इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको सुन्दरहैँचा नगर अस्पतालका चिकित्सकमाथि हातपात तथा दुर्व्यवहार भएको छ। हेटौंडामा चिकित्सकमाथि भएको कुटपिटको घटना सेलाउन नपाउँदै मोरङमा पनि चिकित्सकमाथि हातपात तथा दुर्व्यवहार भएको हो।

चिकित्सकहरुको सुरक्षाको ग्यारेन्टी र हेटौंडा घटनामा संलग्नहरुलाई कारबाही हुनुपर्ने मागसहित देशभर आन्दोलित छन्। बारम्बार चिकित्सकमाथि कुटपिट तथा दुर्व्यवहार हुँदै आएको विषयमा राज्य गम्भीर भएर सोच्नु पर्ने र सुरक्षाको ग्यारेन्टी गर्नेपर्ने उनीहरुले बताएका छन्।

बुढीगंगा गाउँपालिका–७ का ३८ वर्षीय शुक्रराज माझीले सुन्दरहरैँचा नगर अस्पतालका मेडिकल अधिकृत डाक्टर सन्दीप पोखरेलमाथि हातपात तथा दुव्र्यवहार गरेका छन्। बिहीबार माझीले अस्पतालको इमर्जेन्सी वार्डमा डिउटीमै रहेको डाक्टर पोखरेलमाथि हातपात तथा दुव्र्यवहार गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु)डाक्टर विपिन यादवले जानकारी दिए।

बिहीबार सार्वजनिक बिदा भएको हुँदा अस्पतालको बहिरंग सेवा ९ओपिडी० बन्द रहेको अवस्थामा शुक्रराजले आफ्ना बुवा तारिणीप्रसाद माझीलाई उपचारका लागि लगेका थिए। तारिणीप्रसादलाई ज्वरो आएको भन्दै शुक्रराजले ओपिडी बन्द भएपछि अस्पतालको इमर्जेन्सी कक्षमा लगेको अस्पताल प्रशासनले जनाएको छ।

तारिणीप्रसादलाई इमर्जेन्सी कक्षमा डिउटी गरिरहेका डाक्टर पोखरेलले स्वास्थ्य परीक्षण पश्चात उनलाई ज्वरो नभएको र अवस्था सामान्य रहेको छोरा शुक्रराजलाई जानकारी गराए। बुवाको अवस्था सुनाउना साथ आक्रोशमा उत्रेका शुक्रराजले डाक्टर पोखरेलमाथि हातपात तथा गालीगलौज गर्दै दुव्र्यवहार गरेको यादवले बताए। मेसु यादवले भने, ‘एक्कासी शुक्रराजले डाक्टरलाई मुक्का प्रहार गर्न खोज्दै गालीगलौज गरे। त्यहाँ रहेका अस्पतालका सुरक्षा गार्ड र बिरामीका कुरुवाले शुक्रराजलाई समातेर घटना हुन दिएनन्। उनका बुवाको अवस्था सामान्य नै थियो।’ 

उपचारमा संलग्न कसैलाई पनि कुटपिट, गालीगलौज तथा दुव्र्यवहार गर्न नहुने र यस्ता घटना निन्दनीय भएको बताउँदै, मेसु यादवले भने, ‘पछिल्लो समय चिकित्सकले सबै ठाउँमा हातपात तथा दुव्र्यवहार सहनु परेको छ। बिरामीलाई कुनै पनि चिकित्सकले नराम्रो गरौं भन्ने सोचेको हुँदैन। आफूले उपचार गरेको बिरामी निको पारेर घर फर्काउन पाउँदा आनन्द हुन्छ।’

डाक्टर पोखरेलले डिउटीमै रहेको अवस्था आफूमाथि दुव्र्यवहार र हातपात भएको बताए। तर, सामान्य हातपात मात्रै गरेकाले शरीरमा कुनै चोटपटक भने नलागेको डाक्टर पोखरेलको भनाइ छ।  यो खबर आजको नागरिक दैनिकमा प्रकाशित भएको छ ।