प्रकाश बन्जारा
इटहरीः रामधुनी नगरपालिका वडा नम्बर १ झुम्कामा रहेको साई हस्पिटल प्रालिले रामधुनीमा सन्चालन भइरहेको इलेक्ट्रिक रिक्सा चालकहरुको उपचारमा दश प्रतिशत छुट दिने भएको छ ।
ई–रिक्सा चालक र साई हस्पिटल प्रालि बिच सेवा तथा सहयोग आदान प्रदानबारे आइतबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्पिटलको तर्फबाट सञ्चालक दुर्गा प्रसाद फुयाल र ई–रिक्सा चालक संघ तर्फ रामधुनी नगरकमिटी अध्यक्ष सर्मिला पराजुलीले हस्ताक्षर गरेका छन ।
सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै ई–रिक्सा चालक संघ रामधुनीकी अध्यक्ष सर्मिला पराजुलीले हस्पिटलसँगको स्वास्थ्य सेवा सम्झौताले रिक्सा चालकलाई खुसी बनाएको बताइन ।
सम्झौता आदान प्रदान कार्यक्रममा बोल्दै साई हस्पिटल प्रालिका सन्चालन दुर्गाप्रसाद फुयालले रिक्सा चालक मजदुरलाई स्वास्थ्य उपचारमा केहि मात्र भएपनि राहत होस भन्ने हेतुले साई हस्पिटलले इलेक्ट्रोनिक्स रिक्सा चालकसँग सम्झौता गरेको बताए ।
फुयालले चौबिसै घण्टा ल्याव तथा ओपिडी सेवा सहित दैनिक विशेषज्ञ डाक्टरहरुको सेवा रामधुनीमै सन्चालन गरेकोले रामधुनी नगर आसपासका विरामीहरु उपचारको लागि धरान तथा विराटनगर जानुपर्ने बाध्यता हटेको बताए । उनले सकेसम्म रोग लाग्नै नदिन र रोग लागिहाले पनि सरल र सहज ढंगबाट उपचार गर्न साई अस्पतालले भुमिका खेल्ने र सोही अनुरुप बिभिन्न समयमा स्वास्थ्य सिविरहरुसमेत सन्चालन गरिरहने बताए ।

हस्पिटलले रोगले ग्रस्त नपारिकनै उपचार गर्नका लागि आफुहरुसँग विशेषज्ञ डाक्टरहरु रहेको र विशेषज्ञ डाक्टरसँगको परामर्शमा ल्याव टेस्ट गरेर रोगले ग्रस्त पार्नु अगावै उपचार गर्न सकिने सेवा सन्चालनमा रहेको बताएको छ ।
साई हस्पिटलको तर्फबाट डिल्लीराम भण्डारीले सहजिकरण गर्दै साई हस्पिटलसँग भएका विशेषज्ञ डाक्टर सहितको सेवाको बारेमा जानकारी गराएका थिए भने साई हस्पिटलकै तर्फबाट प्रदिप चौलागाईले ई–रिक्सा चालक संघका जो कोहीलाई पनि उपचारको जरुरत परेको खण्डमा आफ्नो परिचय पत्र सहित आउन र सम्झौतामा उल्लेख गरिएको सेवा लिन आग्रह गरेका थिए । उनले कोहि लाई केहि जिज्ञासा तथा उत्सुकता भए हस्पिटलमा सम्पर्क गरेर सेवा प्रवाहको बारेमा जानकारी लिन सकिने बताए ।
तत्कालका लागि साई हस्पिटल प्रालिले ई रिक्सा चालक संघमा आवद्ध स्वरोजगार मजदुरहरुलाई ल्यावका एक्सरे तथा भिडियो एक्सरे साथै र फार्मेसी सेवाका कम्तिमा दश प्रतिशत छुट दिने सम्झौता गरेको छ । सम्झौता एक बर्षको रहने र पछि थप गर्न सकिने बताइएको छ । ई– रिक्सा चालक संघले आयोजना गर्ने स्वास्थ्य शिविर तथा स्वासथ्य जन्य कार्यक्रममा हस्पिटलले डाक्टर सहितको प्राविधिक सहयोग गर्ने समेत सम्झौता पत्रमा उल्लेख गरिएको छ । यो सम्झौता संगै रामधुनी नगरमा रहेको २१६ जना ई–रिक्सा चालकहरु लाभान्वित हुने साई हस्पिटल प्रालिका प्रबन्धक दुर्गाप्रसाद फुयालले बताएका छन् ।
साई हस्पिटलले अहिले आफुहरु सँगै पाँच जना एमविविएस डाक्टर सहित दैनिक विशेषज्ञ सेवा, सर्जरी सेवा, चौबिसै घण्टा फार्मेसी सेवा, इमर्जेन्सी र ल्याव तथा एक्सरे सेवा सन्चालनमा रहेको जनाएको छ । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ तथा संस्थाहरुसँग हातेमालो गर्दै अगाडी बढ्ने लक्ष्य लिएको बताएको छ ।




















