इटहरीः मंगलबार  बिहान मोरङको उर्लावारीमा मोटरसाइकल दुर्घटनामा परी कन्काई हस्पिटल बिर्तामोडमा कार्यरत डाक्टर निरज यादवको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तरगत उर्लाबारीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक डा.यादवको मृत्यु भएको हो । मंगलबा्  बिहान ६.१५ बजे उर्लाबारी– ४ स्थित ऊ सत्य साई पेट्रोल पम्पनजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको यादवले चलाएको प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र–३–००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका सप्तरी तेरहौता ५ घर भएका २८ वर्षीय डा.यादवको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर देवेन्द्र दासले जानकारी दिए । ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एमबीबीएस गरेका डा. यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत रहेका थिए । हस्पिटलमा ड्युटी गर्नका लागि घरबाट आउँदै गर्दा उनी दुर्घटनामा परेको प्रहरीले जनाएको छ  ।