काठमाडौँः मलेसियामा एक नेपाली मेनपावर व्यवसायीको शंकास्पद मृत्यु भएको छ । शान्तिनगर काठमाडौंमा रहेको मार्भलस इम्प्लोईमेन्टका सञ्चालक ४६ वर्षीय रेन्जी राईको शंकास्पद मृत्यु भएको हो ।

४ दिन अगाडि मात्रै नेपालबाट मलेसिया निलाई भन्ने ठाउँमा गएका थिए । मलेसियामा शौचालयमा डोरीले पाँसो लगाएको अवस्थामा उनको शव फेला परेको छ । तर, खुट्टा भुईँमै छ भने डोरी समेत कमजोर क्लिपमा अड्काइएको छ ।

उनको कम्पनीमार्फत ६४ जना नेपाली कामदार मलेसिया गएका थिए । मलेसियाको स्टार डोमिन रिसर्च अन्तर्गतको ग्यान्टिन हाईलर भन्ने क्लिनर कम्पनीमा काम गर्दै आएका थिए । दुई महिना अगाडि मलेसियमा पुगेका उनीहरुले आफू समस्यामा परेको भन्दै राईलाई फोन गरेपछि उनी त्यहाँ गएको बताइएको छ ।

राईलाई मलेसियामा डिमाण्ड दिने ज्ञानेन्द्र हुसेनले आफैं आएर समस्या समाधान गर्न भनेका थिए । आफैं नआए श्रमिकहरुलाई नेपाल फिर्ता पठाइदिने धम्की दिएका थिए । त्यसपछि राई ४ दिन अगाडि मात्रै मलेसिया पुगेका थिए । मलेसिया पुगेर तिनै श्रमिकहरुको क्याम्पमा बस्दै आएका थिए ।

बिहीबार राति ८ बजेतिर मात्र श्रीमती इन्द्रसुबा राईसँग फोनमा कुरा भएको थियो । कुरा गर्ने क्रमा इन्द्रसुबाले होटलमा बस्न आग्रह गरेकी थिइन् । तर, उनले यतै केटाहरुसँग राम्रो छ भनेर त्यतै बसेका थिए । तर, राति उनी शौचालयमा डोरीले झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

राईको परिवारले भने उनले आत्महत्या गरेको नभई मारेर आत्महत्या जस्तो देखाउन खोजेको बताएको छ । ज्ञानेन्द्र हुसेनले मलेसियामा बसेर नेपाली मेनपावर व्यवसायीहरुलाई कामदारको डिमाण्ड दिँदै आएका थिए ।