इटहरीः विद्यालय जाँदै गरेका दुई बालिकालाई होटलमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
मोरङको सुन्दरहरैंचामा दुईजना बालिकालाई फकाएर बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले सुन्दरहरैँचाका चार जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सुन्दरहरैंचा–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैंचा–६ का २१ वर्षीय प्रताप तामाङ पक्राउ परेका छन् ।
उनीहरुले सुन्दरहरैंचा–७ बेलगाछीमा रहेको होटल दरबार इन, रेस्टुरेन्ट एन्ड लजका लगेर अलगअलग कोठा भाडामा लिई बालिकालाई बलात्कार गरेको खुलेको छ । कक्षा ८ र ९ मा अध्ययनरत बालिकाहरुलाई गत शुक्रबार बलात्कार गरिएको थियो । बालिकाहरु विद्यालयबाट घर नफर्किएपछि खोजतलास सुरु भएको थियो ।
१५ भन्दा कम उमेरका बालिकाहरु सुन्दरहरैंचा नगरपालिकाका स्थानीय हुन । पुस १ गते विद्यालय नपुगेका उनीहरु सुन्दरहरैंचाकै गौशालामा भलिबल हेर्न भन्दै पुगेको र त्यहि बखत तिम्सिना र तामाङले फकाएर होटल पु¥याएको आरोप छ ।
पीडित बालिकाका अभिभावक शनिबार थाहा पाएपछि आइतबार प्रहरीमा किटानी जाहेरी दिइएको थियो । अभिभावकले दिएको किटानी जाहेरीको आधारमा बलात्कारमा संलग्न दुवै जनालाई पक्राउ गरिएको थियो ।
घटनामा तिम्सिना र तामाङलाई सहयोग गर्ने सुन्दरहरैंचा–५ का २० वर्षीय बेन्जु चौधरी र सुन्दरहरैंचा–६ का २० वर्षीय पदम कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय बेलबारीले गरिरहेको छ ।