काठमाडौंः मगर अध्ययन केन्द्रका अध्यक्ष एवं पूर्व एआइजी डाक्टर गोविन्द थापा मगरले प्रदेश १ को नामाकरणप्रति आपत्ति जनाउदैँ यसमा नेपाली जनताको समर्थन नरहेको जिकिर गरेका छन् ।  

शनिबार काठमाडौंमा आयोजित प्रथम ऐतिहासिक मगराँत राष्ट्रिय राजनीतिक सम्मेलनलाई सम्बोधन गर्दै उनले पूर्खादेखिको संस्कृति र सम्पदाको आधारमा प्रदेशको नामाकरण हुनुपर्ने धारणा राखे । उनले यसको विषयमा सरकारले चासो दिनुपर्ने बताए । 

अध्यक्ष मगरले नेपाली जनताहरु निराश बने देश विकासमा बाधा पुग्ने भन्दै यो समस्या समाधानका लागि दलहरु गम्भीर भएर लाग्नु पर्ने बताए । 

उनले भने, प्रदेश १ को नामाकरण कोशी भएको छ तर त्यहाँका नागरिकहरुले यसलाई स्वीकार गरेको अवस्था छैन् । नेपाल सरकार र राजनीतिक दलले यो कुरालाई मनन गरेर उचित निर्णय गर्नुपर्छ । देशको उन्नतिको लागि राम्रो निर्णय दिनुहुने आशा राखेको छु । विश्वका अधिकांश राष्ट्रहरु धेरै अगाडि बढिसकेका छन् । तर नेपाल धेरै पछाडि छ, नेपालमा १२६ प्रकारको भाषा बोल्ने मान्छे छन्, छुट्टै संस्कृति रितिरिवाज छ, नेपाल संस्कृतिको धनी देश हो तर कोही पनि खुसी छैनन् ।  सबैजना कुनै न कुनै कुरामा निराश छन् यसले देश विकासमा बाधा पुग्छ । यो समस्या समाधानमा महत्वपूर्ण भूमिका राजनीतिक दलको हो दलहरुले यसलाई समाधान गर्ने चेतना र प्रयास गर्नुपर्छ । 

अध्यक्ष मगरले नेपाल गणतन्त्रमा प्रवेश गरेपछि समावेशीकरण, समानता र सामाजिक न्यायका कुराहरु सम्पूर्ण देशवासीले आशा र भरोसा गरेको बताए । उनले गणतान्त्रिक व्यवस्थाबाट समाजमा पछाडि परेका दलित, पिछ्डिएका र अल्पसंख्यकहरुले आफुहरुको अवस्थामा सुधार हुने आशा राखेको पनि बताए ।