इलामः डेङ्गी, स्क्रवटाइफस र भाइरल ज्वरोका बिरामी बढेपछि जिल्ला अस्पतालमा ‘बेड’ अभाव भएको छ ।

बेड अभाव भएसँगै अस्पतालमा भर्ना भएका बिरामीलाई भुँईँमै राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनले जनाएको छ ।

पछिल्लो समय  अस्पतालमा डेङ्गी, ज्वरो र स्क्रवटाइफसका बिरामी बढेपछि ‘बेड’ अभाव भएको र इमरजेन्सीमा आएका बिरामीलाई भुईँमै राखेर उपचार गर्नु परेको अस्पतालका इमरजेन्सी इञ्चार्ज टिका लुइँटेलले बताए। उनले भने   अहिले दैनिकजसो ७० देखि ८० जनाको सङ्ख्यामा इमरजेन्सीमा बिरामीहरू आउने गरेका छन्, डेङ्गी, स्क्रवटाइफस र भाइरल ज्वरोका बिरामीको चाप उच्च छ ।

‘जीउ दुख्ने, हातखुट्टा करकर खाने, आँखाका दाना दुख्ने, प्रेसर कम हुने, ज्वरो अत्यधिक आउने लक्षणहरू हुन्छ’ लुइँटेलले भने, ‘अस्पतालमा राखेरै उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई भुईँमै भएपनि उपचार गरिरहेका छौँ ।’

अस्पतालको ओपीडीमा दैनिक ३ सय ७५ जनासम्म बिरामी आउने गरेको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए। ‘इमरजेन्सीमा जम्मा ११ ओटा बेड छन् । इमरजेन्सीमै आएका बिरामीलाई बेड नपुगेपछि भुईँमै राखेर पनि सेवा दिइएको छ’ व्यवस्थापक खतिवडाले भने, ‘ओपीडीमा पनि बिरामीको सङ्ख्या थामिनसक्नु छ । जसोतसो धान्नु परेको छ ।’

व्यवस्थापक खतिवडाले ०८० साउन महिना र भदौ १० गते सम्ममा जाँच गराउन आएका मध्ये ४१ जनामा डेङ्गु पुष्टि भएको छ । सोही अवधिमा २४ जनामा स्क्रवटाइफस देखिएको छ । यीमध्ये डेङ्गुका १० जना र स्कपटाइफसका पाँच जना बिरामी भने अस्पतालमै भर्ना भएर उपचार गराएका छन् ।

जिल्लाको फाकफोकथुम गाउँपालिकाबाट उपचारका लागि आउनु भएकी माया थेवेले बेड नपाउँदा असहज भएको बताए । उनले भने  ज्वरोले सिकिस्त पारेर अस्पताल आएको भुईँको चिसोले ज्यानै लैजाला जस्तो छ ।’

बिरामीको चाप रहेपनि उपचार गर्न आउनेलाई अस्पतालमै उपचार गरिरहेको र अन्यत्र रेफर नगरिएको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाको भनाइ छ ।

जिल्लामा हालसम्म २ सय ३ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको इलामका इन्सेक प्रतिनिधि मनोज अधिकारीले बताएका छन ।