प्रकाश बन्जारा
इटहरीः रामधुनी नगरपालिका वडा नम्बर १ मा रहेको साई हस्पिटल प्रालिले शनिवार एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
रामधुनी नगर र आसपासका विरामीहरुलाई विरामी भएर सिकिस्त भएको अवस्थामा मात्रै डाक्टरकोमा जाने चलनलाई तोड्न र नियमित स्वास्थ्य जाँच गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न शिविरको आयोजना गरिएको हस्पिटलले जनाएको छ ।
शिविरमा डा.सितेन्द्र यादव नवजात तथा बालरोग विशेषज्ञ, डा. तुलसी कुमार महतो स्त्री तथा प्रशुती रोग विशेषज्ञ, साथै डा.दोजेन्द्र बस्नेत इन्टरनल मेडिसिन लगायतले स्वास्थ्य जाँच गरेका थिए ।
शिविरमा निःशुल्क ओपिडी सेवाका साथै बालरोग, स्त्रीरोग, तथा जनरल फिजिसियनको सेवा निः शुल्क प्रदान गरेको थियो भने ल्याव सेवामा १५ प्रतिशत छुट दिइएको थियो । शिविरमा आएका विरामीहरुलाई निःशुल्क सुगर जाँच गरिएको र करिव ३० हजार रुपैँया बराबरको औषधि समेत निःशुल्क वितरण गरिएको हस्पिटलका संचालक दुर्गा प्रसाद फुयाँलले बताए ।
झण्डै एक बर्ष अघि स्थापना भएको साई हस्पिटलयले यस क्षेत्रका विरामीलाई लक्षित गर्दै बेला बेलामा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिरहेको छ ।
शनिवारको शिविरमा २ सय भन्दा बढिले आफ्नो स्वास्थ्य जाँच गर्दै शिविरको फाइदा उठाएको फुयाँलले बताए ।
स्वास्थ्य जनचेतना फैलाउने , सिरियस भएमात्रै डाक्टरकोमा जाने चलनराई रोेक्ने , धनी भन्दा पनि अति विपन्नको लागि तार्गेट गरेर स्वास्थ्य शिविरको आयोजना गरिएको संचालक फुयालले बताए । पैसा नहुनेहरुका लागि पैसा नभएको अवस्था निःशुल्क उपचार समेत गरेर पठाउने गरेको उनको भनाई थियो ।
जेनेरल मेडिसिन, गाइनोक्लोजिष्ट, साइकोलोजिक, अर्थोपेडिक , सर्जरी, रेडियोलोजिस्ट लगायतका सेवा साई हस्पिटलले दिँदै गरेको र अपरेसन थ्रियटर सहित २५ शैयाको वेडको समेत तयारी भइसकेको छ अव सिटी स्कान र एमआईआई लगायतका सेवाको लागि भन्दा बाहेक विराटनगर नै जानुपर्छ भन्ने बाध्यता हटाइने साई हस्पिटलको दावी छ ।
अहिले हस्पिटलमा ६ जना एमविविएस डाक्टर, १३ जना स्पेशलिष्ट डाक्टर र ३ जना बरिष्ट स्पेशलिष्ट डाक्टरले सेवा दिइरहेको संचालकको भनाई छ ।
स्वास्थ्य सेवालाई गाउँ सम्म जोड्नका लागि महिला स्वास्थ्य सेविकाहरुलाई निःशुल्क उपचार दिने गरेको र रोग बोकेर बसेका विरामीहरुलाई बेला बेलामा आयोजना हुने शिविरमा आएर उपचारको फाइदा लिन संचालक फुयाँलले अनुरोध गरेका छन ।