इटहरीः इटहरी उपमहानगरपालिकाले पुराना तथा घरनक्सा पास गर्न छुटेका नगरबासीका लागि बैशाख मसान्तसम्म पास गर्न समय थप गरेको छ ।  

यस अघि चैत्र मसान्तसम्म घर नक्सा पास गर्न छुट दिएको उपमहानगरले एक महिना समय थप गर्दै बैशाख मसान्तसम्म सय प्रतिशत जरिवानामै घर नक्सा पास गरिदिने भएको हो । नियमत यस्ता घरहरुले समयमा नक्सा पास नगर्दा तीन सय प्रतिशतसम्म जरिवाना उपमहानगरले लिने गरेको थियो । 

इटहरी क्षेत्रभित्र नियमअनुसार निर्माण भएका तर नक्सा पास नभएका वा लिन छुट भएका निजी तथा सार्वजनिक र सरकारी भवनका लागी यस्तो व्यवस्था इटहरी उपमहानगरले गरेको हो । नक्सा पास नहुँदा खरीद बिक्री, धितो बन्धक आदिमा समस्या भोगिरहेका नगरवासीहरुलाई यस्तो कार्यले राहत दिने उपमहानगरले बताएको छ ।

341806151_563601952421508_953055380852292017_n

नगरपालिकाले घर नक्सा अभिलेखिकरण खुल्ला गरेदेखि ४ सय घरको अभिलेखिकरण भएको र अझै यस्ता घरको संख्या आइनसकेको इटहरी उपमहानगरपालिका घर जग्गा नक्सा फाँटका प्रमुख इन्जिनियर कैलाश तिम्सिना बताउछन । 

यस्तै सरकारी र सार्वजनिक भवनहरु प्रायःको अभिलेखीकरण बाँकी छ । उनीहरु पनि जरिवानाको लागि बजेट नभएको कारण देखाउँदै नक्सा पासको लागि नआएको इन्जिनियर तिम्सिनाको भनाई छ ।