विराटनगरः  छिमेकी मुलुक भारत र चीनसहित विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट वीएफ–७ को सङ्क्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि तयारी सुरु गरेको छ । 

खुला सीमाको प्रभावले सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई ख्याल गर्दै सोमबार तीनै तहका सरकारका प्रतिनिधिहरूको उपस्थितिमा महानगरले अन्तक्र्रिया गरेको हो । 

अन्तक्र्रियामा महानगरका मेयर नागेश कोइरालाले भारतसँग सीमा जोडिएका कारण विराटनगरमा कोरोनाको नयाँ भेरियन्टको उच्च जोखिममा रहेकाले सतर्कता अपनाउनुपर्ने बताए । मेयर कोइरालाले भने, “भारतमा समेत वीएफ–७ को सङ्क्रमित फेला परिसकेका छन्, चीनमा त ठूलो जनसङ्ख्यालाई नयाँ भेरियन्टको सङ्क्रमण भएको छ, विराटनगरले आवश्यक सावधानी अपनाउन जरुरी छ।’’अहिलेदेखि नै सतर्कता र तयारी गर्न आवश्यक स्वास्थ्य मापदण्ड पालनामा उनले जोड दिए ।  

मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले कोरोनाको नयाँ भेरियन्टको जोखिम न्यूनीकरण र रोकथामका लागि तीनै तहको सरकारको सहकार्य र समन्वयमा जोड दिए ।  

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले विगतको भन्दा यस पटकको कोरोनाको सङ्क्रमण दर उच्च रहेकोले त्यो जोखिमबाट सुरक्षित हुन आवश्यक रहेको बताए ।  नयाँ भेरियन्टले एक जना सङ्क्रमितबाट १८ जनासम्मलाई सङ्क्रमण सर्ने दाबी छ । 

छलफलमा स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले विगतमा कोरोना महामारीमा महानगरले गरेको कार्य र वीएफ–७ को जोखिमका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कोभिड रोकथाम र नियन्त्रणका लागि महानगरले स्वास्थ्य अधिकृत रमेश कार्कीलाई फोकल पर्सन तोकेको छ ।  छलफलमा वडाध्यक्षसहित विभिन्न क्षेत्रका व्यक्तिहरूले कोभिडको नयाँ भेरियन्टबाट बच्न सीमा नाकामा कडाइ गर्नुपर्ने र सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुस ९ गते परिपत्र पठाएर तयारीमा लाग्न मातहतका निकायलाई निर्देशन दिएको थियो । त्यस्तै गृह मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै नयाँ भेरियन्टको जोखिम न्यूनीकरण र रोकथाममा लाग्न आग्रह गरेको थियो । महाशाखा प्रमुख अलीका अनुसार विराटनगर–१६ को रानी हेल्थ डेस्क, १५ को प्राथमिक स्वास्थ्य केन्द्र रानी, वडा नम्बर १९ स्थित वैजनाथपुर स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र विराटनगर–५ मा कोभिडको निःशुल्क परीक्षण भइरहेको छ ।  विगतको भेरियन्टबाट विराटनगरमा दैनिक ३५० जनासम्म सङ्क्रमित भएका थिए ।  १९ हजार ८८४ जना सङ्क्रमित हुँदा विराटनगरमा मात्रै २६४ जनाको मृत्यु भएको खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।