नवलपरासीः  पछिल्लो समयमा सामुदायिक विद्यालयहरूले माध्यमिक तहमा सञ्चालन गरेको प्राविधिक शिक्षा तर्फको कृषि विषयका विद्यार्थीहरू कृषि कार्यका लागि खेतमा रमाउन थालेका छन् । 

कृषि अध्ययन नगरेकाहरू कृषिलाई नै पेसा बनाउन विद्यार्थीहरू कृषि अध्ययन गर्नेको सङ्ख्या बढ्दै गएको छ । गत ५ वर्ष देखी माध्यमिक विद्यालय स्तरमा कृषि विज्ञान विषय सञ्चालन गर्दै आएको देवदह नगरपालिकाको केरवानी माध्यमिक विद्यालयका विद्यार्थीहरूले दुई दर्जन भन्दा बढी विद्यार्थीहरू विद्यालयबाट कृषि विषय अध्ययन सकेको केरवानी माध्यमिक विद्यालयका शिक्षक निर्मल ढुङ्गानाले बताए । 

पछिलो समयमा सामुदायिक विद्यालयहरूमा सामान्य शुल्क तिरेर प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्मको प्राविधिक शिक्षामा बाली विज्ञान (कृषि), पशु विज्ञान, ईन्जीनियरिङ तर्फ ओभरसियर, कम्प्युटर विज्ञान लगायतका विषयहरू संंचालन हुँदै आएका छन् । 

सैद्धान्तिक पढाई भन्दा पनि खेतमा नै गएर प्रयोगात्मक रूपमा कृषि काम गर्दा बढी सिकिने भन्दै विद्यार्थीहरू उत्साहित भएर खेतमा कृषि कार्य गर्ने गरेका बताइएको छ ।

 यहाँ कृषि विषय पढेका विद्यार्थीहरूले विद्यालय बाहेक विभिन्न ठाउँमा व्यावसायिक रूपमा नै मौसमी च्याउ खेती, तरकारी खेती लगायतका काममा समेत लागेको कृषि विषयका विद्यार्थी प्रवीण थारुले बताए ।

जिल्लाका विभिन्न सामुदायिक विद्यालयहरूले फरक फरक विद्यालयमा फरक फरक प्राविधिक शिक्षाको पाठ्यक्रम सञ्चालन गरेको भए पनि कृषि विज्ञानमा सहर बजारका विद्यार्थीहरू समेत राम्रो आकर्षण रहेको पाइएको छ । 

स्थानीय तहका सरकारहरूले कृषिमा जोत्ने देखी लिएर बिउँ छर्ने, काट्ने लगायतका कामहरूमा कृषि यन्त्रहरूको प्रयोग बढ्दै गएपछि विद्यार्थीहरूमा पनि कृषिको पठाई तर्फ आकर्षण बढेको सुनवल नगरपालिका कृषि शाखा प्रमुख सन्तोष कँडेलले बताए । 

यसरी गरी कृषि विज्ञान विषय अध्ययनरत विद्यार्थीहरूले विद्यालय परिसरमा विभिन्न प्रकारका बिरुवाहरूको उत्पादन, फलफूल, विभिन्न प्रकारका मौसमी तरकारी खेती गर्दै आएका छन् भने ती उत्पादित कृषि सामाग्रीको विक्री समेत गरी सानो ठुलो आम्दानी पनि हुने गरेको बताइएको छ । 

नवलपरासीको सुनवल, बर्दघाट, रामग्राम हुँदै देवदाह जस्ता बजार क्षेत्रका विद्यालयहरूमा समेत कृषि पढ्ने विद्यार्थीको सङ्ख्यामा वृद्धि हुँदै गएको पाइएको छ ।