इटहरीः विराट मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलको रिसेप्सन र बिलिङ्गका कर्मचारीको मिलेमत्तोमा ठुलो रकम हिनामिना भएपछि पक्राउ परेका दश जना कर्मचारीबाट ५८ लाख बराबरको धरौटी माग गरिएको छ । 

मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलको आधा करोड भन्दा बढी घोट्ला गर्ने १० जना कर्मचारीलाई धरौटीमा छोड्न मोरङ्ग अदालतले आदेश गरेको हो ।

मोरङ अदालतका न्यायाधीश राजेश्वर अर्यालको इजालशले पक्राउ परेका १० जना कर्मचारीहरूलाई बधुबार ५८ लाख ३० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएका हुन् ।

हस्पिटलको झण्डै ५८ लाख बराबरको रकम हिनामिना गरेको आरोपमा अस्पताल प्रशासनबाटै उजुरी परेपछि उनिहरु प्रहरी नियन्त्रणमा थिए भने अदालतमा मुद्धा समेत दर्ता भएको थियो । 

अदालतका आदेश अनुसार सबैभन्दा बढी धरौटी हस्पिटलको रिसेप्सन बिलिङ एण्ड डिस्चार्ज विभागका इन्चार्ज मोरङको सुनवर्षी नगरपालिका २ का २६ वर्षीय दुर्गा बहादुर विष्ट र सुनसरी इटहरी ४ का २४ वर्षीय अश्विनी भट्टराईलाई तोकेको छ । उनीहरूसँग  जनही २४÷२४ लाख रुपैयाँ धरौटी माग गरिएको छ । 

कर्मचारीको  मिलेमतोमा हस्पिटलको ५७ हजार ९६ हजार १ सय ६० रुपैयाँ अपचलन गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो । उनीहरूले नक्कली बिरामी खडा गरी घोट्ला गर्नुको साथै अर्काको पासवर्ड प्रयोग गरी हस्पिटलको रकम हिनामिना गरेका थिए । 

अदालतले पक्राउ परेका कर्मचारी मध्ये यस्तै स्वस्तिका श्रेष्ठलाई ५ लाख ४०, सुशील पासवानलाई ३ लाख १ हजार, प्रभु नारायण चौधरीलाई ४० हजार, सुनिल पासवानलाई २० हजार, दीपेन्द्र तवरदारलाई ३० हजार, किरण विश्वकर्माले ७० हजार, वसन्त कुमार रामले १० हजार र नारायण चौधरीलाई ६० हजार रुपैयाँ धरौटी रकम अदालतले तोकेको छ । बुधवार वादी र प्रतिवादीका कानुन व्यवसायीहरूले बहस सकेपछि थुनछेक आदेश आएको हो ।

मोरङ अदालतमा दायर अभियोगमा उल्लेख भएको विवरण अनुसार विष्टले २३ लाख ६६ हजार ६ सय १७ रुपैयाँ, भट्टराईले २३ लाख ९० लाख ७ सय ३१ रुपैयाँ अस्पतालको रकम अपचलन गरेको खुलेको छ । यस्तै अस्पतालका अन्य कर्मचारीहरू स्वस्तिका श्रेष्ठले ५ लाख २६ हजार ७ सय ९१, सुनिल पासवानले १९ हजार ६ सय २७, प्रभु नारायण चौधरीले ३३ हजार ३ सय, सुशील पासवानले २ लाख ९८ हजार ५ सय ३, किरण विश्वकर्माले ६७ हजार ३ सय ३२, वसन्त कुमार रामले १० हजार र नर नारायण चौधरीले ५६ हजार ५ सय ७३ रुपैयाँ हिनामिना गरेको अदालतमा दायर भएका ठगी मुद्दाको अभियोग पत्रमा उल्लेख छ ।

हस्पिटलको कर्मचारीको मिलेमतोमा विराट टिचिङ हस्पिटलको ५ करोड रुपैयाँ हिनामिना भएको भन्दै कारबाहीको दायरामा ल्याउन मागसहित ३ कार्तिकमा मोरङ प्रहरीमा उजुरी दिएको थियो ।

 प्रहरीमा उजुरीपरेपछि विष्ट र भट्टराईलाई सोही दिन पक्राउ गरेको थियो । अन्य ८ जनाको पनि घोटालामा संलग्न देखिएपछि पछि पक्राउ परेका थिए । प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि शुक्रवार उनीहरू विरुद्ध मोरङ अदालतमा ठगी मुद्दा दायर भएको थियो ।

घोटालामा संलग्न भएका मध्ये मुख्य नाइके विष्ट र भट्टराई रहेको पाइएको छ भने बाँकि कर्मचारी सहयोगीको रुपमा रहेको खुलेको छ । मुख्य नाइकेको भुमिकामा रहेका विष्ट चार वर्षदेखि र भट्टराई दुई वर्षदेखि हस्पिटलमा काम गर्दै आएका थिए ।

बिरामी डिस्चार्ज भएपछि भुक्तानी गर्नुपर्ने रकम डिस्चार्ज काउन्टरको इन्चार्ज भएकोले विष्ट र भट्टराईले बुझ्दै आएका थिए । उनीहरूले लिएको रकम लेखा शाखामा बुझाउँदै आएका थिए । 

पछिल्लो समय केही महिनादेखि विष्ट र भट्टराईले बिरामीले दिएको रकम लेखा शाखामा नबुझाई आफै राखी करिब पाँच करोड हिनामिना गरेको हस्पिटलको दाबी थियो । पछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्दा ५७ लाख ९६ हजार रुपैयाँ घोट्ला भएको तथ्य र प्रमाण प्रहरीले सङ्कलन गरेको छ ।