प्रकाश बन्जारा 

इटहरीः  इटहरी उपमहानगर पालिकाको वडा नम्बर ४ ले गरिव तथा विपन्नलाई भनेर गरिएको स्वास्थ्य बीमा कार्यक्रममा तीन तले घर भएका तथा नेपाल सरकारको जागिर खाएर पेन्सन समेत लिइरहेका व्यत्तिहरुलाई समावेश गरेको पाइएको छ । 

नगर कार्यपालिकाले सबै वडाका ९० घरधुरीका दरले विपन्नलाई स्वास्थ्य बीमा गरिदिने भनेर छुट्टाएको बजेटमा मापदण्डलाई मिच्दै वडा नम्बर ४ ले भने केही सम्पन्नलाई समेत बीमा गरिदिएको पाइएको हो । 

गत पुस महिनाको पहिलो हप्ता नगरपालिकाबाट बजेट पाउने भएपछि स्वास्थ्य बीमामा पैसा खर्च गर्ने भएको वडाले सार्वजनिक सुचना समेत नगरी आफुखुसी राजनितिक पहुँचको आधारमा बीमा गरिदिएको वडा नम्बर ४ का जनताले आरोप लगाएका छन् । 

गरिव, दलित तथा विपन्न वर्गलाई गर्ने भनिएको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा वडा कार्यलयले वडामा रहेका ३९ वटा टोल विकास संस्थालाई खवर नै नगरी आफुखुसी निर्णयको आधारमा बीमा गरिदिएको र त्यसमा मापदण्डको पालना नभएको वडा नम्बर ४ का झलक वनले बताए । 

327194953_843485090050303_72497881123218622_n

इटहरी ४ को सुनाखरी टोलविकास संस्थाका अध्यक्ष समेत रहेका झलक वनले आफ्नो टोलमा रहेका गरिव तथा विपन्नहरु सरकारी खर्चबाट गरिने निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा नपरेको तर तीन तले घर भएका तथा घर भाडा समेत लिएर सुख सयलको जिन्दगी बिताईरहेकाहरुको स्वास्थ्य बीमा वडाले गरिदिएको बताए । वडा नम्बर ४ का वडा अध्यक्ष भक्त बहादुर लामालाई गुनासो पोख्न मंगलबार वडा नम्बर ४ को कार्यलयमा भेटिएको वनले वडाले मापदण्ड टेकेर स्वास्थ्य बीमाको काम गर्नुपर्नेमा उल्टै जनतालाई सास्ती दिने तरिकाले आफुखुसी सम्पन्नहरुको नाममा स्वास्थ्य बीमा गरिदिएको बताए । 

यस्तै वडा नम्बर ४ कै रमेश खत्रीले जनताको करबाट गरिदिने स्वास्थ्य बीमा कार्यक्रम सार्वजनिक सुचना विनै राजनितिक पहुँचबाट आफ्ना मान्छे घुसाउने तरिकाले गरिएको आरोप लगाए । खत्रीले वडा कार्यलयले स्वास्थ्य बीमा गरिने आशयको सुचना सार्वजनिक नगरिएको र वडा कार्यलयमा टाँस गरिएको सुचना समेत अर्को दिन कसैले च्यातेको बाहानामा हटाइएको बताए ।  

खत्रीका अनुसार वडाले पहिलो पटक सुचना टाँस गरेपनि कोही नआएपछि दोस्रो पटक सुचना नै नगरी आफुखुसी जनप्रतिनिधिको चिनजानमा मान्छेलाई बीमा गरिदिएको आरोप समेत लगाए । यातायात व्यावसायी, पेन्सनवाला, साथै ठुला घर धनी र बीमा गर्ने कर्मचारीका श्रीमानको समेत नाम रहेको सुचना वडा कार्यलयले सार्वजनिक गरेको खत्री बताउँछन् ।

326775838_969790077321737_8793308388529809033_n

प्रदेश पोर्टल वडा नम्बर ४ को कार्यलयमा पुग्दा अस्तव्यस्त देखिएको वडाअध्यक्षको कार्यकक्षमा सोही विषयमा निकै लामो विवाद चलेको थियो । वडा अध्यक्ष भक्तबहादुर लामाले आफुले कसैलाई पनि आफ्नो र चिनजानको भरमा बीमा कार्यक्रममा सहभागी नगराएको बताएका थिए भने वडा सदस्यहरुलाई जिम्मेवारी दिएकाले कोही धनी मनी पनि परेको हुन सक्ने जवाफ दिए । आफुले चिनेका केहीको नाम आफुले हटाएको उनको भनाई थियो । 

वडा सदस्य विशेश्वर शर्माले नगरपालिकाबाट आएको पैसाबाट ९० जनालाई स्वास्थ्य बीमा गरिदिने कार्यक्रम अनुसार १२० आवेदन वडामा आएको र आफुहरुले अति विपन्न भनेर छुटाएको ९० जनाको बीमा गर्ने गरी नामावली प्रकाशन गरिएको बताए ।

327010336_576330697683039_439979689103470446_n

शर्माले वडाले गत पुष महिनामा सार्वजनिक सुचना टाँस गरी आवेदन मागेको र सोही अनुसार आएका आवेदनबाट ९० जनाको नाम राखेर अहिले बीमा कार्ड वितरण गर्ने काम भइरहेको बताए । उनले गुनासो गर्न गएका वडा नम्बर ४ का बासीलाई भने वडाको सुचना टोलविकास संस्थालाई जानकारी गराई रहनु नपर्ने बताएका थिए । ‘दुई चार जना त पर्छन’ शर्माले गुनासो गर्न आएका टोलीलाई भने । पेन्सन वाला तथा तीन तले घर भएका भनिए पनि उनिहरुको अहिलेको कण्डिसन कस्तो छ त्यो पनि बुझ्न पर्ने शर्माको भनाई थियो । 

वडा कार्यलयले ३ लाख १५ हजार रुपैँया खर्च गरेर प्रति घर धुरी ५ जनाको दरले ९० घरका ४५० जनाको नाममा स्वास्थ्य बीमा गरिएको सुचना गत पौष २९ गते प्रकासन गरेको छ । उक्त सुचनामा सेवा पाउनेहरुको नाम समावेश गरिएको छ ।