इटहरीः सुनसरीको सबैभन्दा बढी विद्यार्थी भएको इटहरीस्थित जनता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघका इकाई सभापति समेत रहेका सहदेव काफ्ले निर्वाचित भएका छन् ।

आइतबार भएको निर्वाचनमा कूल ५,७७८ मतदातामध्ये २,२२४ मत खसेको थियो । सोमबार दिउँसोबाट सुरु भएको मतगणनाको अन्तिम मत परिणाम सोमबार साँझ आएको हो ।

अन्तिम मतपरिणामअनुसार काफ्ले एक हजार २९८ मत प्राप्त गर्दै विजयी भए । काफ्लेलाई समाजवादी विद्यार्थी युनियनको साथ थियो ।

उनका निकटतम प्रतिद्धन्दी अनेरास्ववियुका उज्वल सिग्देलले ६८२ मत प्राप्त गरे । यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका दानबीर थापा (सम्राट)ले २८५ मत प्राप्त गरेका थिए ।

को हुन् काफ्ले ?

बिसं २०५२ मंसिर १४ गते भोजपुरको हसनपुरमा जन्मिएका उनी २०६२।०६३ सालको जनआन्दोलनताकै सक्रिय थिए । ११ वर्षको उमेरमै आन्दोलनमा होमिएका उनी पछि निबन्ध लेखन, वक्तित्वकला, नेतृत्व विकास तथा क्षमता अभिवृद्धि लगायतका कार्यक्रममा सक्रिय सहभागी हुन्थे ।

खासगरी इटहरीको जनता बहुमुखी क्याम्पसमा २०७१ सालमा भर्ना भएका काफ्ले त्यसपछि विद्यार्थीको हितमा काम गर्दै आएका छन् ।

०७१ सालमा जनता बहुमुखी क्याम्पस प्रवेश गरी नेविसंघको इकाई समिति सदस्य भइ २०७३ मा इकाई सचिव भएका उनी विद्यार्थीका हरेक समस्याको सारथी बन्दै आएका छन् । बस नपुगेका स्थानमा क्याम्पसको बस पुर्याउन उनको योगदान महत्वपूर्ण छ ।

०७४ सालमा युवा रेडक्रस सर्कलको सभापति भएसगै प्राथमिक उपचारको व्यवस्था गर्ने कार्यको प्रवन्ध र नेपालको सबैभन्दा ठूलो रेडक्रसमार्फत कार्यक्रम समापन समेत गरेका उनी नेविसंघको इकाई सभापति हुँदै काम गर्दै आएका छन् ।

क्याम्पसमा छात्राहरुका लागि निःशुल्क सेनेटरी प्याडको व्यवस्था मिलाएका काफ्लेको तीखो र लोभलाग्दो भाषणसँगै विद्यार्थीका पक्षमा वकालत गरेसँगै उनको चर्चा चुलिदैँ गयो । स्नातकोत्तर अध्ययन गरिसकेका काफ्लेले क्याम्पसमा भएका बेथितिहरुका विरुद्ध विद्यार्थीमाझै रहेर नेतृत्व लिदैँ आएका छन् ।

व्यवहारिक र प्रयोगात्मक शिक्षाको अबलम्बन गर्न गराउन आवाज उठाइरहेका उनी स्ववियु सभापतिमा निर्वाचित भइसकेपछि आँफू निरन्तर नडगमगाइकन विद्यार्थीको पक्षमा काम गर्ने बताउँछन् ।

पारिवारिक पृष्ठभूमि पनि राजनीतिक

काफ्लेको पारिवारिक पृष्ठभूमी पनि राजनीतिक नै रहेको छ । बराहक्षेत्र नगरपालिका वडा नं ५ को वडाध्यक्षमा सहदेवका जेठा दाजु रोहित काफ्ले वडाध्यक्ष छन् । यसअघि सधैँ नेकपा एमालेले जित्दै आएको उक्त वडामा गएको स्थानीय तहको निर्वाचनमा रोहितले मात्रै कांग्रेसबाट सो वडामा निर्वाचित भएका हुन् ।

भोजपुरबाट ०६४ सालमा कालाबञ्जार बसाइसराई आएपछि सहदेव तत्कालीन भरौल बाल सञ्जालको अध्यक्ष भएका थिए । ०६८ सालमा नेविसंघ जडेज माविका इकाई सभापति भइसकेका उनी निरन्तर विद्यार्थी राजनीतिमा सक्रिय छन् ।

नेविसंघ सुनसरीका सभापति प्रमोद भट्टराई भन्छन्, ‘जिल्लाका सबै इकाई सभापतिमध्ये सबैभन्दा बढी अनुशासित र दक्ष विद्यार्थी भएकै कारण सहदेवको जित भएको हो ।’

काफ्लेको बोल्ने कला प्रभावशाली र क्षमतावान भएकै कारण स्ववियु सभापतिमा जित निकालिएको भट्टराईले बताए । ‘अब विद्यार्थीका सामान्य समस्यालाई पनि निराकारण गर्न सहदेवको नेतृत्व महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘हिजोका दिनमा विद्यार्थीलाई समस्या पर्दा सम्झदैँ आएको एक्लो नाम सहदेव नभई अब अब स्ववियुले नेतृत्व लिन्छ ।