इटहरीः जिवित रहेको शिशुलाई मृत घोषणा गरेपछि बिराटनगरको कोशी अस्पतालमा लफडा भएको छ ।
मोरङको जहदा गाउँपालिका–३ भात्तिगन्जकी उमा मुखियाको १८ दिने नवजात छोरीलाई जिवितै अवस्थामा मृत घोषणा गरेको आरोप लगाउँदै कोशी अस्पतालको आकस्मिक कक्षका डाक्टर आकाश यादवमाथि कुटपिट समेत भएको छ ।
शिशुका आफन्तहरुले यादवलाई कुटपिट गरेका हुन्। कुटपिटबाट डा.यादवको टाउकोमा चोट लागेको छ ।
नवजात छोरी अचानक बिरामी भएपछि बुबा दीलिप मुखिया र आमा उमा मुखियाले बुधबार बिहान कोशी अस्पताल ल्याएका थिए । आकस्मिक कक्षमा पुग्दा डा. आकाश यादवसहितको टोलीले केहिबेच चेकजाँच गरेर शिशुको मृत्यु भएको बताएका थिए ।
शिशुकी आमाले बच्चालाई बाहिर ल्याउँदा हात र खुटा चलेपछि जिवितै शिशुलाई मृत घोषणा गरेको भन्दै विवाद सिर्जना भएको थियो ।
डाक्टरले सास छैन भनेर मृत घोषणा गरेकी छोरी ज्यूँदै पाइएपछि कोशी नजिकै रहेको गोल्डेन अस्पतालमा राखेर परिवारले उनको उपचार गराइरहेको बताएका छन् ।
कोशीका डाक्टरले मृत घोषणा गरेकी छोरीको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको बताएको आमा उमा मुखियाले बताएकप् छन् । नवजात शिशुलाई हस्पिटल ल्याउँदा मुटुको धड्कन नभएको र श्वास पनि नचलेको जानकारी उपचारमा संलग्न चिकित्सकले दिएको मेसु यादवको दावी छ ।
जिवित रहेको शिशुलाई मृत घोषणा गरेको भन्दै उपचारमा संलग्न डाक्टरमाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चिकित्सकमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी नियन्त्रणमा पर्नेमा मनोज मुखिया, मन्नु मुखिया र अर्को एक जना नाम नखुलेको व्यक्तिलाई छन् ।