विराटचोकः ग्रामीण भेगका मानिसले निःशुल्क नाटक हेर्न सकून् भन्ने उद्देश्यले मोरङको सुन्दरहरैंचामा मुक्त रङ्गमञ्च बन्ने भएको छ । शिल्पी थिएटरका निर्देशक घिमिरे युवराजको परिकल्पनामा हुने नाटक ३ महिनाभित्र तयार हुने भएको छ । रङ्गमञ्चको शिलान्यास बुधबार महानायक राजेश हमालले गर्ने भएका छन् ।

घिमिरेका अनुसार देशकै पहिलो सो मुक्त रङ्गमञ्च ८ कठ्ठा जमिनमा बन्नेछ । सो रङ्गमञ्चमा मञ्चन हुने नाटक दर्शकले निःशुल्क हेर्न पाउनेछन् । ३ महिनाभित्रमा मुक्त रङ्गमञ्च बनिसक्ने र साँझ पर्नुभन्दा अघिको समयमा मुक्त रङ्गमञ्चमा नाटक मञ्चन गरिने उनले जानकारी दिए ।

‘खुला रङ्गमञ्चको अभ्यास संसारभर छ । यसमा टिकट काटिँदैन,’ फोन सम्पर्कमा घिमिरेले भने, ‘ग्रामीण समाजका दर्शकसँग टिकट काट्ने पैसा हुँदैन । टिकट नकाटेपछि नाटक हेर्न पर्खालले छेकिदिन्छ अर्थात् चौघेराभित्र नाटक मञ्चन हुन्छ तर मुक्त रङ्गमञ्चमा निःशुल्क नाटक हेर्न पाइन्छ ।’

mukta

निर्देशक घिमिरेका अनुसार मुक्त रङ्गमञ्चमा अर्धवृत्ताकारमा सिँढी निर्माण हुन्छ । तिनै सिँढीमा बसेर दर्शकले नाटक हेर्छन् । ग्रीकबाट शुरु भएको मुक्त रङ्गमञ्चको अभ्यास भारतका हरेक शहरमा रहेको घिमिरेले जनाए । थकित नगरवासीको थकान मेटाउन भारतका हरेक शहरमा साँझमा मुक्त रङ्गमञ्चमा नाटक देखाइने गरेको उनले बताए । सिर्जनात्मक गतिविधि हेरौँ भन्ने उद्देश्यले पनि भारतीय दर्शकहरु मुक्त रङ्गमञ्चमा जाने गरेको पाएको घिमिरेको अनुभव छ ।

सुन्दरहरैंचा–८ सलकपुरमा रहेको फुटबल चौरको उत्तरतर्फ बुधबार दिउँसो ३ बजे हुने शिलान्यास कार्यक्रमको उद्घाटन राजेश हमालले गर्ने भएका छन् । गायक सुगम पोखरेलको साङ्गीतिक प्रस्तुति पनि कार्यक्रममा रहने सुन्दरहरैंचा नाट्य केन्द्रका निरज न्यौपानेले जानकारी दिए ।