विराटचोकः पूर्वाञ्चल विश्वविद्यालयको विकास नहुनुको मुख्य कारण जस कसले लिने भन्ने आफूले पाएको मोरङ क्षेत्र नम्बर ६ का सांसद शेखर कोइरालाले बताएका छन् । विश्वविद्यालयको शिक्षण अस्पतालको सेवा बिस्तारको उद्घाटनका लागि भएको कार्यक्रमका प्रमुख अतिथि डा= कोइरालाले यस्तो बताएका हुन् ।
‘मेडिकल शिक्षण अस्पताल सञ्चालन गर्नलाई गाह्रो पनि छ,’ डा=कोइरालाले भने, ‘साथै जस कसले लिने, कसको नेतृत्वमा गर्ने भन्नेमा होड चलेको पाएको छु ।’
इच्छाशक्ति भयो भने विश्वविद्यालयमा मेडिकल शिक्षण अस्पताल सञ्चालनमा समस्या छैन । उपकुलपतिको इच्छाशक्ति नभएसम्म अस्पताल सञ्चालन नहुने तर हालसम्मका उपकुलपतिमा इच्छाशक्ति नपाएको कोइरालाले बताए ।
जनतालाई विश्वास दिलाउन पनि मेडिकल कलेजको लागि डीन तत्कालै नियुक्त गर्नुपर्ने उनले बताए । अहिलेको जस्तो दैनिक ज्यालादारीमा चिकित्सक राखेर अस्पताल सञ्चालन गर्न नसकिने बताउँदै उनले भने सरकारले दिने जम्मा ४ करोड रुपैयाँले विश्वविद्यालय चलाउन नसकिने समस्या रहेको आफूले बुझेको उनको भनाइ थियो ।
सरकारको अङ्ग विश्वविद्यालय भएकाले पूर्ण रुपले सरकारले दायित्व बेहोर्नुपर्ने उनले औँल्याए । मेडिकल कलेज सञ्चालन भएपछि स्थानीयवासीले डाक्टरले कस्तो सेवा दिइरहेका छन्, पूरा समय अस्पतालमा बसेका छन् कि छैनन् भनेर निगरानीका साथ खबरदारी गर्नुपर्नेमा उनले जोड दिए ।