धरानः  सुनसरीको इटहरी उपमहानगरपालिकामा रहेको जनता माविलाई प्रदेश–१ सरकारको सामाजिक विकास मन्त्रालयले उत्कृष्ट विद्यालयका रुपमा छनोट गरेको छ । सुनसरी जिल्लामै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयका रुपमा उक्त विद्यालयलाई छनोट गरी अनुदानसमेत दिने घोषणा गरिएको छ । 

उक्त मन्त्रालयको प्रशासन तथा शैक्षिक योजना महाशाखाले  उत्कृष्ट विद्यालयका रुपमा छनोटमा परेको जानकारीसहित प्रदेश सरकारले दिने सुविधा लिनका लागि प्रस्ताव पेस गर्न विद्यालयलाई पत्राचार गरेको छ । मन्त्रालयका उपसचिव कृष्णप्रसाद पोखरेलका अनुसार विद्यालयले प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप रु १४ लाख ५० हजार पाउनेछ । बीस प्रतिशतसम्म प्रोत्साहन कार्यक्रम र ८० प्रतिशत विद्यालयको प्रस्तावका आधारमा कार्य गर्ने गरी योजना बनाएर पेस गर्न पत्राचार गरिएको थियो । 

मन्त्रालयले आव  ०७९र०८० का लागि प्रत्येक जिल्लाबाट एक–एकवटा उत्कृष्ट व्यवस्थापन भएका सफल सामुदायिक माध्यमिक विद्यालयलाई प्रोत्साहन कार्य गर्ने कार्यक्रमअनुसार सुनसरीमा जनता माविलाई छनोट गरेको जनाएको छ । मन्त्रिस्तरीय बैठकबाट मङ्सिर २६ गते उक्त माविलाई उत्कृष्ट विद्यालय छनोट गरी प्रोत्साहन कार्यक्रम दिने निर्णय गरिएको थियो । यही पुस ९ गते एक साताको समय दिएर विद्यालयलाई प्रस्ताव पेस गर्न पत्राचार भएको छ ।  

321478509_717365993236399_7116186816550445471_n

पछिल्लो चार वर्षमा उक्त विद्यालय नमुना विद्यालयका रुपमा दरिएको छ । यहाँ निजी विद्यालयहरूबाट अध्ययन गर्न विद्यार्थीहरू ल्याउने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दङ्गालले जानकारी दिए । 

कक्षाकोठालाई स्मार्ट बनाउनेदेखि अङ्ग्रेजी माध्यमबाट पढाउने अनि इटहरीभरिकै उत्कृष्ट शिक्षकहरू नियुक्त गर्ने क्रम सुरु गरिएपछि विद्यालयमा विद्यार्थीको भीड नै लाग्न थालेको विद्यालयको जिकिर  छ । 

उनले भने, “विद्यालयका शिक्षक, व्यवस्थापन समितिका बाँकी सदस्य, अभिभावक र स्थानीय राजनीतिक दलका नेता सबैको साथ र सहयोगका कारण यो उपलब्धि पाइएको छ । यसको निरन्तरताका लागि हाम्रो प्रयास जारी रहनेछ ।”  विद्यालयलाई प्रदेशकै अब्बल बनाउने प्रयासमा आफूहरू रहेको अध्यक्ष दङ्गालले जानकारी दिए । 

पर्याप्त सरकारी सहयोग भएर पनि शैक्षिक सुधार गर्न नसकेका देशभरका सामुदायिक विद्यालयका लागि उक्त विद्यालय पछिल्लो समय गतिलो उदाहरण नै बन्न सफल भएको छ । इटहरी र आसपासका राम्रा शिक्षकहरूलाई नियुक्ति दिएर विद्यार्थीलाई गुणस्तरीय शिक्षा सुनिश्चित गरिएको विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिए ।  यस स्कुलले आउँदो शैक्षिक सत्रदेखि आम सञ्चार, कानुन र सिभिल इञ्जिनियरिङको पढाइ सुरु गर्ने तयारी रहेको पनि उनले जानकारी दिए । रासस