इटहरीः पछिल्लो समय इटहरी उपमहानगरले नगरवासीको हित हुने एकपछि अर्को निर्णय गर्न थालेको छ । नगरवासीलाई निःशुल्क शब बहान र एम्बुलेन्स सेवाको सुरुवात गरे लगत्तै इटहरी क्षेत्रका सरकारी (सामुदायिक) विद्यालयहरूमा अध्ययनरत छात्रछात्राहरुलाई अबदेखि दिवा खाजामा पकाएरै खुवाउनुपर्ने अनिवार्य नियम बनाएको छ । 

उपमहानगरपालिकाले अबदेखि विद्यार्थीलाई तागतिलो खानेकुरा खुवाउन अनिवार्य नियम बनाएको हो । जङ फुट नखुवाउन उपमहानगरले पहिलो पटक दिवा खाजाको टेण्डर जारी गरेको हो ।

उपमहानगरपालिकाले हरेक दिन फरक–फरक खाजाको तालिकासहित बोलपत्र आह्वान समेत गरी सकेको छ । उपमहानगरपालिका खरीद शाखाका अनुसार आइतबार प्रति विद्यार्थी २१० ग्राम तीन किसिमका फलफूल खुवाउनुपर्नेछ । यस्तै, सोमबार भुटेको अण्डा र चिउरा खुवाउनुपर्नेछ । साहाकारीका लागि भने मटरसँगै पनीर र चिउरा खुवाउनुपर्नेछ । मंगलबार मिक्स गेडागुडीसँगै चिउरा खुवाउपर्नेछ । बुधबार चामलको खीर र तरकारी खुवाउनुपर्नेछ । 

उपमहानगरपालिकाद्दारा सार्वजनिक गरिएको सूचनामा विहीबार दही, चिउरा र तरकारी खुवाउनुपर्नेछ । यस्तै, शुक्रबार खसी वा कुखुराको मासु र चिउरा खुवाउनुपर्नेछ । साहाकारीका लागि भने मटर–पनीर र चिउरा खुवाउनुपर्नेछ ।  

सार्वजनिक विद्यालयहरूमा बालबालिकालाई विद्यालयमा टिकाउन र गुणस्तर वृद्दि गर्न दिवा खाजा कार्यक्रम कक्षा १ देखि ६ सम्मका विद्यार्थीका लागि खुवाउँदै आएको छ । 

यसअघि संघीय सरकारले स्थानीय तहमार्फत विद्यार्थीको दिवा खाजाको रकम विद्यालयलाई प्रदान गर्दै आएको थियो । तर, विद्यालयमा समयमै रकम नआउँदा खाजा खुवाउन समस्या हुने गरेको विद्यालय प्रशासनले जनाउँदै आएको थियो ।

इटहरी उपमहानगरपालिकाले अब नयाँ तालिका सार्वजनिक गरेसँगै दिवा खाजा कार्यक्रमका लागि चालु आर्थिक वर्षमा नौं करोड ३२ लाख ६ हजार २० रुपैयाँ ८८ पैसा खर्च हुने उपमहानगरपालिकाले जनायो । 

इटहरीका मेयर हेमकर्ण पौडेलले संघीय सरकारबाट प्राप्त १ करोड ९८ लाख रुपैयाँ ८४ हजार संघीय सरकारबाट प्राप्त अनुदान र बाँकी उपमहानगरपालिकाले दिवा खाजामा लगानी गर्ने बताए ।

इटहरी क्षेत्रमा दिवा खाजा खुवाउनुपर्ने ५० वटा शिक्षालय रहेका छन् । जसमा सामूदायिक, धार्मिक र बालविकास केन्द्र पर्दछन् । यी विद्यालयका आठ हजार २८ जना दिवा खाजा कार्यक्रमबाट लाभान्वित हुने उपमहानगरपालिका खरीद शाखाका खेम श्रेष्ठले बताए ।