डा. नवीनबन्धु पहाडी 

यात्राको थालनी

चर्को घामको रापमा सेकिंदै सेकिंदै कालीदहबाट हामी उक्लिंदै थियौं । खडेरीले खाएर सुख्खा भैरहेका पाखामा आगो लगाए जल्ने भैसकेका मकै जबरजस्त उभ्भिएका थिए । सुक्न लागेका फर्सीका कलिला तर उमेर गैसकेकाजस्ता सुख्खा लहराले कष्टसाध्य गर्मीको साछीत्व वरण गरिरहेका थिए ।

कालीदहबाट एकडेढ घण्टाको पैदल उकालोलाई मोटर यात्रालाई कच्ची सडकले नै  भएपनि पन्ध्र मिनेटमा झारेको थियो । सडकको सदुपयोग गरेर हामीले बाहनको सहारामा कुम्पुर बाघबच्छला मन्दिर पुगेका थियौं । साथमा थिए राजु झल्लुप्रसाद ।

समय २०८० जेठ २९ गते बिहान ११ बजेतिरको थियो । थोपल खोलामा पक्की पुलका लागि जग खन्ने कार्य भैरहेको थियो । टेकाहरु अड्याउने र ढलानका लागि प्रारम्भिक प्रयास  चालु थिए । वर्षाद्को समय हुनै लागेको छ । थोपल खोला वर्षद्मा ठूलै र उग्र पनि हुन्छ । यतिबेलासम्म ढलानको कार्य आरम्भ भएको छैन । खोलामा माटा ढुङ्गाहरु उरुङ्खात लगाइएका छन् र थुनिएको छ । तिनै बगरले खोला टालिएमा थाहा छैन कति र कहाँ कहाँ खतरा उत्पन्न हुने हो त्यसतिर सायद कुनै निकायको चासो र चिन्ता छैन । मन मनले हाम्रा विकास निर्माणका नियामक निकायहरुको अकर्मण्यता र शुन्य सुपरीवेक्षणप्रति टिठ लागेर आयो । हामीले भन्नु केही थिएन उकालो लाग्यौं । जति जति उकालो गएपनि गाउँघर शुन्य शुन्य नै थिए ।

IMG_20230611_113800

गाउँघर आजकाल सुनसान छन् र उजाड छन् त छन् नै  तरुना तन्नेरीहरु युरोप, अमेरिका, खाडीका अनेक श्रमशिविरहरुमा पसिना चुहाउँदै छन् र उनीहरुका गाउँघर गल्ली चोकहरु बिस्तारै बिस्तारै निर्जन जस्तै हुन लागिसके । खेत खलिहान, मेलापात र वन पाखामा घन्कने दोहोरी तथा सिलोकका भाकाहरु अब होटल, बार र टिकटकमा मात्रै भेटिन्छन् । भ्रमजस्ता भैसके । चौतारामा बसेर खेलिने बाघचाल, सिलोक जुहारी र ग्रमीण न्याय र विकास निर्माणका छलफलहरु पनि शुन्यप्राय भैसकेका छन् । बाघबच्छला उक्लिंदासम्म देखिएका उजाड वस्तीहरुले मनमा यस्तै यस्तै तरङ्गहरु पैदा गरेका थिए । हामी गाडीमा नै भएपनि झण्डै आधा घण्टा लगाएर बाघबच्छला मन्दिर पुगेका थियौं ।

पुग्दा मन्दिरको दृश्य

मन्दिरको परिसर निकै सफा सुग्घर र लिपपोत गरिएको दीव्य जाँगरले सजिएको थियो । त्यस्तो दीव्यताले मन आकर्षित गरेको थियो । एक सानो जङ्गलको बाक्लो चौघेराको बिच खण्डमा बाघबच्छलाको (वत्सला) मन्दिर छ । यो स्थल जङ्गलको व्रम्हस्थलमा छ । गोलाकार सानो वन आफैंमा वाटिका जस्तै छ । नाना प्रकारका फूल र विरुवाहरुको योगमय यस जङ्गल तापोधामजस्तै छ ।  यसको प्रवेश मार्ग पूर्वक्षेत्रबाट रहेको छ । प्रवेशस्थलमा नै सानो विश्रामपाटी रहेको छ । हामी मध्यदिनमा पुगेका थियौं । त्यस पाटीमा केही वृध्दवृध्दाहरु विश्राम गरेर शितलता तापिरहेका थिए । हामीले उहाँहरुलाई बाघवच्छला देवीको उत्पत्ति र उनको एतिहासिक र पौराणिक महत्वको बारेमा प्रश्न गरेका थियौं । कसैले पनि स्पष्ट जवाफ दिन सकेनन् बरु नजिकै रहेका उत्तम श्रेष्ठलाई बोलाइदिए ।

