै चासो नै भएन । बिस्तारै सबैले बिर्सिए पनि ।
380053135_832084608712459_3190120161676899745_n
तर वाटुलेचौरमा भने त्यस रात अनौठो घटना घट्यो । त्यहाँ धेरै ब्यक्तिले यो आकाशमा देखिएको अनौठो उज्यालोलाई नजिकबाट देखे । उड्दै आएको विमान जस्तो वस्तु देखे । अरु बेला तारा खसे झै बिलाएन । केहीले आकाशमा चट्याङ पड्किएको जस्तो आवाज सुने । साथै उज्यालो यान जस्तो वस्तु उत्तर पश्चिम तर्फ लागेको पनि देखियो । उज्यालो आगो बलेको वस्तु तल खसेको देखियो । राती कहाँ के खस्यो भन्ने थाहा नै भएन । औंसी नजिकिएको रात भएको हुँदा कोही पनि रातमा बाहिर निस्किएर खोजबिन गरेनन् । समयसंगै सबैले बिर्सिए ।
बर्षौ पछि सिआइएको गोप्य रिपोर्टका रुपमा पोखरामा यूएफओ दुर्घटनाको रिपोर्ट बाहिरियो । पोखरामा यूएफओ दुर्घटना भएको जानकारी लेखिएको देखियो । तसर्थ म यस विषयमा केही थाहा पाउन सकिन्छ कि भनेर बाटुलेचौर तिर लागे । यस सम्बन्धी प्रत्यक्षदर्शीहरुसंग कुरा गर्ने तथा केही प्रमाणहरु भेटिन्छ कि भन्ने सोचमा मैले केही साथीहरुसंग सम्पर्क गरे । यस्तैमा मेरो पुरानो कलेजको साथी रामबहादुर बानियाँलाई जिज्ञासा राख्दा साथीले प्रत्यक्षदर्शीहरु चिरपरिचित भएको हुँदा भेट गराइदिन तैयार हुनुभयो । साथीको सहयोग र साथले मलाई बाटुलेचौरको त्यस घटनाको अध्ययन गर्न धेरै नै सहज भयो । संयोगवश प्रत्यक्षदर्शी आदरणिय गुरुहरु मेरो बुबाको बिद्यार्थीहरु हुनुहुँदो रहेछ । जसले गर्दा मलाई कुराकानी गर्न अझै सहज भयो ।
सो घटनाका प्रत्यक्षदर्शी धेरैजना हुनु भए पनि सबैभन्दा नजिकैबाट देख्नु हुने कुलप्रसाद तिमिल्सिना हुनुहुन्थ्यो । वहाँ पुराना सरकारी कर्मचारी एवं स्वास्थकर्मी पनि हुनुहुन्थ्यो । वहाँबाट केही जानकारी प्राप्त भयो । त्यो अविश्वसनिय थियो ।
२०२४ सालको चैत्र १२ गते राती ८ बजे नाइट स्कुल पढेर घार्मीको साथी (हिमलाल) को साथ घर फर्कदै हुनुहुन्थ्यो । २७ वर्षे उमेरका लक्का जवानलाई रातको त्यो अनौठो दृश्यले डर त लागेन तर अनौठो भने लागेको थियो । आकाश सफा थियो बादलको नामोनिशान थिएन । औंसी आउन केही दिन बाकी भएको हुँदा रात केही अन्धकार नै थियो । हातमा टर्चको उज्यालोमा दुई साथी गफिदै फर्कदै थिए । बाटुलेचौर नजिकै बोके चौतारो पुगे पछि आकाशमा उज्यालो चम्किलो वस्तु देखे ।
बादल नभएको सफा रातमा पनि आकाश चम्किए झै गड्याङ गुडुङ आवाज सुनियो । ठूलो बिस्फोटको आवाज आयो उज्यालो वस्तु उत्तर पश्चिम तर्फ लागेको देखे । राती के भएको राम्ररी चाल नै पाएनन् । भोलिपल्ट बिहान गाँउमा हल्लाखल्ला भयो । छिमेकीहरुले आफ्नो गह्रा (खेत)मा केही खसेको खबर दिए पछि हेर्न जाँदा खाल्डोमा गाडिएको पातो देखे । वहाँकै भनाइमा - ६ फिट जति गहिरो खाडल बनाएर गाडिएको १ इन्च जति बाक्लो पाता ६ फिट लम्बाइ र ४ फिट चौडाइको हल्का बिचको भाग फुलेको थियो । ठ्याक्कै चारपाते नभएर चारकुनो हल्का गोलो थियो ।
