इटहरीः जापान जानको लागि भन्दै मोरङ्ग र झापाका ४१ जनाले दिएको पैसा उठाएर चितवनका राजेन्द्र अधिकारी फरार भएको भन्दै सिविआईमा मुद्धा पुगेको छ । 

चितवनका राजेन्द्र अधिकारी सँगै जापानको एक गार्मेन्ट कम्पनीमा काम गर्ने  मोरङ सुनवर्षी–६ का अजय राजबंशी सहित धरानका मिन्चीरा ताम्राकार, ठेगाना नखुलेका ज्योती घले, कर्णकुमार दवाडी लगायतको समुहले मोरङ्गका युवाहरुलाई लोभ्याएर लाखौँ रकम संकलन गरेको पाइएको छ । 

सुनवर्षीका अजय राजवंशीले आफन्त र धेरै राजवंशी समुदायका युवाहरुलाई रोजगारीको कुरा बताएपछि सहजै पैसा जम्मा भयो । पछि मुख्य योजनाकार चितवनमा राजेन्द्र अधिकारीले अजयलाई प्रयोग गरेर पैसा असुल गरेर फरार भएपछि अरुको बिजोग भएको छ । 

यो समूहले जापानको गार्मेन्ट उद्योगमा काम गर्न लैजाने भन्दै मोरङका युवाहरुलाई लोभ्याएको र जसमध्ये सुनवर्षीका अजय राजबंशीलाई जापान जाने युवा खोजेर पैसा संकलन गर्ने जिम्मा दिएका थिए । जापान जान पाउने भएपछि केहीले विराटनगरको इन्टिच्युटमा जापनिज भाषाको अध्ययन समेत गरेको पाइएको छ । 

गत बैशाखदेखि  उनिहरुले पैसा खोज्ने र जम्मा गर्ने गर्न थालेका थिए तर राजेन्द्रले युवाहरुलाई ठग्ने नियत राखेपछि जापान जान तयार भएका युवाहरुले जम्मा गर्ने पैसा अजयका भाई रन्जित, बुहारी अनुराधा र बहिनी विद्याको नाममा जम्मा गर्न लगाए । सुरुसुरुमा राजेन्द्रको नाममा समेत पैसा जम्मा गर्न लगाइएको थियो । तर विस्तारै उनले सतर्क भएर अजयको भाई तथा अन्यको नाममा पैसा जम्मा गर्न लगाएको थिए । पिडितहरुको पैसा असुल गरेर राजेन्द्र भने पुनः जापान गएको खुलेको छ । 

अजयसहित उनका भाईबुहारी रन्जित–अनुराधा र बहिनी विद्या फरार छन् । फरार रहेपनि अजय र उनका भाई बुहारी समेत पिडित भएकाले  उनीहरुले वैदेशिक रोजगार विभागमा पुस २८ गते राजेन्द्र अधिकारी विरुद्ध उजुरी दिएका थिए  । वैदेशिक विभागले वैदेशिक रोजगारसँग सम्बन्धित नभई ठगि कसुर गरेको देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पत्राचार गरेको छ ।

पैसा बुझाएका र पैसा बुझाउन आग्रह गर्नेहरु एकै पटक अधिकारीसहितको जालमा फसेपछि पैसा बुझाउनेहरुको बिजोग छ । धेरै त सुनबर्षीकै राजवंशी समुदायका युवाहरु यसको मारमा परेका छन् । 

 कानुनी उपचारको खोजीमा रहेका उनीहरुले अजयसहित उनका भाई–बुहारी र बहिनी विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् तर अजयको परिवार समेत पिडित भएकाले घटनाको चुरो जापान पुगेको पाइएको छ । 

पीडित युवाहरुले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनका आयोजना गरेर आफुहरु पीडामा परेको बताएको थिए । 

उनिहरुले  जापान जान पाउने हल्लाले कतिले घरजग्गा बन्धकी राखेर साहुसँग रकम लिएका छन् । जसमा  सयकडा ३ देखि ५ सम्मको ब्याजले उनीहरुको ऋणको पारो उकालो लागिरहेको बताइएको छ ।  झापाका पिडित भनिएका कनकाई–१ क  भवानी प्रसाद अधिकारीले आठ लाख रुपैँया बुझाएको बताएका छन् । कल्पना राजबंशीले ४ लाख २० हजार बुझाएकी छिन् । धेरै युाहरुले युवाहरुले ८ लाख, ७ लाख ८ लाख १० लाख हुँदै छ जनाले १६ लाख र एकजनाले १८ लाखसम्म बुझाएका पिडितहरुले बताएका छन्  ।  अधिकांश रकम अजयको र उनका भाई बुहारीको नाममा जम्मा गरिएको पाइएको छ ।