काठमाडौंः भोजपुरबाट निर्वाचित भएका नवनियुक्त पर्यटन , संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बधाईका नाममा खादा र माला नलाउने निर्णय गर्दै मन्त्रालयको कार्यकक्षमा ‘दान पेटिका’ राखेका छन् ।
मन्त्री किराँतीले अनावश्यक खर्च हुने भन्दै बधाई दिन आउनेलाई खादा र माला नल्याउन अनुरोध गर्दै खादा र मालामा हुने खर्च उक्त दान पेटिकामा खसाल्न अनुरोध गरेका छन् ।
उक्त दान पेटिकामा संकलन हुने रकम दुर्गम क्षेत्रको शिक्षाका लागि सदुपयोग गर्ने मन्त्री किराँतीले घोषणा पनि गरेका छन् ।
मन्त्री किरातीले भने– ‘मलाई जनता र आम शुभेच्छुकको अथाहा माया छ । मलाई भेट्न आउनुहुने आम शुभेच्छुकसँग आग्रह गर्दछु– खादा, माला किन्दा हुने खर्च मेरो कार्यकक्षमा राखिएको दान पेटिकामा खसालि दिनुहोस्, त्यसले दुर्गम क्षेत्रको शिक्षामा थोरै भए पनि सहयोग पुग्छ ।’
मंगलबार(हिजो) मात्रै पदभार सम्हालेका मन्त्री किराँतीले बुधबार(आज) बिहानै कार्यकक्षमा दान पेटिका राखेका हुन् । भेटघाट तथा बधाई दिन आउने आगन्तुकले उक्त दान पेटिकामा दान गर्न थालिसकेको उनको सचिवालयले जनाएको छ ।