आफ्नै गह्रामा भेटिए पछि वहाँले त्यो बाक्लो कालो पाता दुइ चार जना साथी बटुलेर बोकाएर भैसीको गोँठको अगाडी ओछ्याउन काम लाग्ने भन्दै ल्याए । त्यहि रात सोही ठाँउ नजिकै बस्नुहुने हरिलाल तिमिल्सिनाले पनि सो चम्किलो वस्तु देख्नुभएको थियो । वहाँले पनि अनौठो वस्तु खसेको ठाँउ देखाउन भोलीपल्ट बिद्यार्थीहरुलाई लिएर जानु भएको थियो । बाटुलेचौरको स्कुलमा त्यतिबेला अमेरिकी पिसकोर भोलेन्टियर पनि पढाउन आएका थिए । उनले पनि सो स्थानलाई नजिकबाट नियाले । गाउँको वरपर बिभिन्न ठाउँमा खरानीहरु र केही बस्तु भेटिएको थियो ।
त्यो पातो गोठको अगाडी ओछ्याउदा माटो नलाग्ने गोबर सोहोर्न सजिलो पनि भएको थियो । गाँउलेले के वस्तु थाहा नपाए पनि करिव एक महिना पछि पोखराका त्यति बेलाका अञ्चलाधिश नन्दबहादुर मल्लले थाहा पाए पछि एक दिन घरमा हेर्न आए र यो त कार्यालयमा बुझाउनुपर्छ भनेर गए । त्यसबेलाको पञ्चायती कालको समय अञ्चलाधिश भनेको अञ्चलकै राजा सरहको ब्यक्ति । त्यसमाथि घरमा नै आएर यो कार्यालयमा बुझाउनु पर्छ भने पछि नाइँनास्ति गर्ने कुरै भएन । त्यसको केही दिनमा नै गाँउमा गाडी लिएर कर्मचारी आइपुगे र त्यो पाता अञ्चलाधिश कार्यालयमा लिएर गए । अञ्चलाधिश कार्यालय लगिएको सो पाता पछि कतै भेटिएन । कसैको भनाइमा यो केही दिन पछि बिन्द्यवासिनी स्कुल बाटुलेचौरमा नै फिर्ता ल्याइएको थियो भने भने कसैले अनुसन्धानको लागी अमेरिका लगिएको आशंका गरे ।
यो घटनालाई नै पोखरेलीले बिस्तारै बिर्सिए । यस घटनाको ३३ वर्ष पछि २०५७ चैत २० गते अमेरिकी गुप्तचर संस्था सिआईएले आफ्नो अति गोप्य भनिएको दस्तावेजहरु सार्वजनिक गर्यो । ति सार्वजनिक गरेका गोप्य दस्तावेजहरुमा एउटा गोप्य रिपोर्ट नेपालमा पनि अज्ञात उडिरहेको वस्तु (युएफओ) देखिएको उल्लेख गरिएको थियो । साथै कास्कीको आकाशमा देखिएको अज्ञात उडिरहेको बस्तु (युएफओ) दुर्घटना भएको थियो भनेर उल्लेख गरिएको थियो ।
381766843_832084715379115_7367262713505687377_n
दुर्घटनाग्रस्त भएको अज्ञात बस्तु पोखरा विमानस्थल देखी अन्दाजी ८ किलोमिटर उत्तर बाटुलेचौरको कालीखोला नजिकै २८°१५'४६" उत्तरी अक्षांस तथा ८३°५९'१०" पूर्वी देशान्तरमा खसेको थियो । २० हजार फिट भन्दा माथी दुर्घटना भएको यो अज्ञात यान खस्ने क्रममा १० किमिको वरपर यसका टुक्राहरु छरिएर खसेको थियो । त्यो रात आकाशबाट खसेको अज्ञात उडिरहेको बस्तुको अवशेष तल्लाकोट, अर्मलाकोट तथा तुरेपसलमा पनि भेटिएको थियो । त्यहि रात बाटुलेचौर बगैचामा पनि ठूलो समीको रुखको हाँगा र पातहरु समेत डढ्ने गरि सानो ताउलो जस्तो वस्तु खसेको तथा खरानी पनि भेटिएको थियो ।
