काठमाडौंः  नेपाल प्रज्ञा–प्रतिष्ठानले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई कार्यालयमा स्वागत गरेको छ । प्रज्ञा–प्रतिष्ठानका संरक्षकसमेत रहेका मन्त्री किरातीलाई कुलपति भूपाल राईले पुष्पगुच्छा प्रदान गरी स्वागत गरेका हुन ।

सो अवसरमा मन्त्री किरातीले कर्मचारीहरूलाई प्रज्ञा सेवा पदकका साथै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापका विजेताहरूलाई विभिन्न पुरस्कार प्रदान गरे । प्रज्ञा–प्रतिष्ठानको वार्षिकोत्सवमा प्रदान गरिँदै आएका तर अघिल्लो वार्षिकोत्सवमा प्राविधिक कारणवश प्रदान गर्न नसकिएका सेवा पदक तथा पुरस्कारहरू कार्यक्रममा प्रदान गरिएको हो । प्रज्ञा–प्रतिष्ठानमा १५ वर्ष अनवरत सेवा गरेबापत प्रदान गरिने सेवा पदक प्राप्त गर्ने कर्मचारीहरूमा विशाल लामा र कृष्णबहादुर दाहाल रहेका छन ।

सो अवसरमा मन्त्री किरातीले आफ्नो स्वागतमा कार्यक्रम आयोजना गरेकामा प्रज्ञा–प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै सम्मानित कर्मचारीहरू एवम् विजेताहरूको उत्तरोत्तर प्रगतिको कामना गरे । मन्त्री किरातीले देशमा गणतान्त्रिक व्यवस्था लागु भए पनि सो अनुसारको सोच र संरचना निर्माण भइनसकेको भन्दै अबको युग र पुस्तालाई सम्झेर काम गर्नुपर्ने बताए । नेपालबाट युवाहरू विदेश पलायन हुने क्रम बढेकाले उनीहरूलाई स्वदेशमै आकर्षित गर्ने खालको शिक्षा र संस्कृति निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए ।

कार्यक्रमका सभाध्यक्षसमेत रहेका प्रज्ञा–प्रतिष्ठानका कुलपति राईले मन्त्री किरातीलाई कार्यालयमा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्दै देशमा सङ्घीय गणतन्त्रात्मक वैचारिकी निर्माण गर्न जरुरी रहेको बताए । सरकारको अग्रगामी सोचअनुरूप देशमा गणतान्त्रिक वैचारिकी निर्माणमा सघाउन आफूहरू तयार रहेको प्रतिबद्धता उनले व्यक्त गरे ।

DSC_7330

सो अवसरमा बोल्दै प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपालका भाषा, साहित्य, संस्कृति, सामाजिकशास्त्र र दर्शनशास्त्रको प्रवर्धन गर्ने गहन अभिभारा पूरा गर्न आपूmहरू लागिपरेको बताए । प्रज्ञा–प्रतिष्ठानका आधिकारिक ट्रेड युनियनका अध्यक्ष धनबहादुर कार्कीले आजीवन सदस्यलाई दोहोरो भत्ताको व्यवस्था खारेज गरेर नयाँ प्राज्ञ परिषद्ले अग्रगामी कदम चालेकामा खुसी व्यक्त गर्दै प्रज्ञा–प्रतिष्ठानका कर्मचारीहरूको रोजगारीको सुरक्षाका साथै निजामती सेवाका कर्मचारीलाई जस्तै पेन्सन कोष र उपचारमा छुटको व्यवस्था गर्न प्रज्ञा व्यवस्थापन र मन्त्रालयको ध्यानाकर्षण गराए । कार्यक्रमको सञ्चालन प्रज्ञा–प्रतिष्ठानका अभिलेख तथा सङ्ग्रहालय प्रमुख सन्ध्या पहाडीले गरेकी थिइन ।