प्रकाश बन्जारा 

इटहरीः सुनसरी जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयको उपाधि पाएको इटहरीको जनता माध्यामिक विद्यालयले यहि पुष १५ गतेबाट जनता ओलम्पिक २०७९ को आयोजना गर्ने भएको छ । 

सुनसरी जिल्लाका १२ वटै पालिकाका सामुदायिक विद्यालयलाई लक्षित गरेर आयोजना गर्न लागिएको हो । पहिलो पहिला आफ्नो विद्यालयका विद्यार्थीलाई मात्रै समेटेर स्पोर्टस इभेन्ट गर्ने गरेको विद्यालयले जनता ओलम्पिक इटहरीमा पहिलो चोटी आयोजना हुन लागेको जनता मावि इटहरीका प्रद्यानाध्यापक पशुपति सिग्देलले जानकारी दिएका छन् । 

जनता ओलम्पिक अन्तर्गत सामुदायिक विद्यालयका माध्यामिक तहका छात्र तथा छात्रालाई लक्षित गरेर भलिवल, लोकनृत्य र वत्तृत्वकला प्रतियोगिताको आयोजना हुने बताइएको छ । 

विद्यालयले सुनसरी जिल्लाभरीका सामुदायिक विद्यालयका छात्राहरुलाई संगेटेर छात्रा भलिवल प्रतियोगिता पुष १५ बाट गर्दैछ भने माघ ९ गते लोकनृत्य प्रतियोगिता र माघ १० गते वत्तृत्वकला प्रतियोगिता आयोजना गर्नेछ ।  

पौष १५ र १६ गते  विदा भएको  कक्षा पनि डिस्टर्व नहुने भएकोले भलिवल प्रतियोगिता सो दिन आयोजना गरिएको प्रद्यानाध्यापक सिग्देलले जानकारी दिए । भलिवलमा मंगलबार विहान सम्म  २० वटा सामुदायिक विद्यालयका छात्राहरुले सहभागिता जनाउने निश्चित भइसकेको छ भने बाँकि केहि विद्यालयले पनि दर्ता गराउने प्रारम्भिक जानकारी पाएको सिग्देलको भनाई थियो । 

विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई खेलकुदमा पोख्त बनाउने उदेश्यले जनता ओलम्पिकको अवधारणा लिइएको जनता मावि इटहरीकी व्यावस्थापन समिति सदस्य सरिता कार्कीले बताइन । 

भलिवल प्रतियोगितामा प्रथम हुने सामुदायिक विद्यालयलाई २० हजार, द्धितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार नगद पुरस्कारको व्यावस्था गरिएको छ भने लोकनृत्यलाई पनि सोही अनुसार पुरस्कार दिने र वत्तृत्वकलामा सहभागि भएर प्रथम, द्धितीय र तृतिय हुने विद्यार्थीलाई क्रमश १० हजार ७ हजार र पाँच हजार पुरस्कार प्रदान गरिने प्रद्यानाध्यापक सिग्देलले जानकारी दिए । 

सुनसरीका सबैपालिकाबाट कम्पतीमा एउटा विद्यालयको सहभागिता गराउने प्रयास भइरहेको बताइएको छ । हालसम्म भोक्राहा नरसिंह र कोशी गाउँपालिकाका बाहेक सबै पालिकाबाट दर्ता भइसकेको बताइएको छ । 

त्यसैगरी जनता माविलाई प्रदेश सरकारले सुनसरी जिल्लाभरीकै उत्कृष्ट व्यावस्थापन भएको सामुदायिक विद्यालय घोषित गरेको छ । उत्कृष्ट विद्यालय घोषित भएसँगै जनता माविले  १४ लाख ५० हजार पुरस्कार पाउने भएको छ । विद्यालयले पाउने पुरस्कारमध्ये २० प्रतिशत रकम विद्यालयका शिक्षकहरुको प्रोत्साहनमा खर्च गर्नुपर्ने र ८० प्रतिशत रकम विद्यालय व्यवस्थापन समितिको निर्णयमा विद्यालय सुधार तथा शैक्षिक सुधारमा खर्च गर्ने गरी प्राप्त हुने विद्यालयका प्रद्यानाध्यापक पशुपति सिग्देलले जानकारी दिए ।