सो समय अमेरिकी पिसकोर भोलेन्टियर पिट डाउन बाटुलेचौरमा नै बस्दथे । बाटुलेचौरमा रहेको बिन्द्यवासिनी स्कुलमा पढाउने भएको हुँदा उनको बसाइ बाटुलेचौरमा नै थियो । पिट, बाटुलेचौरको बस्नेतहरुको घरमा बस्दथे । बिदेशीलाई केही बढी जानकारी अबश्य हुनेछ भनेर उनलाई पनि सो वस्तु भेटिएको ठाँउमा देखाए । उनले जहाजको टुक्रा खसेको भने । फोटो पनि थुप्रै खिचे । तर अन्य जानकारी खासै दिएनन् । जहाजको टुक्रा भनिए पनि सो समय कुनै जहाज दुर्घटना नभएको हुँदा कौटुहलता भने रहिरह्यो । तर कोही पनि त्यस सम्बन्धी ज्ञाता नहुँदा बिस्तारै सो घटनालाई बिर्सन थाले ।
२०५७ चैत २० गते अमेरिकी गुप्तचर संस्था सिआईएले आफ्नो अति गोप्य भनिएको ९ लाख भन्दा बढी दस्तावेज सार्वजनिक गर्यो । ति सार्वजनिक गरेका गोप्य दस्तावेजहरुमा एउटा गोप्य रिपोर्ट नेपालमा पनि अज्ञात उडिरहेको वस्तु (युएफओ) देखिएको उल्लेख गरिएको थियो । जसमा २०३१ जेठ ३१ गते पठाइएको एक गोप्य रिपोर्टका अनुसार त्यतिबेला २०२४ फागुन ७ गते देखि चैत्र १२ गतेको विचमा नेपाल, भुटान तथा भारतको लद्दाखमा ६ पटक अज्ञात उडिरहेको बस्तु (युएफओ) देखिएको थियो । बिभिन्न ठाँउमा देखिएको अज्ञात उडिरहेको बस्तु (युएफओ) को आधारमा तीन वटा युएफओ रहेको अनुमान गरिएको थियो । अज्ञात उडिरहेको बस्तु (युएफओ) अन्तिम पटक कास्कीमा र लद्दाखमा देखिएको थियो । कास्कीमा देखिएको अज्ञात उडिरहेको बस्तु (युएफओ) दुर्घटना भएको थियो भने सो दुर्घटना भएको करिव डेढ घण्टा पछि लद्दाखको चाङ्ला पासमा अर्को अज्ञात उडिरहेको बस्तु (युएफओ) देखिएको थियो ।
380059218_832084878712432_5582416169337275737_n
त्यहि जानकारीका अनुसार पोखराको बाटुलेचौरमा देखिएको ३४ दिन अगाडी फागुन ७ गते गते राती ९ देखि ९:२५ को बिचमा ताप्लेजुङको घुन्सा ईलाकामा पनि चम्किलो प्रकाश सहितको लामो अज्ञात वस्तु उडिरहेको देखिएको थियो । सिआईएको रिपोर्टका अनुसार यो दुबै वस्तु अप्रत्यक्ष रुपमा देखिने युएफओ थियो । नेपाली जनमानसको मनमा बेवास्ता भएको यो वस्तु वास्तवमा युएफओ थियो भनेर सिआइएले रिपोर्ट गरेको छ भन्ने पनि आम पोखरेलीलाई थाहै पाएन ।
तर सो समय केवल नेपालमा मात्र होइन दक्षिण एशियामा भारतको लद्दाख देखी लिएर भुटानसम्म आकाशमा अज्ञात उडिरहेको बस्तु (युएफओ) देखिएको थियो भनिएको छ । पहिलो पटक फागुन ७, २०२४ मा राती ९ बजे तिर सिक्किमको लाचुंग, लाचेन, थांगु, मुगुथांग तथा छोलामु इलाकामा देखिएको थियो । छोलामुमा भने निकै कम उचाइमा देखिएको हुँदा यहाँ भने निकै ठूलो हावा चलेको जस्तो आवाज सुनिएको थियो भन्ने स्थानियले जानकारी दिएका थिए ।
यसै दिन अन्दाजी त्यहि समय पूर्वी नेपालको वोलाङचुलगोला र घुन्सा इलाकामा पनि लामो उज्यालो तिब्र गतिमा उडिरहेको वस्तु (युएफओ) देखिएको थियो । हल्का रातो र हरियो उज्यालोले दिउसो जस्तै उज्यालो बनाएको थियो । त्यो अज्ञात वस्तु देखिएको केही समयमा नै आकाशमा बिजुली चम्के जस्तै आवाज पनि आएको थियो ।