IMG_20230611_114448

उत्तम श्रेष्ठ देवीका सर्वोत्तम भक्त 

मान्छेका रुची र स्वभाव पनि अचम्मकै हुन्छन् जस्तो यहाँका उत्तमको छ । उनी अद्भूत स्वयम् सेवक रहेछन् मन्दिरका लागि । बिहान ३ बजेदेखि उनी सरसफाइमा निस्कन्छन् । बाटोघाटो, मन्दिर परिसर तथा भित्र रहेका ठाटी,पाटीसबै ६ बजेसम्म उनी सफा गर्छन् । उनलाई यस कार्यका लागि नियमितरुपमा मिनाकुमारी श्रेष्ठ,सावित्री श्रेष्ठ ज्ञानमाया श्रेष्ठ,ज्ञानमाया श्रेष्ठ,लक्ष्मी श्रेष्ठ, फूलमाया श्रेष्ठ, निरुता श्रेष्ठ, मिना श्रेष्ठले आमा समुह नै बनाएर सहयोग गरिरहेका छन् । २०७२ सालदेखि नै सरसफाइको यो क्रम कुनै दिन पनि रोकिएको छैन नियमित भैरहेको छ ।

उत्तम श्रेष्ठले यस मन्दिरमा नियमित सेवा गरेवापत कुनै पारिश्रमिक पाएका छैनन् र लिनुपर्छ भनेर कहिल्यै सोचेका पनि छैनन् ।

उनैले मन्दिरमा ३० लाख खर्चेर खानेपानीको आपूर्ति गरिदिएका छन् गेट बनाएका छन्  र सानाठूला अनेक मन्दिर तथा मूर्तिहरु राख्न प्रयास गरिरहेका छन् ।

यी सबैकाम उनी धनी भएर गरेका होइनन् । बरु उनी अभाव र गरिवीले झण्डै झण्डै बौलाइसकेका थिए । देवीकै आशीर्वादले उनी अडिएका छन् ।

IMG_20230611_113632

उत्तमको कथा 

उत्तम श्रेष्ठ सामान्य किसान हुन् । उनले २०७० सालसम्ममा अनेक हण्डर ठक्कर दुःख र कहर भोगेका थिए । उनकी श्रीमती २०६३ सालमा निधन भयो । अनेक प्रयत्न र खर्च गर्दा पनि उनले आफ्नी श्रीमती बचाउन सकेनन् । निकै ऋण लाग्यो । श्रीमतीको निधनको पीडा खप्न नसकिरहेको बेला सात दिनमै छोरी पनि बितेपछि उनी अर्धपागलजस्तै भएका थिए । यसै बिच फेरि अर्की छोरी नरहनुको दुःख पनि सहे ।

२०७१ सालसम्म उनले ८० लाख भन्दा ज्यादा ऋण लिइसकेका थिए । तिर्ने कुनै सम्भावना थिएन । उनलाई अब भाग्नु वा मर्नुभन्दा अर्को बिकल्प थिएन । उनले पृथ्वी राजमार्ग छेउमा आदमघाटमा बसेर होटल चलाउने योजना बनाएर घर भाडामा लिएका पनि थिए र बसाइँ जान तयारी पनि गर्दै थिए । यसैबिच २०७१ साल फागुन १२ गते उनले राती सपनामा बाघवच्छला देवीलाई सपनामा देखे । बाघवच्छलादेवीसँगै सपनामा उनले अरु तीस पैंतिस देवीहरुलाई पनि सँगै देखेका थिए । देवीले उनलाई सपनामै गाउँ छोडेर कतै नजान भन्नुभएछ । तिमी कतै नजाऊ ,यहाँ नै बस, हेर मेरो मन्दिर कति फोहर र हेलत्व भएर गुज्रिरहेछ । मन्दिरको सेवा गर । सरसफाइ गर तिमीलाई भलो हुनेछ ।

IMG_20230611_115823

त्यसपछि उनले भाडामा लिएको घर छोडिदिए, गाउँ जोड्ने बिचार पनि त्यागिदिए र नियमित माताको सेवामा समर्पित भएर लागिरहेका छन् । उनले मन्दिर परिसर सरसफाइ र नियमित सेवा गरेपछि ऋण पनि कम हुँदै गैरहेको छ । कुनै साहुले आएर धरपकड पनि गरेका छैनन् । सानो पसल छ र व्यापार पनि राम्रै भैरहेको छ । खेतीपाती सप्रिएकै छ । सबैभन्दा महत्वपूर्ण कुरा मन शान्त र आनन्द मिलिरहेको छ उत्तम उत्साहित हुँदै थप्छन् । उनले हामीलाई सुनाए कि देवी अत्यन्त शक्तिशाली र वात्सल्यमयी भएकाले देवीले मागेको कुरा पु¥याइदिनु भएको छ । त्यसैले यहाँको मन्दिरमा भाकल गर्ने, नियमित पूजा अर्चना गर्नेहरुको बाक्लै उपस्थिति हुने गरेको छ ।

