धरानः  हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित रियालिटी शो ‘द भोइस अफ नेपाल’ मा शिर्ष १२ मा पुग्न सफल पदम राईलाई भोट गरी विजय गराउन धरानमा अभियान सुरु गरिएको छ ।

बुधबार पदमका परिवारले धरानमा पत्रकार सम्मेलन गर्दै भोटमार्फत विजयी गराउन अपिल गरेका हुन् । ’टिम राजेश’ मा रहेका पदमलाई  खल्ती एपमार्फत भोट गर्न सकिने पदमका दाजु भूपाल राईले बताए । उनले भने, ‘साङ्गीतिक क्षेत्रमा धरानले देशकै प्रतिनिधित्व गर्दै आएको छ, यहाँका सङ्गीतप्रेमी समुदायमा पदमलाई भोट गरिदिन अपिल गर्दछु,।’ उनले भोइसले सङ्घर्षरत प्रतिभाहरुलाई प्लेटफर्म दिइरहेकाले धराने युवालाई प्रोत्साहित गर्न आग्रह गरेका छन् । 

पदम पूर्वका प्रतिभा रहेकाले सबैलाई सहयोग गर्न धरानका स्थानीय तथा संविधान सभा सदस्य किरण राईले बताए । उनले प्रतिभा भएर पनि अवसर प्राप्त गर्ने अवस्था नरहेकाले द भोइसको यो अवसरलाई पदम राईको पक्षमा पार्न सबैले सहयोग गर्न आग्रह गरे ।  

ब्लाइण्ड राउन्डमा टिम प्रमोदलाई छनोट गरेका पदमले ब्याटलमा बाहिरिंदा कोच राजेशले स्टिल गरेका थिए । नकआउट राउण्डमा प्रतिस्पर्धीलाई पछि पार्दै पदम हाल लाइभ राउण्डपछि क्लोज क्याम्पमा छन् । 

टिम राजेशपायल राईबाट शीर्ष १२ मा पर्न सफल पदम धरानबाट काठमाडौं गई विगत एक दशक अघिदेखि साङ्गीतिक क्षेत्रमा कृयाशील र संघर्षरत छन् । 

फुटकर ५० बढी गीतमा आवाज भरिसकेका पदमले एक दशक अघि नै ’यो जन्म’ नामक साङ्गितिक एल्बम बजारमा ल्याइसकेका थिए ।  युट्युब च्यानलमा ’करोड क्लब’ मा पदमका ४ वटा गीत छन् ।