यसैको दुई दिन पछि फागुन ९ गते रातको साढे ९ बजेतिर फेरी थिम्पुको आकाशमा निलो उज्यालो रङ छर्दै युएफओ देखिएको थियो । यसको उज्यालो यति चर्को थियो कि मानिसहरुले दिउसोको उज्यालोसंग तुलना गरेका थिए ।
यसको १२ दिन पछि फागुन २१, २०२४ मा लद्दाखको चाङ्ला पास, फुक्चे तथा कोयुल इलाकामा दिउसो १ बजे तिर पनि अज्ञात उडिरहेको बस्तु (युएफओ) देखिएको थियो । पूर्वबाट पश्चिम तर्फ उड्दै गरेको रहस्यमय वस्तुले सेतो धुँवा फालेको देखिएको थियो । सेतो धुँवाको पछाडी भने रातो उज्यालो पनि देखिएको थियो । यसको साथै दुई पटक केही पड्किएको आवाज पनि सुनिएको थियो ।
चैत १२ गते पोखरामा अज्ञात वस्तु देखिएको रात ९ बजेर ५० मीनेट जाँदा यहाँ देखी अन्दाजी ७०० किमि पश्चिम लद्दाखको चाङ्ला पासबाट डेमचोक तर्फ अज्ञात उडिरहेको वस्तु (युएफओ) देखिएको थियो । फुक्चे, कोयुलका मानिसहरुले पनि यो अज्ञात रकेट जस्तो वस्तु देखेका थिए । पहेलो सेतो उज्यालो फाल्दै उडेको यो वस्तुको लामो सेतो उज्यालो पुच्छर जस्तो देखिएको थियो । करिव २०-२५ हजार फिटको उचाइमा उडेको देखिएको हुँदा धेरैले नजिकैबाट यसको आभास पाएका थिए ।
यसरी भारत, नेपाल र भुटानमा देखिएको अज्ञात वस्तुको अध्ययन गरेका बैज्ञानिकहरुका अनुसार यस क्षेत्रमा तीनवटा युएफओ देखिएको अनुमान गरेको थिए । पहिलो चम्किलो प्रकाश सहितको लामो युएफओ जुन नेपालको ओलाङचुङ गोला तथा घुन्सामा र सिक्किममा देखिएको थियो । दोश्रो निलो प्रकाश भएको युएफओ जुन भुटानमा देखिएको थियो । भने तेश्रो सेतो र रातो प्रकाश फेक्ने युएफओ जुन काश्मिरी सिमाना र लद्दाख क्षेत्रमा देखिएको थियो ।
यस घटनाको करिव ४ महिना पछि साउन ८, २०२५ मा काठमाडौ स्थित अमेरिकी दुतावासको रक्षा सम्बन्धी शाखाले अमेरिकी सरकारलाई जानकारी गरायो, "चैत्र १२ गतेको राती केही अनौठो अन्तरिक्षबाट आएको वस्तु दुर्घटनाग्रस्त भयो । दुर्घटना क्षेत्रबाट यानको चार टुक्रा मध्य तीन टुक्रा नेपाली सेनाको सहयोगले प्राप्त भयो । तर एउटा कोन आकारको टुक्रा भने प्राप्त गर्न सकिएन । साथै केही खरानी पनि प्राप्त भयो"
तर यो भन्दा अगाडी नै खम्पा आन्दोलनको लागी सहयोग गर्न गोप्य रुपमा बसेका सिआईएका ब्यक्तिहरु गोप्य रुपमा सो ठाँउमा पुगेर पनि अध्ययन गरिसकेका थिए । घटनाको केवल १७ दिन पछाडी सिआईएको राइट पेटर्सन एयरफोर्स बेस ओहियोलाई सम्पूर्ण जानकारी अति गोप्य भन्दै पठाइ सकेको थियो । यस जानकारीमा केवल एक टुक्रा ४ फिट चौडा र ६ फिट लामो बाक्लो धातुको पाताको बारेमा मात्र जानकारी पठाइएको थियो ।
