महेन्द्र गुरागाई 

इटहरी उपमहागरपालिका अन्तर्गत सङ्गीतचौक बजार व्यवस्थापन समितिले विभिन्न समयमा सङ्गीतचौकलाई व्यवस्थापन गर्दै आइरहेको थियो । यसै क्रममा सडक योजना कार्यालयमा विभिन्न चरणमा गएर मौखिक रुपमा संङ्गीतचौकको मूलद्वारमा भएको डिभाइडर हटाउनको लागि  अनुरोध गरेपश्चात डिभाइडर हटाइएको थियो । हाल उक्त डिभाइडर विना जानकारी पुनः लगाइएको हुँदा आम उपभोक्तालाई असर परिरहेको छ । त्यस कार्यालयबाट डिभाइडर लगाउने काम पटक पटक गरिएको कारण आम उपभोक्ता र संङ्गीतचौक आसपासमा व्यवसाय गर्दै आउनु भएका व्यवसायीहरुलाई प्रत्यक्ष असर परिरहेको तथा व्यवसायीहरुको सामान ल्याउने ठुला मालवहाक सवारी साधन समेत भित्र छिर्न असजिलो भइरहेको छ । त्यती मात्र होइन,  आम उपभोक्ताहरुको सवारी साधन आवत जावतमा समेत दिनप्रतिदिन कष्टकर भइरहेको छ । 

संङ्गीतचौक देखि निस्कने मार्गलाई रोक लगाई संङ्गीतचौक छिर्नका लागि एकतर्फी बाटो खुलाई उक्त डिभाइडर हटाइदिनु हुनका लागि संङ्गीतचौक बजार व्यवस्थापन समितिले रानी विराटनगर, इटहरी धरान सडक योजना कार्यालय इटहरी, सुनसरीलाई ध्यानाकार्षण पत्र बुझाउने काम गरिसकेको छ । त्यसक्रममा सडक योजना कार्यालयका इन्जिनियर प्रवत्ता मार्फत जानकारी भएअनुसार इटहरी उपमहानगरपालिका र ६ नं.वडा कार्यालयले चाहेमा उक्त कार्य सम्भव भएको बताउनु भएको थियो । सोही अनुरुप संङ्गीतचौकमा व्यवसाय गर्दै आउनुभएका आम व्यवसायीहरु इटहरी उपमहानगरपालिकाको ६ नं.वडाकार्यालयमा आफ्नो ध्यानाकाषर्ण पत्र बुझाउन गएका थियौं । ६ नं. का वडा अध्यक्ष बाहिर निक्कन लाग्नु भएको हुँदा नगरपालिकाको प्राङ्गणमा भेट भयो । सोही क्रममा हामीले हाम्रा कुराहरु राख्यौं । संङ्गीतचौकको मुलद्वारमा भएको डिभाइडर खुलाइदिनको लागि अनुरोध गरेका थियौं ।

तर वहाँले आफ्नो जिम्मेवारी नभएको स्पष्ट कुरा गर्नुभयो । डिभाइटर लगाउनका लागि तपाईले निर्देशन दिनुभएको थियो भनेर सडक आयोजनाले हामीलाई जानकारी दिनुभएको कुरा राख्दा वहाँले सामाजिक संजालमा सडक आयोजनाका प्रवत्ताले बोलेको कुरा हेर्नुस अनि कुरा राख्नुहोला भनेर आफ्नो जिम्मेवारीबाट पछि हट्ने काम गर्नुभएको छ । संङ्गीतचौक ६ नं. वडामा पर्दैन ? संङ्गीतचौकमा व्यवसाय गर्दै आउनु भएको तमाम व्यवसायीहरुले व्यावसाय नभएर दिनप्रतिदिन घट्दो क्रममा रहेको घरभाडा तिर्न, बैंकको व्याज तिर्न अप्ठारो रहेको जानकारी गराउँदासम्म व्यवसायीहरुको आवाज नसुनी वडाअध्यक्ष नगरप्रमुखसँग गएर आफ्नो कुरा राख्नुहोला भनि तर्किनु भएको देखेर आश्चर्य चकित भएका छौं । 

