खोटाङः खोटाङको महेन्द्रद्वोय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १७ बर्षीया रञ्जिता दाहाल शंकास्पद अवस्थामा मृत फेला परेकी छन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी रञ्जिता दाहाल घर नजिकै मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ ।
उनि आईतबार विद्यालय गएर घर नफर्किएपछि खोजी गर्दा सोमबार बिहान घर नजिकै शंकास्पद अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
आइतबार अपरान्ह घर फर्कनेक्रममा सम्पर्क विहीन बनेकी बालिकाको शव घरभन्दा करीब २ सय मिटर टाढा खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
उनको शब सुरुमा स्थानीयले भेटेका थिए । स्थानीयले नै शब भेटिएको बिषयमा प्रहरीलाई खबर गरेका थिए । बालिकाको ओठ, आँखा, घाँटीमा चोट देखिएको, सलको एक टुक्रा घाँटीमा र एक टुक्रा रुखको हाँगामा रहेकाले घटना शंकास्पद देखिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमपछि बालिकालाई ‘हत्या गरेर झुण्ड्याइएको जस्तो बनाउन खोजिएको वा आफैँ झुण्डिएको’ विषय खुल्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) मञ्जिल मुकारुङले जानकारी दिएका छन् ।
माघ ३ गतेदेखि विद्यालयमा आयोजना गरिएको नगरस्तरीय भलिबल, फुटबल र नृत्य प्रतियोगीताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिइन् । प्रतियोगीताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साँढे तीन बजेतिर घर फर्केकी थिइन् । बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी वालिका बेपत्ता भएकी थिइन् ।