यसको साथै अर्को एक गोप्य रिपोर्टका अनुसार अमेरिकी राजदुतावासको सक्रियतामा नेपाली सेना तथा अमेरिकी राजदुतावासको रक्षा विभाग (DATT) सो स्थानमा करिव एक महिना बसेर खोजविन र अनुसन्धान गरेको भन्ने देखाँउछ । एक महिनाको खोजविनमा दुर्घटना पछि छरिएको सामग्रीको बिश्लेषण संकलन गर्ने तथा तस्विर खिच्ने कार्य गरिएको थियो भनिएको छ । यसको साथै केही सिआईएका विज्ञहरु असार २ देखी १२ गतेसम्म घटनास्थल नजिकै बसेर अनुसन्धान थालेका थिए ।
अमेरिकी लेखक एवं युएफोलोजिष्ट डोनाल्ड एडवर्ड किहो (Donald Edward Keyhoe)ले पनि पोखरा एवं दक्षिण एशियाको उत्तरी हिमाली क्षेत्र नजिकै देखिएको युएफओको अध्ययन गरेका थिए ।
अमेरिकी गुप्तचर संस्था सिआईएको संलग्नता
५६ वर्ष अगाडी लामाचौर बाटुलेचौर क्षेत्र आजको जस्तो सुगम थिएन । तर पनि यो अज्ञात वस्तुको दुर्घटनाले अमेरिकी र बेलायती बैज्ञानिकहरुको ध्यान खिच्न सफल भयो । गाँउलेहरुले खासै जानकारी पाएको भेटिएन तर अमेरिकी गुप्तचर संस्था सिआईएले अति नै गोप्य रुपमा अनुसन्धान थालिसकेको थियो ।
यो दुर्घटनामा भेटिएको वस्तुहरु के हो भन्ने थाहा नहुँदा घटनाको एक महिना पछाडी २०२५ सालको बैशाख ११ गते नेपाली सेनाले दुर्घटना क्षेत्रमा भेटिएको भन्दै दुइ वटा अवशेष अमेरिकी विज्ञहरुलाई देखाएका थिए । अमेरिकीबिज्ञहरुले बिशेष चासो देखाए पछि जेठको ७ गते दुर्घटना भएको क्षेत्रको सम्पूर्ण जानकारी तथा तस्विरहरु नेपाली सेनाले देखाए ।
जब यि सामग्री र तस्विरहरु सिआईएको हात पर्यो । त्यसपछि यसको अनुसन्धान र बिश्लेषण गर्न अमेरिकी Moon Dust Project अगाडी सर्यो । Moon Dust Project को काम दुर्घटना भएर भेटिएको सामग्रीको बिस्तृत अध्ययन गर्ने थियो । यस बिच नेपाली सेनाले भेटिएको एक अर्को टुक्रा पनि अमेरिकी राजदुतावास मार्फत बुझायो । यो प्रोजेक्टले अनुसन्धान थाले पछि यि सामग्री मानवनिर्मित यानको नभएको भन्ने जानकारी अमेरिकी गुप्तचर संस्थालाई दियो । अब अनुसन्धानले मोड लिन थालेपछि केही अमेरिकी बिज्ञ तथा सिआईए नेपाल आए । असार २ देखी १२ गतेसम्म घटनास्थल नजिकै बसेर अनुसन्धान थाले । अनुसन्धान पछि काल्पनिक यानको स्केच बनाउन सफल पनि भए ।
380067940_832084498712470_7124681461765126748_n
यता बेलायती अनुसन्धान टोली पनि गोप्यरुपले सक्रिय रहेको पछि सिआईएले थाहा पायो । जब बेलायती अनुसन्धानको रिपोर्ट प्रकाशित भयो जसका अनुसार भेटिएको टुक्रा मध्य एक टुक्रा सोवियत अन्तरिक्ष यान कसमस २०८ को पछाडीको भाग रहेको लेखिएको थियो । सोवियत संघले चार दिन अगाडी चैत्र ८ गते २०२४ मा सो अन्तरिक्ष यान काजाकिस्तानबाट प्रक्षेपण गरेको थियो । यहि यानको पछाडीको भाग नै बाटुलेचौरमा भेटिएको टुक्रा मध्यको एक हो भनिएको थियो ।
यसै बिच २०७६ सालमा अमेरिकी गुप्तचर संस्था सिआईएको तर्फबाट दुई अमेरिकी पोखराको लेकसाइडमा करिव एक सप्ताह बसि बाटुलेचौरमा केही ब्यक्तिसंग गोप्य भेटघाट गरेको भन्ने जानकारी पाएँ । ति दुइ अमेरिकीले सो समयको कुनै वस्तु कसैगरि कुनै घरमा रहेको भए उनिहरुले सो बस्तु उपलब्ध गराइदिए, उचित रकम दिने लालच पनि देखाएर गएका थिए ।
