बर्दियाः बर्दिया जिल्लाका केही स्थानीय तहमा भएको अविरल वर्षा र बाढीका कारण चार सय ५० घर डुबानमा परेको छन् भने तीन जना बेपत्ता भएका छन् । डुबानका कारण विस्थापित भएकाहरूलाई विद्यालय, सामुदायिक भवनहरूमा राखिएको छ  । बारबर्दिया नगरपालिकाका पाँच, ६, सात र आठ, बाँसगढी नगरपालिकाका आठ, नौ  र गुलरिया नगरपालिकाका– पाँच र  आठ नम्बर वडाका ४  सय ५० घरमा डुबानमा परेका छन् ।

बारबर्दिया नगरपालिका–५ को गुमस्ता, जब्दहवा, सदाशिवका २८ घर, ६ नम्बर वडाका १५ घर, सात नम्बर वडाका ५७ घर र भगतपुर र दुध्धाका  ५२  गुलरिया नगरपालिका– पाँचका ६० घर र आठनम्बर वडाका १८ घर र बाँसगढी नगरपालिकाको आठ नम्बर वडाका २ सय १० घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय, बर्दियाले जनाएको छ ।

photo2023081502bardiya.

बाढीका कारण विस्थापित भएका १ सय ७४ जनालाई सरस्वती माध्यामिक विद्यालय भगतपुर, युवक  माध्यामिक विद्यालय दुध्धा, रेशमपुर सामुदायिक भवनमा पाल टाँगेर बसेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले बताउनु भयो उहाँले क्षतिको विवरण सङ्कलन गर्ने कार्य जारी रहेको र ले क्षतिको पूर्ण विवरण आइनसकेको बताए ।

यसैगरी, बबई नदीमा दाउरा निकाल्ने क्रममा बगेर तीन  जना बेपत्ता भएका छन् ।  बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा विभिन्न स्थानबाट तीन जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेहरूमा गुलरिया नगरपालिका –१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारू, वडा नम्बर ८ थपुवा गाउँका २७ वर्षीय अक्षयकुमार थारू र गुलरिया नगरपालिका –२ का २३ वर्षीय महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मतबहादुर बोहोराका अनुसार बेपत्ता भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी सहितको टोलीले खोजी गरिरहेको छ । दाउरा तथा काठहरू निकाल्ने क्रममा नदी तटका स्थानीयहरू नदीमा जाने क्रम बढेपछि स्थानीय प्रशासनले नदीमा दाउरा निकाल्ने नाममा नदीमा नपस्न र नदी किनारमा नजान अनुरोध गरेको इन्सेकका जिल्ला प्रतिनिधि प्रकाश पौडेलले जानकारी दिएका छन ।