इटहरीः यतिबेला पुनः इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिका बिच सीमा विवाद उत्कर्षमा पुगेको छ । ३ दिन अगाडि धरानका मेयरको निर्देशनमा इटहरीको पानीपिया क्षेत्रमा सीमा प्रारम्भको बोर्ड लगाइएको केही बेरमै इटहरी उपमहानगरका मेयरको निर्देशनमा इटहरीका नगरप्रहरीले हटाइपछि दुई पालिकाको सीमा विवाद पुनः उत्कर्षमा पुगेको हो ।
इटहरी र धरानको सीमा विवाद अहिलेको होइन । यसअघि गणतन्त्र आएपछि दुई पालिकाको नेतृत्व गर्ने मेयरका पालादेखि नै सीमा विवाद सुरु भएको हो । सीमा विवाद भएपछि २०७५ श्रावणमा यसको अन्तयका लागि पहल गरि केही सहमति समेत भएको थियो । त्यसबेला के के भएको थियो त ? आज हामीले हालको सीमा विवाद अन्त्य गर्नका लागि दुवै पालिकाका मेयरहरुलाई सहजताका लागि सो बेला प्रकाशित खबरलाई पुनः प्रकाशन गरेका छौ ।
सिमाना विवादसँगै एकअर्कामा अन्तरसम्बन्धित विषयमा समझदारी खोज्न प्रदेश १ का धरान र इटहरी उपमहानगरपालिकाबीचमा अन्तर स्थानीय तह समझदारी बैठक भएको थियो ।
दुवै स्थानीय तहका प्रमुख, उपप्रमुखबीचमा बुधबार विवादित एवं अन्तरसम्बन्धित विषयमा सहमति जुटाउन पहिलो चरणको बैठक धरानमा भएको हो । सो बैठकले ठोस निष्कर्ष निकाल्न नसके पनि दुवै स्थानीय तहबीचमा विवादित विषयमा सौहार्दपूर्ण रूपमा समझदारी खोज्न महत्वपूर्ण पहलकदमी प्रारम्भ भएको भन्दै जनप्रतिनिधिले सन्तोष व्यक्त गरेका छन् ।
पहिलो समझदारी बैठकमा इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम र वातावरण अधिकृत पुष्पनारायण चौधरी धरान आएका थिए । बैठकमा धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीसँगै प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरे, वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडा, वडा १५ का अध्यक्ष नरेश इवारम पनि सहभागी थिए ।
अर्को बैठक बस्ने निर्णय
बैठकले दुवै स्थानीय तहको सीमांकन विवादबारे समझदारी गर्न अर्को बैठक बस्ने निर्णय गरेको थियो । धरानले तरहरा प्रहरी चौकी नजिकसम्म आफ्नो क्षेत्रफल भएको दाबी गर्दै आएको छ भने इटहरीले साविक हाँसपोसा गाविसको सिमाना भनिएको धरान इटहरी सडकखण्डको सेउती खोलासम्म आफ्नो क्षेत्रफल रहेको जिकिर गर्दै आएको छ । हाँसपोसा गाविस आपूmमा गाभिएपछि इटहरीले त्यहाँ बोर्डसमेत राखेको थियो । तर, एमसिपिएमसँगै जनसंख्या, क्षेत्रफल र भौगोलिक अवस्थालाई पनि आधार मानेर विगतमा सरकारले अनुदान पठाएको र त्यसमा तरहरासम्म धरानको क्षेत्रफल कायम गरिएको धरान उपमहानगरपालिकाले दाबी गर्दै आएको छ । यस दाबी अनुसार तरहराका करिब ६५ घरपरिवार धरानमा पर्छन् ।
‘बैठक सकरात्मक रूपमा बढेको छ, कम्तीमा शुरुवात भयो । भविष्यमा समझदारीबाट नै विवादलाई समाधान गछौं,’ धरानकी कार्यवाहक प्रमुख भण्डारीले भनिन् ।
नदीजन्य पदार्थ उपभोग र फोहोर व्यवस्थापनमा पनि छलफल
बैठकमा नदीजन्य पदार्थको उपभोग र दुवै नगरको फोहोरमैला व्यवस्थापनको एजेण्डामा पनि छलफल भएको थियो । नदीजन्य पदार्थको उपभोगबारे दुवै स्थानीय तहका प्रमुखहरूले स्थलगत अवलोकन गरेपछि अर्को बैठकमा सहमति गर्ने निर्णय भएको छ । साथै, फोहोरमैला व्यवस्थापनको एजेण्डामा भने छलफल नभई आगामी बैठकमा त्यसबारेमा छलफल गर्ने निर्णय भएको इटहरीकी उपप्रमुख लक्ष्मी गौतमले बताइन् ।
‘हामीसँगै विज्ञ, प्राविधिकहरू पनि हुनुहुन्छ, उहाँहरूसँगै फिल्डमै गएर अवस्था हेर्छौं, र उचित निर्णय लिन्छौं,’ गौतमले भनिन् ।
धरानले खोज्दैछ आफ्नो सिमाना
धरानले भने इटहरीसँग मात्र नभई आफूसँग सिमाना जोडिएको धनकुटाको साँगुरीगढी गाउँपालिका, वराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका र केराबारी गाउँपालिकासँग पनि यस्तै बैठकलाई निरन्तरता दिने जनाएको छ ।
साँगुरीगढीको भेडेटारमा पनि सिमानाबारे अन्योल र विवाद कायम छ । तर, धरान र इटहरीजतिको विवाद चर्केको भने छैन । गत वर्ष इटहरीले सेउती पुलमा राखेको बोर्डलाई नेपाली कांग्रेस धरानको नेतृत्वमा हटाइएपछि यी दुई उपमहानगरबीचमा सिमाना विवादले चर्को रूप लिएको थियो ।