साथै यो दुर्घटनाको सम्बन्धमा अनुसन्धान गर्न नेपाली सेनाको पनि सहयोग अमेरिकी गुप्तचर संस्थाले पाएको भनिए पछि मैले मेरा मित्र नेपाली सेनाका पूर्व जर्नेल एवं सैनिक इतिहासका ज्ञाता प्रेमसिंह बस्न्यातलाई यस सम्बन्धी जानकारी हासिल गर्न खोज्दा सेना भित्र सुनेको तर बिस्तृतमा खासै जानकारी नभएको भन्ने जवाफ पाएँ ।
घटनाको अर्को पक्ष
यहाँ यस घटनालाई अर्को पक्षबाट पनि हेर्नुपर्छ । तिब्बतबाट दलाइ लामा पलायन हुनुको पछाडी सिआईएको ठूलो हात थियो । सिआईएले दलाई लामाको लागी ठूलो धनराशी खर्चेको थियो । त्यस घटना पछि नेपालको चीन सिमानामा भएको खम्पा आन्दोलनमा पनि सिआईए निकै सक्रिय थियो । खम्पाहरुलाई खाद्यान्न तथा हतियारको आपुर्ति सिआईएले नै गरेको थियो । यो क्रममा नेपाल सरकारलाई कुनै जानकारी नै नदिइ नेपाली भूमीमा अमेरिकी गुप्तचर विमानहरु पनि उडिरहेको थियो । केही STOL प्रबिधीको पिलाटस पोर्टर विमानहरु पनि भाडामा ल्याइएको थियो । तसर्थ यस दुर्घटना कतै अमेरिकी गुप्तचर विमानको दुर्घटना त होइन भन्ने आशंका पनि बनाउन सकिन्छ । दश किमी क्षेत्रमा भेटिएका विमानका टुक्राहरु अमेरिकी गुप्तचर संस्था सिआईएको सक्रियतामा संकलन गर्नु र गोप्य रुपमा अमेरिका पठाउनुको रहस्य कतै दुर्घटना अमेरिकी गुप्तचर विमानको भएको त थिएन भन्ने पनि शंका गर्न सकिन्छ ।
अमेरिकी गुप्तचर संस्था सिआईएको चीनिया सिमा नजिकै रहने नेपालको भूभागमा कहिले खम्पाको सहयोगमा, कहिले यतीको खोजीमा र कहिले युएफओको खोजीको नाममा नेपाल भित्रिएर अन्य अनुसन्धान गरिरहेको त छैन भन्ने नेपाल सरकारले पनि बिशेष चासो राखेर अध्ययन गर्नुपर्छ । नेपालको आन्तरिक मामलामा मात्र होइन नेपालको भूमी प्रयोग गरेर भारतीय र चीनिया सरकारका बिरुद्ध पनि सिआईए सक्रिय रहन सक्ने तर्फ पनि नकार्न सकिदैन ।
अन्तमा भन्नुपर्दा त्यो समय कुनै अज्ञात यानको दुर्घटना भएको तथ्य सावित भइसकेको छ । सिआईएको गोप्य दस्तावेजहरु बाहेक अहिले प्रमाणित गर्ने कुनै आधारहरु पनि भेटिदैन । असी वर्ष नजिकै पुगेका एक दुइ प्रत्यक्षदर्शी बाहेक अन्य केही भेटिदैन । नेपाली सेनाको पनि उपस्थिती रहेको तथा नेपाली सेनाले तस्विरहरु पनि लिएको भन्ने देखिए पनि नेपाली सेनासंग केही दस्तावेज सुरक्षित रहेको भन्ने पनि देखिदैन । तसर्थ निर्क्योलको रुपमा भन्नुपर्दा सो समय बाटुलेचौरको आकाशमा विमान दुर्घटना भएको तथ्य सत्य नै भए पनि यो विमान वास्तवमा बहुचर्चित युएफओ नै थियो वा अमेरिकी गुप्तचर विमान थियो भन्ने यकिन गर्न कठिन भएको छ । तर हामीसंग कुनै आधार र प्रमाण नहुँदा अमेरिकी गुप्तचर संस्थाको लिखित दस्तावेजको आधारमा अज्ञात उडिरहेको वस्तु (युएफओ) भएको स्विकार्नु पर्छ ।