धरानः  भूमिहीन दलित, भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासी अहिलेदेखिको नभएर पुरानै समस्या हो । सुकुम्बासीहरू दशकौदेखि राजनीतिक दललाई ‘भोट बैङ्क’ बन्दै आएका छन् । निर्वाचनमा राजनीतिक दल र उम्मेदवारका मुद्दा बन्छन तर लालपुर्जा पाउँदैनन् ।

निर्वाचन नजिएपछि राजनीतिक दल र नेताहरू सुकुम्बासी बस्ती पुगेर लालपुर्जा दिने प्रतिबद्धता जनाउने र उनीहरूको मत तान्ने काम गर्दै आएका छन् । धरानमा सुकुम्बासी मत विजयका लागि निर्णायक मानिन्थ्यो । उम्मेदवार राजनीतिक दल उनीहरूको मत तान्न पर्यत्न गर्थे । 

मङ्सिर ४ गते संसदीय निर्वाचन हुँदैछ । निर्वाचन लागेसँगै उम्मेदवार घरदैलो अभियानमा छन् । घरदैलोमा पुग्दा स्थायी प्रकृतिको लालपुर्जा दिने आस्वासन दिन्छन् । आस्वासन उम्मेदवारहरूले ५ वर्षभित्रमा सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । धरान १७ का राम दर्जी प्राय सबै उम्मेदवारहरूले स्थायी लालपुर्जा दिने आस्वासन दिएको बताउँछन् । ‘पहिले पनि यसै भनेका थिए । 

निर्वाचित भएपछि चासो राखेनन् ।  निर्वाचनमा आस मात्रै देखाउँछन् ।’ उनी भन्छन्, ‘अहिले पनि सबैले ५ वर्षमा अनिवार्य रुपमा स्थायी लालपुर्जा दिने भनेका छन् ।’

तीनै उम्मेदवारले प्रतिबद्धता पत्रमा यस् क्षेत्रका भूमिहीन सुकुम्बासीहरूलाई स्थायी लालपुर्जा उपलब्ध गराउने मुद्दा अगाडि सारेका छन् ।  लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ले अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीरूलाई स्थायी लालपुर्जासहितको व्यवस्थापन प्रतिबद्धता पत्रमा गरेका छन् । उनको प्रतिबद्धतामा पत्रमा ‘आयोगका सरोकारवाला संस्थाहरूको संस्थागत प्रतिनिधित्व गराउने, सुकुम्बासी क्षेत्रहरूको पूर्वाधार विकासका लागि विशेष पहल गरिने’ उल्लेख छ । एमाले जसपाका उम्मेदवार अशोक राईले ५ वर्षमा सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

20220629_095419

प्रतिबद्धता पत्रमा ‘सुुकुम्बासी तथा अव्यवस्थित बसोबासलाई सुुरक्षित र स्वामित्व सहितको आवास व्यवस्थापन गरिने’ उल्लेख छ । यस्तै, विपन्न वस्तीहरूका लागि फरक प्रकारका मापदण्ड तयार गरी पानी, बिजुली बाटो ढल निकास जस्ता अत्यावश्यक सेवा सुविधा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् । आगामी ५ बर्षभित्र धरानलाई भूमिहिन सुकुम्बासी बिहिन नगर बनाइनेछ प्रतिबद्धता पत्रमा उल्लेख छ । 

उम्मेदवार प्रतिबद्धतामा धरान ५ अविनास भुजेल विस्वास गर्दैनन् । ‘पहिले पनि यस्तै गर्थे र भन्थे । उनी भन्छन्, ‘काम कहिले गरेनन् । निर्वाचनमा मात्रै सुकुम्बासीलाई सम्झन्छन् ।’ उनी प्रतिबद्धता गरेर मात्रै नहुने बताउँछन् । उनी थप्छन्, ‘सुकम्बासी चुनाव मात्रै नेतालाई आवश्यक पर्छ ।’

स्वतन्त्र उम्मेदवार मनोज कुमार मेयाङ्बोले पनि प्रतिबद्धता पत्रमा सुकुम्बासी समस्या समाधान गर्ने उल्लेख गरेका छन् । उनको प्रतिबद्धता पत्रमा ‘सबैलाई बास र स्वाभिमान, मेरो अभियान ।’ सञ्चालन गरी भूमिहीन सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउने उल्लेख  छ । उनले प्रतिबद्धता पत्रमा ‘यो राष्ट्र नेपाली मात्रको हो, यहाँका नागरिक यो देशका मालिक हुन् । नागरिक यहाँ सुकुम्बासी हैन, देशका मालिक हुन् , ‘सबैलाई बास र स्वाभिमान, मेरो अभियान’ मुद्दालाई प्राथमिकतामा राखेका छन् । मनोजको प्रतिबद्धतामा सुकुम्बासीहरू विस्वास गर्दैनन् । किनकी मनोज धरान नगरको नेतृत्वमा हुँदा सुकुम्बासीहरूलाई उठाउन पहल गर्ने कुरामा आलोचित बनेका थिए । 

एक सुकुम्बासी अभियान्ता भन्छन्, ‘मनोजदेखि त सुकुम्बासीले राहत पाउन भन्ने लाग्दैन । उहाँ नगरकै नेतृत्वमा हुँदा सुकुम्बासीलाई उठाउन बबल गर्नु भएको थियो ।’ निर्वाचनमा सुकुम्बासीको मत लिनका लागि मात्रै मनाजले आस्वासन दिएको उनको भनाई छ ।