यहाँ मन्दिर भनेर त्यस्तो वृहद संरचना छैन बरु साल तथा जामुनाको फेदमा प्राकृतिक शिला छ त्यसैलाई देवीको स्वरुप मानेर पूजा अर्चना गर्ने प्रचलन छ । आसपासमा नाग, गणेश, शिव पार्वती आदि अनेक साना मसिना अरु मन्दिरहरु पनि सँगै छन् ।

उत्पत्तिको कथा र सम्भावना

देवीको उत्पत्तिको सन्दरर्भमा एक प्रचलित किंम्वदन्ती छ । नजिकै गाउँका किसान ले अहिले मन्दिर भएको स्थलमा बारी बिराएर खनजोत गर्दै थिए । मकै छर्न लागेका बेला कोदालाले एक शिलालाई लागेपछि त्यस शिलाबाट रगत बग्न थालेछ । किसानलाइ राती सपनामा देवीले आएर म देवी बाघवत्सला हुँ । तिमीले यस स्थलमा खनजोत नगर बरु यहाँ नियमित पूजाआजा गर्ने गर भनेको हुनाले त्यस समयदेखि यहाँ नियमित पूजा अर्चना हुने गरेको त्यहाँका पाका पुस्ताका नागरिकहरु बताउँछन् तर त्यसो भएको कति वर्ष भयो भन्ने यकिन कसैले गर्न सक्दैनन् । मन्दिरमा हरेकदिन नियमित पूजा हुन्छ । मङ्सिर पूर्णिमा र फागु पूर्णिमाका दिन विशेष मेला लाग्ने गरेको छ । शरद नवरात्रमा पनि विशेष पूजा हुन्छ । श्रावण महिनाबाहेक प्रायः सबै महिनामा बली दिइने प्रचलन छ ।

IMG_20230611_115921

कुम्परको आसपास घले, नेवार तथा मगरहरुको बसोबास अधिक सङ्ख्यामा रहेका छन् । त्यस क्षेत्रमा पनि गोर्खातिरबाट आएका घलेहरुको वस्ती छ । घलेहरु धेरै पुराना स्थानीय मुखिया वा राजखलक भएको दावी स्थानीय घलेहरुको छ । देश एकीकरण हुनुपूर्व अनेक रजौटाहरु थिए । त्यही रजौटाहरु उन्मुलनकार्य सँगै उनीहरुको रजाइँ समाप्त भएको थियो । रजौटा समाप्त भएपछि सर्वसाधारण भएर घलेहरु कुनाकाप्चातिर आएर बसोबास गर्ने क्रममा कुम्पुर आएका हुन् । उनीहरुले यस स्थलमा सस्यानो राज्य बनाएका थिए । जुन यही मन्दिरको आसपास थियो जसलाई रामशाहले समाप्त पारिदिएका थिए र उनीहरुलाई यहाँका मुखिया बनाएर राखेका थिए । तिनीहरुले नै यस देवस्थल बनाएका हुन सक्ने अनुमान छ । त्यसो हो भने बाघवत्सला मन्दिरको इतिहास रामशाहभन्दा निकै अगाडि जान्छ   तर कति अगाडि भन्ने अनुमान लगाउन भने गाह्रो छ । त्यसका लागि छुट्टै अध्ययनको आवश्यकता छ ।

IMG_20230611_112147

  र  अन्त्यमा,

कुम्पुरको बाघवच्छला देवी स्थानीय विशेष आस्था र विश्वासको केन्द्र हो । कालुपाण्डे राजमार्ग र पृथ्वी राजमार्गबाट पनि नजिकै पर्ने, भौगोलिक दृष्यावलोकनको मोहक पहाडी तरेलीहरु हेर्न सकिने यस स्थललाई विकास गर्न धेरै काम गर्न बाँकि छ ।  यसको सनातन पौराणिक आस्था जोगाउन मन्दिर परिसरलाई तारबार गर्नु आवश्यक छ । बाटोघाटोको सहज पँहुच स्थापित हुन सके अझ श्रध्दालुहरुको आकर्षण बढ्ने थियो । बास बस्नकालागि धर्मशालाहरु छैनन् र नजिकमा होटल तथा लजहरु पनि नभएकाले होमस्टे सञ्चालन गर्न आवश्यक छ ।

गुठी भएर पनि सदुपयोग नभएकोले मन्दिर, बाटोघाटो तथा पाठपूजामा अझै आकर्षण ल्याउन नसकिरहेको परिप्रेक्षमा यस पवित्र स्थलको प्रचार प्रसार तथा विकास गर्न विशेष योजना र पहलकदमीको आवश्यकता देखिन्छ ।