इटहरीः गरिवीको कारणबाट उपेक्षित भइरहेका रोग र त्यसले मानव जिवनमा पारेको असरबारेमा सुनसरी जिल्लाभर सेभ द अर्थ नामक संस्थाले विश्वास परियोजना मार्फत काम गरिरहेको बताएको छ । 

आइतबार सुनसरीको झुम्कामा आयोजित मिडिया अन्तक्र्रिया कार्यक्रममा बोल्दै सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईले नेपालमा पाइने तर उपेक्षित भएका रोगहरुको बारेमा स्थानीय सरकारहरुले समेत उपेक्षा गरेको बताए । 

स्वीस सरकारको सहयोगमा सञ्चालित फेयर मेड नेपालको आर्थिक सहयोगमा प्रदेश १ का मोरङ्ग सुनसरी र झापामा उपेक्षित उष्ण प्रदेशिय रोगको बारेमा समुदायमै पुगेर कार्यक्रम सञ्चालन भइरहेको फेयर मेड नेपालका संयोजक मनिष सुवेदीले बताए । 

 विश्वास प्रयोजनाले मिडिया अन्तरक्रिया कार्यक्रममा बोल्दै सुवेदीले नेपालमा पाईएका उपेक्षित उष्णप्रदेशिय रोगहरुले पारेको असर र यस्ता रोगहरुबाट बच्न अपनाउनुपर्ने सजगताको बारेमा संचारकर्मीहरुलाई जानकारी दिए भने मिडियाको माध्यमबाट यस्ता प्रकारका रोगको बारेमा जनचेतना जगाईदिन संचारकर्मीहरुलाई आग्रह गरे । 

विश्वास परियोजनाले गरिरहेको कामको बारेमा   लक्षित समुदायसम्म पुग्न सञ्चारकर्मीको ठुला हात हुने भन्दै कार्यक्रमको आयोजना गरिएको सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईले जनाए । 

उपेक्षित उष्णप्रदेशिय रोगहरुको किटाणु मानिसको सरिरमा प्रवेश गरेको लामो समय पछि मात्र लक्षण देखा पर्ने हुँदा यस्ता रोगलाई सरकारले कुनै योजना नबनाउदा बिरामिको संख्यमा उल्लेख वृद्धि भैरहेको छ ।

हेला गरिएका तर मानव शरिरमा गम्भिर असर गर्ने रोगहरु दश वटा रहेको भन्दै कार्यक्रम संयोजक सुवेदीले ती रोगहरु लुकाएर बस्ने चलन भएको तर सरकारी सेवा हुँदा हुँदै पनि रोगीहरु उपचारको लागि तयार नहुने यथार्थ सुनाए । 

उपेक्षित रोगहरुमा कुष्ठरोग, हात्तिपाइले, जुका, डेगुँ, चिकन गुनिया, रेविज, सर्पदंश, लुतो, कारजार, फित्ते जुका र खस्रे रोग रहेका सेभ द अर्थले जनाएको छ । 

विकसित देशमा निमिट्यान्न भइसकेका यी रोगहरु नेपाल लगायत विश्वका १४९ वटा देशमा अझै कायम रहेको र जसको असर दश करोड भन्दा बढि जनसंख्यामा परिरहेको बताउँदै कार्यक्रम संयोजक सुवेदीले यसको न्युनिकरणका लागि विदेशी राष्ट्रले समेत त्यत्ति चासो नदेखाएको बताए । 

गरिवीसँग जोडिएका नेपाल सहित अफ्रिकाका ६ वटा देशहरुमा विश्वास परियोजना अन्तर्गतका योजनाहरु चलिरहेका छन् । यो परियोजना सुनसरीको दुहवी र इनरुवा नगरपालिका सहित ८ वटा पालिकाहरुलाई संचालन भइरहेको र त्यहाँ आफ्ना स्टाफ समेत रहेर गाउँ गाउँमा ट्रपिकल डिजिजको बारेमा जनचेतना फैलाइ रहेको सेभ द अर्थले जनाएको छ । 

संस्थाले मातृ मृत्युदर कम राख्न पनि बर्थिङ्ग सेन्टरहरुलाई व्यवस्थीत गर्ने , स्वास्थ्य सामाग्रिहरु प्रदान गर्ने देखि विद्यालय स्तरमा पनि गएर १८१ वटा विद्यालयमा ४४ हजार १५६ जना विद्यार्थीलाई जुकाको औषधि समेत खुवाइएको बताएको छ ।