इनरुवाः इनरुवा स्थापनामा अगुवाई गरेका तीनजना अग्रजहरुको सम्झनाका साथै सम्मानका लागि इनरुवा बजारमा शालिक स्थापनाका लागि पहल थालिएको छ ।
प्रगन्ना भालाभलेनी मौजाअन्र्तगत इनरुवा झोडा फडानी गरि मानव वस्ती बसोबास गराउनका लागि हालको इनरुवा बजार स्थापना गरि सुनसरी जिल्लाको प्रशासनिक मुकामका रुपमा सदरमुकाम इनरुवा बनाउने तीनजना अग्रजहरुको शालिक स्थापना गर्न लागिएको हो ।
इनरुवा बजार स्थित हाल घण्टाघर निर्माण कार्य हुँदै गरेको स्थानसँगै रहेको पूर्वतर्फको खाली स्थानमा आकर्षक पार्कसहित जिमिन्दार धनबहादुर श्रेष्ठ, होमबहादुर श्रेष्ठ (ठूलेबाबु) र दिलबहादुर श्रेष्ठ (सानेबावु)को अर्धकदको शालिक स्थापनाका लागि इनरुवावासी र उनका परिवारका तर्फबाट पहल थालिएको हो।
जिल्लाको शक्ति केन्दका रुपमा पहिचान गराउनका लागि आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रको रुपमा इनरुवालाई स्थापित गराउन स्वर्गिय जिमिन्दार धनबहादुर श्रेष्ठ, होमबहादुर श्रेष्ठ र दिलबहादुर श्रेष्ठले आफ्नो जीवनको युवा अवश्थालाई समर्पित गर्दै तत्कालिन राणा सरकार र दरवारसँग समन्वय गरेर अथक मिहनेत गरि हालको आधुनिक इनरुवा बन्ने अवश्था सृजना गरेका हुन ।
राणा प्रधानमन्त्री भिमशमशेरले बिक्रम सम्वत १९८८ सालमा नेपालकै कान्छो झोडाका रुपमा हालको इनरुवा रहेको ३७ नम्बर प्रगन्ना भालाभलेनी मौजा फडानीका लागि धरान पाँचकन्याका धनबहादुर श्रेष्ठलाई जिमिन्दारमा नियुक्त गरि पठाएका थिए ।
जिमिन्दार धनबहादुरले पाँचकन्याकै कर्णसिंह मगरसहित चार घर मगर परिवारलाई इनरुवा झोडामा मानव वस्ती बसोबास गराउनका लागि कामदारका रुपमा इनरुवा ल्याएर घना सखुवाको जंगल फडानी गर्न थालेका थिए ।
जिमिन्दार धनबहादुरले झोडा फडानी गरेसँगै उनका दुई भाई छोराहरु होमबहादुर श्रेष्ठ र दिलबहादुर श्रेष्ठले इनरुवामा बजार स्थापनाका लागि विराटनगरलगायतका विभिन्न स्थानबाट व्यापार व्यवसाय गर्नका लागि मानिसहरुलाई ल्याउँदै बस्नका लागि जग्गा दिदै व्यापारको सुरुवात गरेका थिए।
हाल इनरुवामा रहेका बजार स्थापना कालका सवै पुरना व्यापारी घरानाहरु होमबहादुर दिलबहादुर श्रेष्ठले ल्याएर व्यापार व्यवसाय सुरुवात गर्न लगाएका परिवारका रहेका छन ।
परिवारका तर्फबाट दिलबहादुर श्रेष्ठ सानेबाबुका छोरा बुहारी क्याविनेट श्रेष्ठ, सुजन श्रेष्ठ, होमबहादुर श्रेष्ठ (ठुलेबाबु)का नाती कविन श्रेष्ठले अर्धकदको शालिक निर्माण गरेकाले इनरुवावासीका तर्फबाट शालिक बजारक्षेत्रमा स्थापनाका लागि इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, इनरुवा नगर कार्यपालिकाका सदस्यहरु समक्ष जग्गा उपलब्ध गराउन पहल थालिएको हो ।
परिवारका तर्फबाट नगरपालिकाका मेयर केदार भण्डारीसमक्ष प्रस्ताव लिएर गएकी सुजन श्रेष्ठले नगरपालिकाले इतिहासका अग्रजको सम्मान र सम्झनाका लागि शालिक राख्ने स्थान उपलब्ध गराएपछि आकर्षक पार्क निर्माणका लागि परिवारकै तर्फबाट सम्पूर्ण व्योहोर्ने जानकारी गराइन ।
ठूलेबाबुका नाती कविन श्रेष्ठले इनरुवाका पुराना र नयाँ पुस्ताका सवै बुबाआमा, काकाकाकी, दाजु भाउजु, भाई बुहारी, दिदीबहिनीलगायतले इतिहासको अध्यय्न गर्न यस स्थानको विकासका लागि भएको योगदान र संघर्षका ’दयगतका जानकारी लिनसमेत झोडा फडानीदेखि हालको आधुनिक नगरसम्मको ’दयगतमा बुझ्नका लागि शालिक स्थापना गर्नुपर्ने मागअनुसार परिवारका तर्फबाट शालिक निर्माण गरि स्थापनामा सहयोग गरेको बताए ।
इनरुवा १ का अश्वीनी भट्टले इनरुवा पूर्व क्षेत्रमा पहिचानको इतिहास बोकेको स्थान भएकाले झोडा फडानीसँगै आर्थिक केन्द्र, राजनीतिक तथा प्रशासनिक केन्द्र र मानव वस्ती बसाउन अगुवाई गरेका संस्थापकहरुको सम्मानका लागि शालिक बजार क्षेत्रमा स्थापना गर्न लागिएको हो ।
सुनसरी जिल्लाको सदरमुकाम बनाउने विषयमा दिलबहादुर श्रेष्ठको महत्वपूर्ण भूमीका रहेको छ । तत्कालिन समयमा गृहमन्त्री रहेका श्रेष्ठ र तत्कालिन प्रधानमन्त्री नगेन्द्र रिजालवीच लामै बहस भएको थियो ।
रिजाल सदरमुकाम धरान लाने पक्षमा थिए भने श्रेष्ठ इनरुवा हुनु पर्ने पक्षमा थिए । त्यसबेला दिलबहादुर श्रेष्ठले जिल्लाको विच भागमा इनरुवा पर्ने र विकसित भईसकेको ठाँउभन्दा विकास गर्ने सरकारको नीति भएको भन्दै तत्कालिन राजा महेन्द्रलाई कन्भिन्स गर्न सफल भएका थिए ।