367512433_975580883765692_1794977970581064868_n

त्यसैक्रममा आमव्यवसायीहरुको समस्या लिएर हामी नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीको कार्यालय पुग्यौं । त्यहाँ पुगेर हाम्रो समस्या राख्ने कोसीस गर्यौ । शुरुमा हामीलाई प्रतिक्षालयमा राखियो । एसपी सर आउनु हुन्छ । तपाईहरुको समस्या राख्नुहोला भन्ने जानकारी भएपश्चात सम्पूर्ण व्यवयायी प्रतिक्षा गरेर बस्यौं । करिब १ः३० मिनेट सम्म हामीले प्रतिक्षा गर्दा समेत हामीलाई भेटगर्नका लागि न एसपी आउनुभयो न अन्य सम्बन्धीत पदमा बस्नुभएको व्यक्ति आउनु भयो । फेरी हामीले ध्यानाकार्ष पत्र लिएर आएका छौं दर्ता गरिदिनु प‍र्यो भनेर आफ्ना कुरा राख्दा माथिबाट तोक लगाएर दर्ता हुन्छ भन्ने जवाफ आयो हामीले हाम्रा समस्या राखिदिनुहोस् हाम्रो ध्यानाकर्षण पत्र दर्ता गरिदिनुहोस भनि बारम्बार अनुरोध गर्दा समेत संङ्गीतचौकको आम व्यवसायीहरुको कुनै कुरा सुनवाई नभएपछि ध्यानाकार्षण पत्र त्यही छोडेर दर्ता गरेर हामीलाई दर्ता नं. दिनुहोला भनेर हामी सबैजना फर्किने बाध्य भयौ । 

यसरी सरकारी निकायमा आम व्यवासायीहरु मिलेर आफ्नो समस्या राख्न जाँदा हाम्रो समस्याहरुलाई नसुन्ने कस्तो निकाय होला ? निकम्बा सरकारी कार्यालय जसको कुनै आँखा छैन, कान छैन, अनि मुख पनि रहेनछ । कोशी प्रदेश सुनसरी जिल्लाको इटहरीमा रहेको नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालयमा भएको वेथितिका बारेमा केही बोल्न बाध्य भएको छु । जनताका समस्याहरु समाधान गर्नका लागि बसेको ट्राफिक व्यवस्थापन कार्यालयले निच, घिनलाग्दो, मानवता नभएको जस्तो व्यवहार हामीसँग गर्‍यो भने तपाई व्यक्तिगत समस्या लिएर जाँदा कुन किसिमको व्यवहार गर्लान सोच्न सक्नुहुन्छ ।

हामी डिभाइडरको समस्या भएको हुँदा तपाईहरुले गर्न सक्ने सहयोग गरिदिनु होला भनि अनुरोध पत्र बुझाउन गएका थियौं । तर हामीलाई त्यहाँ गरिएको व्यवहार कस्तो थियो भने दुश्मन जस्तो यिनीहरुको काम नभएर किन आएका हुन् । यिनीहरुलाई सडक आयोजना पठाइदिनु होला हाम्रो समस्या होइन भन्ने कुरा समेत सुन्नमा आयो। पार्किङ्गको समस्याले गर्दा साइडमा रहेको दोहोरो बाटोमा फुटपात रहेर ठुला मालवहाक गाडी पस्न समेत समस्या रहेको जानकारी गराउनका लागि गएका थियौं ।  यसरी एउटा सरकारी कार्यालयले गर्ने व्यवहार सहि भयो र ? एसपीले गरेको व्यवहार प्रति सङ्गीतचोक व्यवसायीहरुको घोर आपत्ती रहेको छ ।

