काठमाडौः  अर्थमन्त्री डा. प्रकाश शरण महतले देशको वर्तमान अवस्थामा बजेट ल्याउनु निकै कठिन काम भएको बताएका छन् । 

राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालको आयोजनामा आ.व. २०८०/८१ को पूर्व बजेट तर्जुमा सन्दर्भमा विज्ञहरुबीच छलफल तथा अन्तक्रिया कार्यक्रममा उनले अर्थतन्त्रमा धेरै समस्याहरु भएको चर्चा गरे । उनले अहिले क्षमता विकास गर्नुपर्ने र बजेटको प्रभावकारिता बढाउनुपर्ने अवस्था आएको बताए । 

उनले सम्पूर्ण कुराको गहिराईमा पुगेर सबै निवारण गर्छु, विशिष्ट तरिकाले प्रस्तुत हुन्छु भनेर प्रतिवद्धता गर्न नसकेपनि इमान्दार भएर क्षमता अनुसार काम गर्ने बताए ।  

उनले भने, अहिलेको परिवेशमा बजेट ल्याउने काम निकै नै कठिन काम हो । मैले धेरै समय यसमा लाग्नुपर्ने छ । यो सबै काम गर्नको लागि म समयको चापबाट गुज्रिरहेको छु । हाम्रो जुन संरचनाहरु छन् त्यसलाई धेरै ठूलो पुननिमार्ण गर्नुपर्ने आवश्यक छ । अर्थमा बसेपछि सबै मन्त्रालयलाई अर्थबाट नै समन्वय गर्नुपर्छ । धेरै समस्याहरु छन् हाम्रो क्षमता विकास गर्नुपर्ने र बजेटको प्रभावकारिता बढाउनुपर्ने अवस्था छ । सामान्य खर्च घटाउने पुँजीगत खर्चको प्रभावकारितालाई बढाउने आवश्यकता छ । म सम्पूर्ण कुराको गहिराईमा पुगेर सबै निवारण गर्छु, विशिष्ट तरिकाले प्रस्तुत हुन्छु भनेर म प्रतिवद्धता गर्न सक्दिन । तर मेरो सम्पूर्ण कोशिस इमान्दार हुन्छ । ’ 

मन्त्री महतले अहिलेको समस्या अर्थतन्त्रमा देखिएको शिथिलता भएको भन्दै अर्थतन्त्रलाई चलायमान बनाउन साधारण खर्च कटौती गरेर पुँजीगत खर्चलाई चलायमान बनाउनु पर्ने बताए । 

उनले निजी क्षेत्रको सक्रियता र सबै पक्षको सहयोग र सकारात्मक सोंच एव सामूहिक प्रयासले भविष्यमा सकारात्मक परिवर्तन आउँने विश्वास पनि व्यक्त गरेका छन् ।