संघ, संस्थाहरुले आफ्नो क्षेत्रमा भएका समस्यालाई राख्न पाउनुपर्ने अधिकारलाई कुष्ठित गर्ने काम भएको छ । ट्राफिक कार्यालयका एसपिले गरेको अर्मायदित, अशोभनिय, तुच्छ तथा घिनलाग्दो कार्यको भर्सना गर्दछौं । त्यसपछि हामी सम्पूर्ण व्यवसायीहरु नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालयबाट बाहिर आयौं आजका दिन सम्म पनि ध्यानाकार्षण पत्र दर्ता हुने काम भएको छैन हामी निरन्तर सम्पर्कमा रहेका छौं । 

त्यसपछि हामी इटहरी उपमहानगरपालिकाको नगरप्रमुखलाई भेट गर्न गएका थियौं वहाँले हामीलाई १ः०० बजेको समय दिनुभएको थियो । सोही अनुसार हामीले नगरप्रमुखलाई भेट गर्‍यौं । संङ्गीतचौक बजार व्यवस्थापन समितिले नगरपालिकाको लागि समेत ध्यानाकार्षण पत्र लिएर गएका थियौं । संङ्गीतचौक व्यवस्थाप व्यवस्थापन समितिका सचिवले नगरप्रमुखलाई ध्यानाकार्षण पत्र सुनाउने काम गर्नुभयो । सौहार्दपुण वातावरणमा हामीले आफ्ना कुराहरु राख्ने काम गरियो नगरप्रमुखबाट हामीले राम्रै प्रतिकृया पायौं । डिभाइडरको बिषयमा सडक र ट्राफिकसँग छलफल गरि तपाईहरुको समन्वयमा काम अगाडि बढाउँछु  भन्नुभयो  । संङ्गीतचोकलाई मैले आफ्नो तर्फबाट गर्ने सहयोग  गर्ने छु भन्नुभयो । भदौ महिना भित्रनै फुटपातमा रहेका समस्याहरुलाई समाधान गर्ने कुरा वहाँले राख्नुभयो । तपाईहरु प्रपोजल लिएर आउनुहोला बजेट विनियोजन गर्ने काममा म सहयोग गर्नेछु भन्ने  आश्वसन पनि वहाँले दिनुभयो । 

यसरी एउटा प्रतिनिधिले गर्नुपर्ने भूमिका वा सरोकारवालाले दिनुपर्ने आश्वासन हामीलाई दिने कार्य गर्नुभएकोमा नगरप्रमुखलाई धन्यवाद दिन चाहन्छौं । तर ट्राफिक कार्यालयमा रहेका एसपी जसले हामीलाई शत्रु जस्तो व्यवहार गर्नुभयो । त्यसप्रति हामी धेरै दुखी भएका छौं । हामी हाम्रो व्यवसाय दिनप्रतिदिन घट्दो क्रममा भएको समस्याहरु देखापर्न थालेको हुँदा आफन समस्याहरुलाई सरोकारवालाहरुले सम्बोधन गरिदिनुहनेछ भन्ने आशा लिएर गएका थियौं । त्यसकारण सडकले, वडा अध्यक्षले र ट्राफिकले गरेको गैर जिम्मेवारहिन भनाईलाई संङ्गीतचौक बजार व्यवस्थापन समितिले गम्भिर रुपमा लिएको जानकारी सम्पूर्ण आम व्यवसायी, घरबेटी, तथा आम जनता समक्ष राख्न चाहन्छौं । 

यस किसिमको व्यवहार व्यक्तिगत वा संस्थागत रुपमा कसैलाई नगरियोस् । सर्वसाधारण जो कोही सबैलाई गर्ने व्यवहार एउटै गरियोस् र सरोकारवाला सरकारी वा गैर सरकारी र स्थानीय निकायका भएको वेथितिहरुलाई सुधार्ने काम तत्काल गरियोस् । यसैमा सबैको कल्याण हुने छ ।